१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Saturday, 28 September, 2024
भोजराज भण्डारी काठमाडाैं
२o७९ कार्तिक २३ बुधबार o६:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मार्जिन कारोबार गर्न ८७ कम्पनी योग्य तर, कार्यान्वयनमा ढिलाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार o६:२१:oo

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्सेमा सूचीकृत दुई सय २४ कम्पनीमध्ये ८७ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका हुन् । योग्य देखिएका कम्पनीमा १७ वाणिज्य बैंक, १० बिमा कम्पनी, आठ विकास बैंक, पाँच वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी र २९ लघुवित्त कम्पनी छन् ।

लाभांश वितरण, कम्पनीको नाफालगायत अन्य वित्तीय विवरण बलिया भएका कम्पनीहरू मात्रै योग्य हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनले भने, ‘बाँकी एक सय ५७ वटा कम्पनी अयोग्य ठहर भएका हुन् । मार्जिन कारोबारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार मापदण्ड पूरा गर्न नसक्ने कम्पनीहरूलाई अयोग्य ठहर गरिएको हो ।’ 

‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजी बजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो । कार्यविधिअनुसार सेयरधनीले यस्तो सुविधा प्रयोग गर्न कम्पनीको १० हजारभन्दा बढी सेयरधनी हुनुपर्ने, चुक्ता पुँजीभन्दा बढी नेटवर्थ भएको हुनुपर्ने र विगत दुई वर्षयता सेयरधनीलाई १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको हुनुपर्ने हुन्छ । त्यस्तै, दोस्रो बजारमा कम्तीमा ८० प्रतिशत दिन सेयर कारोबार भएको हुनुपर्ने, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको हुनुपर्ने उल्लेख छ ।

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ । सोहीअनुसार नेप्सेले सूची सार्वजनिक गरेको हो ।

मापदण्ड पूरा गरेका कम्पनीलाई मात्र मार्जिन कारोबार सुविधा दिन सकिने नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले बताए । उनका अनुसार स्टक एक्सचेन्जले प्रकाशित गरेको सूचीमध्ये फेरि कुन–कुनलाई दिने भनेर ब्रोकरले थप सूची निकाल्न सक्छ । उनले भने, ‘स्टक एक्सचेन्जले निकालेको सूचीअनुसार नै दिनुपर्छ भन्ने छैन, तीमध्ये ब्रोकरले कम्पनीको छनोट गर्न सक्छ ।’

कम्पनीको छनोट गरेपछि कम्पनी र ब्रोकरबीच सहमति हुन्छ । त्यसमा व्यवसायीले कम्तीमा ५० प्रतिशत सुरुको मार्जिन रकम ब्रोकरको मार्जिन खातामा राख्नुपर्ने प्रावधान रहेको छ ।

 किन आउन सकेन कार्यान्वयनमा ?
नेप्सेले हरेक वर्ष मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीहरू छनोट गर्छ, तर मार्जिन सुविधा कार्यान्वयनमा आउन सकेको छैन । विशेष गरी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ब्रोकरबीचको समन्वय नहुँदा कार्यान्वयनमा आउन नसकेको हो । मार्जिन ट्रेडिङ कार्यान्वयनमा आउन नसक्नुमा प्राविधिक समस्या र स्रोतको व्यवस्थापन प्रमुख कारण रहेको नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । उनले भने, ‘प्राविधिक गाँठो मात्र फुकाइदिने हो भने सबै ब्रोकरले मार्जिन कर्जा दिन थाल्नेछन् ।’   

प्राविधिक समस्या समाधान भएमा मार्जिन ट्रेडिङका लागि छुट्टै खाता खोल्नुपर्ने हुन्छ । छुट्टै खाता भएपछि मात्र उसको सेयर छुट्टै खातामा गएर बस्ने, ब्रोकरले निगरानीमा राख्न सक्ने हुन्छ । नेपाल स्टक एक्सचेन्जले भने नेप्सेलाई मात्र दोष दिएर पन्छिने काम भएको बताउँदै आएको छ । मार्जिन ट्रेडिङको निर्देशिका सबै भएर बनाएको र अहिले नेप्सेलाई मात्र दोष दिने काम भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनले भने, ‘दोहोरो खाता खोल्न नहुने बोर्डको निर्देशन छ, अर्कोतर्फ बजारको अवस्था घट्दो छ, तरलता अवस्था कायमै रहेकाले मार्जिन ट्रेडिङ कार्यान्वयनमा आउन नसकेको हुन सक्छ ।’ तर, मार्जिन ट्रेडिङको विषयमा अझै छलफल गर्न सकिने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । उनले भने, ‘यस विषयमा छलफल गर्न सकिन्छ, द्विविधाहरू छन्, हामी छलफल गरेर टुंग्याउँछौँ ।’