१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Saturday, 06 July, 2024
२o७९ कार्तिक २४ बिहीबार २o:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पामा प्रदेश सभा निर्वाचन : सत्तागठबन्धन बलियो कि एमाले?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार २o:२२:oo

४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन्। अन्य जिल्लाहरूमा दैनिकजसो चुनावी आमसभा, भेला सम्मेलन गरेर मत माग्ने गरे पनि डोल्पामा भने उम्मेदवारहरू जनताको घरदैलोमै पुगेर मत माग्ने गरेका हुन्।
निर्वाचन आयोगले राजनीतिक दललाई निश्चित समयावधि तोकेर आमसभा भेला गर्न खुला गरेको एकसाता बितिसक्दा पनि डोल्पामा अहिलेसम्म कुनै पनि पार्टीले आमसभा गरेका छैनन्। एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेश निर्वाचन क्षेत्र रहेको डोल्पामा १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। 
प्रदेशका दुईवटा निर्वाचन क्षेत्रमा मात्रै सातजना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। जसमा प्रदेश १ मा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर शाही, एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा, राप्रपाका नारान बुढा, नेकपा मार्क्सवादी (पुष्पलाल)का नन्दबहादुर रोकायबीच प्रतिस्पर्धा हुँदै छ।
त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र २ मा गठबन्धनबाट माओवादीका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाही, एमालेका धनचन्द्र बैजी र राप्रपाका बौद्धसिंह कठायतबीच प्रतिस्पर्धा हुँदै छ।

यस्तो छ प्रदेश १ मा स्थानीय तहको मतभार
प्रदेश १ मा चारवटा स्थानीय तह छन्। जसअन्तर्गत ठूलीभेरी नगरपालिकामा प्रमुख, उपप्रमुख नै कांग्रेसले जितेको छ। कांग्रेसबाट निर्वाचित नगरप्रमुख सुवर्णकुमार बुढाले एक हजार दुई सय ८६ मत ल्याएका थिए। त्यसैगरी, एकीकृत समाजवादीका कर्णबहादुर रोकायाले ९४५ मत प्राप्त गरेर पराजित भएका थिए । 
माओवादी केन्द्रका उम्मेदवार वीरेन्द्र डाँगीले सात सय ३३  मत ल्याएका थिए। एमालेका पूर्णबहादुर डाँगीले चार सय ९३ मत ल्याएका थिए। 

काइके गाउँपालिकामा समाजवादीको नेतृत्व छ। गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका थिए। छार्काताङ्सोङ् गाउँपालिकाको नेतृत्व पनि समाजवादीले गरेको छ। गाउँपालिकाको प्रमुखमा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका थिए। डोल्पोबुद्ध गाउँपालिकाको प्रमुखमा कार्माछोइबेल गुरुङ स्वतन्त्रबाट पाँच सय ३५ मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा एकीकृत समाजवादीबाट पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भएका थिए। 
प्रमुख धोर्चे स्वतन्त्रबाट निर्वाचित भए पनि समाजवादी समर्थक हुन्। माओवादी केन्द्रबाट उम्मेदवार बनेका तेम्बा गुरुङले ३ सय २ मत प्राप्त गरेका थिए।

प्रदेश १ मा को बलियो ?
डोल्पाको प्रदेश निर्वाचन क्षेत्र १ मा स्थानीय तहको मतपरिमाण हेर्ने गठबन्धनका साझा उम्मेदवार दीपेन्द्रबहादुर शाही बलियो देखिन्छन्। उनलाई एकीकृत समाजवादीबाट प्रतिनिधिसभा उम्मेदवार बनेका धनबहादुर बुढाको बलियो समर्थन छ। 
उपल्लो डोल्पाका तीन स्थानीय तहबाट बुढालाई आउने मत शाहीलाई आए उनी निर्वाचित हुने अनुमान यहाँ गरिएको छ। ठूलीभेरी नगरपालिकाबाट साठी प्रतिशत मत पाउने कांग्रेसको दाबी छ। तीन प्रमुख पार्टीको गठबन्धन छ। त्यसैमा पनि स्थानीय तहको मतभार र संघका उम्मेदवारा धनबहादुर बुढाको वाचाका कारण आफ्नो जित सुनिश्चित रहेको शाहीले दाबी गरे। 

एमालेका उम्मेदवार शेरबहादुर बुढा पनि बलिया उम्मेदवार हुन्। उनले जनतामाझ राम्रो छवि बनाएका छन्। बुढालाई गृहक्षेत्र काइके गाउँपालिकाबाट एकलौटी मत आउने एमालेको दाबी छ। काइकेमा मात्रै दुई हजार ३६३ मतदाता छन्। ठूलीभेरीमा गठबन्धन भए पनि पचास प्रतिशत मत एमाललेलाई आउने दाबी एमाले नेताहरूको छ। 
उपल्लो डोल्पाका दुईवटा स्थानीय तहबाट आधा मत ल्याए मात्रै पनि सहजै जितिने एमालले दाबी गरेको छ। जस्तोसुकै गठबन्धन भए पनि एमालेको जित सुनिश्चित भएको उम्मेदवार बुढाले दाबी गरे। यस निर्वाचन क्षेत्रमा ९ हजार ५६७ मतदाता छन्।

प्रदेश २ मा कडा प्रतिस्पर्धा
प्रदेश निर्वाचन क्षेत्र २ मा पनि चारवटा स्थानीय तह छन्। स्थानीय तहको चुनावलाई हेर्ने हो भने एमाले र माओवादीले दुई-दुईवटा स्थानीय तह जितेका छन्। त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख, उपप्रमुख नै एमालले जितेको छ। 
एमालेका जनचन्द्र रोकायाले दुई हजार १०४ मत ल्याएका थिए। निकटम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रलाल धरालाले एक हजार ५९६ मत ल्याएका थिए। कांग्रेसलाई प्राप्त मतलाई आधार मान्ने हो भने त्रिपुरासुन्दरीमा एमालेपछि कांग्रेस दोस्रो शक्तिको रूपमा रहेको छ। 
उता, माओवादीका उम्मेदवार दिलबहादुर बिष्टले एक हजार ४२२ मत ल्याएका थिए। त्रिपुरासुन्दरीमा माओवादीले पाँचवटा वडासमेत जितेको छ। से–फोक्सुन्डो गाउँपालिका प्रमुख भने एमालेले जितेको छ। एमालेबाट उम्मेदवार बनेका धावा सुम्डुक निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्। 
उपाध्यक्ष पेम्वावाङ्छेन गुरुङले एक हजार एक सय मत ल्याएर स्वतन्त्रबाट निर्वाचित भएका थिए। उनी एमाले समर्थक हुन्। उनका प्रतिद्वन्द्वी माओवादीका पेम्मा डोल्पा गुरुङले दुई सय ७६ मत ल्याएका थिए ।

त्यसैगरी, मुड्केचुला गाउँपालिकामा प्रमुख उपप्रमुख माओवादी केन्द्रले जितेको छ। प्रमुखमा दत्तबहादुर शाहीले एक हजार ४०४ मत ल्याएका थिए। प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले एक हजार ३६७ मत ल्याएका थिए। मुड्केचुलामा कांग्रेसको संगठन कमजोर छ। संगठन कमजोर भएकाले कांग्रेसले स्थानीय निर्वाचनमा उम्मेदवार उठाएन। 

जगदुल्ला गाउँपालिकामा पनि प्रमुख, उपप्रमुख माओवादी केन्द्रले जितेको छ। प्रमुखमा नारासिंह रोकायाले सात सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याएका थिए। यहाँ पनि कांग्रेसको संगठन कमजोर छ। 

यसकारण कांग्रेसले उम्मेदवार नै उठाएन। स्थानीय तहको मत परिमाणलाई आधार मान्ने हो भने एमाले माओवादी बराबरी हैसियतामा छन्। तर, तीनदलीय गठबन्धन भएकाले माओवादी उम्मेदवार वीरबहादुर शाहीलाई कांग्रेस र समाजवादीको समेत मत आउने भएकाले उनी बलियो देखिएको विश्लेषण हुने गरेको छ। 

माओवादीको संगठन उसै पनि बलियो रहेको र कांग्रेस र समाजवादीको मतसमेत पाएपछि आफूले सहजै जित्ने शाहीको दाबी छ। अहिले गाउँघरमा गठबन्धनको पक्षमा जनलहर उर्लिरहेको उनले बताए। त्यसैगरी, एमालेका उम्मेदवार धनचन्द्र बैजी पनि बलिया उम्मेदवार हुन्। 

स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकामा झिनो मतले मात्र एमाले पराजित भएको थियो। त्रिपुरासुन्दरी नगरपालिकामा त एमालेकै नेतृत्व छ। यी सबै आधारलाई हेर्ने हो भने गठबन्धनलाई एमालेले टक्कर दिने निश्चित रहेको बताइन्छ। 

गठबन्धनका उम्मेदवार शाहीलाई कांग्रेस र एकीकृत समाजवादीको समर्थन भएकाले पनि जित्ने सम्भावना प्रवल रहेको माओवादी नेतृत्व बताउँछ।

ad
ad
ad
ad