Skip This
लोकतान्त्रिक रूपान्तरणमा प्रेसको द्वैध चरित्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Monday, 08 July, 2024
लेखनाथ पाण्डे
२o७९ कार्तिक २२ मंगलबार o६:४४:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतान्त्रिक रूपान्तरणमा प्रेसको द्वैध चरित्र

चुनावको समयमा समेत नेताहरूले जनतासँग भन्दा प्रेससँग र प्रेसले पनि जनतासँगभन्दा नेताहरूसँग कुरा गर्नु चिन्ताको विषय हो

Read Time : > 5 मिनेट
लेखनाथ पाण्डे
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार o६:४४:oo

सूचना प्रविधिमा क्रान्ति र विश्वव्यापीकरणका बाबजुद मुख्यतः सञ्चारमाध्यमले नै कुनै घटना, विषयवस्तु या पात्रबारे जनमानसलाई सूचना प्रवाह गर्छन् । र, त्यसैका आधारमा हामी धारणा बनाउँछौँ । वाल्टर लिपम्यानले सन् १९२२ मै भनेका थिए– मानिसका दिमागमा दुनियाँबारे तस्बिर निर्माण गर्न सञ्चारमाध्यम जिम्मेवार हुन्छन्, चाहे तिनले निर्माण गर्ने तस्बिर गलत नै किन नहोस् । सर्वप्रथम उनैले सञ्चारकर्मीमा आफूले सोचेजस्तै अरूले पनि सोच्छन् भन्ठान्ने प्रवृत्ति हुने पहिचान गरेका थिए । सो प्रवृत्तिले गर्दा पत्रकारहरू आफूलाई जुन विषय महत्वपूर्ण लाग्यो, अन्य मानिसलाई पनि त्यही महत्ववूर्ण लाग्ने ठान्छन् । लिपम्यानपछिको सय वर्षमा धेरै विद्वान्ले प्रेसका कार्यशैली र प्रभावका सन्दर्भमा अध्ययन गरेका छन्, जसले सर्वसाधारणको बुझाइ र सोचाइमा सञ्चारमाध्यमले गहन प्रभाव पार्छन् भन्ने लगभग उस्तै धारणा राख्छन् । 

मिडिया, राजनीति र लोकतन्त्र : पश्चिमा समाजमा लोकतन्त्र र प्रेस सँगसँगै अघि बढेको पाइन्छ । अमेरिकामा प्रेसले राष्ट्रिय स्वतन्त्रतादेखि र लोकतान्त्रिक सबलीकरणमा अहं भूमिका खेलेको पाइन्छ । विकासशील समाजमा पनि प्रेसले राजनीतिक परिवर्तनमा सघाएको देखिन्छ । भारतीय आजादीको लडाइँमा जनमत निर्माण गर्न अखबार सहयोगी बन्यो । नेपालमा ००७ सालको क्रान्तिताका रेडियो सेवा, जनमतसंग्रहका वेला मिसन पत्रकारिता अनि जनआन्दोलनमा प्रेस जगत्को प्रत्यक्ष साथसहयोग देखिन्छ । तर, के प्रेसले लोकतान्त्रिक प्रक्रिया र रूपान्तरणलाई अवरुद्ध गर्ने गर्छ ? के यसले लोकतन्त्रको क्रमिक विकास र अभ्यासमा बाधा सिर्जना गरेको छ ? धेरै प्रजातान्त्रिक मुलुकमा यस्ता प्रश्नमाथि बहस हुने भए पनि हामीकहाँ बिरलै विमर्श हुने गरेको पाइन्छ ।

प्रेस जगत्लाई सही र सान्दर्भिक सूचना तथा विषयवस्तु प्रस्तुत गर्ने ‘गेटकिपर’ मानिन्छ । तर, तिनले व्यावसायिक लाभका लागि ‘फिल्टर’को काम गर्ने आरोप लाग्ने गरेको छ । हर्मन र चोम्स्कीले (१९८८) ले ‘म्यान्युफ्याक्चरिङ कन्सेन्ट’ पुस्तकमा अमेरिकी कर्पोरेट मिडियाले स्वामित्व, विज्ञापन, विरोध, सामाचार स्रोत र वामपन्थी झुकावजस्ता पाँच मुख्य फिल्टरका आधारमा विषयवस्तु प्रस्तुत गर्ने उल्लेख गरेका छन् । यी फिल्टरको प्रयोगमार्फत तिनले कुलीन तथा प्रभुत्वशाली वर्गको पक्षमा ‘सहमति’ उत्पादन गर्ने गरेको विद्वान्द्वयको निष्कर्ष छ ।

आमजनमानसको सोच तथा बुझाइमै प्रभाव पार्ने मिडियामा हामीकहाँ कस्ता विषयवस्तुले प्रश्रय पाएका छन् ? कसका कुरा, कस्ता कुरा, कसरी सम्प्रेषण भइरहेका छन् ? आमसर्वसाधारणलाई यस विषयमा उति चासो नहोला । प्रेसमा जे आइरहेछ, त्यही उचित लाग्न सक्छ । अध्येताहरूका लागि भने यी जबरदस्त सवाल हुन् । अझ राजनीतिक परिघटना र चुनावका वेला यस्ता विषयमा बहस हुनुपर्ने हो, ताकि प्रेस जगत्लाई तिनका कार्यप्रदर्शनबारे बुझ्न खुराक मिलोस् । अफसोस्, यहाँ अध्ययन–अनुसन्धान कम हुन्छ । तैपनि कतिपय सन्दर्भमा प्रेसले पस्किएका विषयवस्तु अवलोकन गर्दा मात्र पनि धेरै संकेत मिल्छ । 

राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमको प्राथमिकता र बफादारी राणशासनदेखि निरंकुश राजतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा समेत सत्ता र सत्तासीन दलप्रति रहिआएको छ । पंक्तिकारले गोरखापत्र दैनिक, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनको खबरदारी भूमिकाका सन्दर्भमा गत अप्रिलमा प्रकाशित एक अध्ययनमा के पाइएको थियो भने उल्लिखित सरकारी सञ्चारमाध्यमले न आमजनमानसका सरोकार र मुद्दालाई उचित स्थान दिएका छन्, न उच्च अधिकारी तथा राजनीतिज्ञलाई जवाफदेही बनाउन नै कुनै भूमिका खेलेका छन् । उल्टै, सरकार, मन्त्री र नेताको सार्वजनिक आलोचना हुँदा प्रतिरक्षामा उत्रिएका छन् । नीति तर्जुमा, आर्थिक स्रोत र पत्रकार तथा कर्मचारी नियुक्तिमा राज्यको एकाधिकार र राजनीतिक हस्तक्षेपका कारण तिनले सन्तुलन र व्यावसायिक धर्म भुलेका छन् ।

लोकतान्त्रिक रूपान्तरण र राजनीतिक पुस्तान्तरणको वकालत गरेर नथाक्ने प्रेस र बौद्धिक जमातले कम्तीमा पनि पुरानै दल, पात्र र मुद्दालाई पुजेर राजनीतिलाई उही गोलचक्करमा घुमाइराख्नुहुँदैन
 

निजी क्षेत्रबाट सञ्चालित मिडियाको कार्यप्रदर्शन पनि आलोचनारहित छैन । तिनले सञ्चालक तथा तिनका स्वार्थ मुछिएका विषयमा आलोचनात्मक दृष्टिकोण राख्ने गरेको पाइँदैन । सञ्चारकर्मीहरूको दलीय आबद्धताका कारण स्वतन्त्र भनिएका सञ्चारमाध्यममा पनि आलोचनात्मक र गहन रिपोर्टिङ पातलिँदै गएको छ । चुनाव प्रचारका लागि प्रेसलाई विज्ञापन दिन थालेदेखि मिडिया र राजनीतिबीच लेनदेनको सम्भावना बढाएको छ । साथै, प्रतिस्पर्धी दलहरूबीच विज्ञापनको प्रतिस्पर्धा बढाएको छ ।


मिडियाको द्वैध चरित्र : नेपाली प्रेस जगत्ले लोकतान्त्रिक रूपान्तरण र सबलीकरणका पक्षमा वकालत गरेका प्रशस्त उदाहरण छन् । तर, आमनिर्वाचन, दलका महाधिवेशनजस्ता लोकतान्त्रिक परीक्षण र राजनीतिक नेतृत्व चयनको घडीमा प्रेसको भूमिका द्विविधाग्रस्त छ । प्रेसले सतही रिपोर्टिङ, पुरानै र परीक्षण भएर असफलसिद्ध भएका मुद्दा र पात्रलाई महत्व दिएको देखिन्छ । चुनाव फगत प्रतिनिधि चयन गर्ने यान्त्रिक प्रक्रिया होइन । जनताका मुद्दामाथि बहस गर्ने, राष्ट्रिय हितका कार्यक्रम प्रस्तुत गरी गहन छलफल गर्ने र त्यसको सम्बोधनका लागि उचित प्रतिनिधि चयन गर्ने, सत्ता र सत्तासीनको भूमिका अनुमोदन वा अस्वीकृत गर्ने महत्वपूर्ण अवसर हो । यस्तो समयमा सञ्चारमाध्यमले जनसरोकार, विकास तथा राष्ट्रहितका मुद्दामाथि बहस गर्ने प्रभावकारी मञ्च बन्नुपर्ने हुन्छ । यस्तो बहसले देश र जनतालाई सही दिशानिर्देश गर्न सक्ने जनप्रतिनिधि छनोटमा मद्दत गर्छ । तर, प्रेस जगत्को ध्यान दलीय पात्र, तिनका प्रचार रणनीति तथा भाषणमा सीमित हुँदा तिनका योगदान, कार्यक्षमता, जनताका आवश्यकताजस्ता विषयवस्तु ओझेलमा परेका छन् ।

लिपम्यानले ठम्याएझैँ सञ्चारकर्मीमा पनि आफूलाई जे लाग्यो, त्यही महत्वपूर्ण ठान्ने प्रवृत्ति झल्किन्छ । कारण अनेक हुन सक्छन्– संस्थाको आर्थिक लगावदेखि सम्पादकीय नेतृत्वको क्षमता र वैचारिक झुकाव, सञ्चारकर्मीका दलीय आबद्धता, तिनले उठबस गर्ने पात्रदेखि अध्ययन र ‘एक्सपोजर’ आदिको भूमिका हुन्छ । सायद अधिकांश पत्रकारको आफ्नै राजनीतिक आस्था र दलीय उम्मेदवारहरूसँगको उठबसका कारण हुन सक्छ, प्रेसमा पनि तिनै दल र उम्मेदवारका विचार र गतिविधि प्रथामिकतामा परेको देखिन्छ । यसबाट विरोधाभासचाहिँ के हो भने लोकतान्त्रिक रूपान्तरण र राजनीतिमा पुस्तान्तरको वकालत गरेर नथाक्ने प्रेस जगत्ले नै परिवर्तनको दिशामा बाधा पु¥याएको छ ।

चुनाव घोषणा भएयता मूलधारका मिडियाका सामग्री केलाउँदा स्पष्ट हुन्छ, तिनले पटक–पटक सत्तामा पुगेर पनि उल्लेख्य योगदान गर्न नसकेका नेता, दल र प्रवृत्तिकै पृष्ठपोषण गरिरहेका छन् । तिनैका गतिविधि, भाषण र गफलाई प्राथामिकता दिएका छन्, जुन प्रवृत्तिलाई विगतमा प्रेसले विस्थापन गर्न जरुरी ठानेका थिए । अर्को, भ्रष्टाचार, अनियमितता, बेथिति र अस्थिरतामा मुछिएका वा आरोपित पात्रहरू पनि चुनावी दौडमा छन् । कोही ललितानिवास जग्गा प्रकरणमा संलग्न छन्, कोही कोरोना महामारीका समयमा पिपिए खरिदकाण्डमा मुछिएका छन्, कोही ज्यान मुद्दाका आरोपी छन्, कतिपय भ्रष्टाचारसम्बन्धी कसुरमा अदालती फैसलाको पर्खाइमा छन् । कति त विगतमा उच्च ओहोदामा रहँदा कुनै सम्झिनलायक काम गर्न नसकेकाहरू छन् । संविधान जारी भएपश्चात् पहिलो निर्वाचित संसद् पटक–पटक भंग गरियो । साविक राजनीतिक ध्रुवीकरणको मूल कारण त्यही निर्णय हो । उक्त विषयमा विगतमा अदालतदेखि मिडियामा चर्को बहस भए पनि निर्वाचनको पूर्वसन्ध्यामा त्यस सन्दर्भमा प्रेस जगत् मौनप्रायः देखिन्छ । अरू वेला भ्रष्टाचार र अनियमिततामाथि खरो टिप्पणी गर्ने अखबारहरू दल र नेताहरूको लोकतान्त्रिक परीक्षणको घडीमा किन मौन छन् ?

लोकतान्त्रिक व्यवस्था राजनीतिक विचार र कार्यक्रमको प्रतिस्पर्धा पनि हो । तर, चुनावी मोर्चा, तलमेल र गठबन्धनका कारण राजनीतिक विचार, सिद्धान्तको अवसान भएको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई आफन्त, आसेपासे र व्यापारी पोसियो भन्ने आरोप छ, जसलाई दलहरूको नेतृत्वले तथ्यसाथ खण्डन गर्न सकेको छैन । चुनावका बखत यस्ता पेचिला प्रश्नमाथि बहस गर्नु र सम्बन्धित पात्रहरूबाट जवाफ खोज्नु प्रेसको धर्म हो । तर, प्रेसले यस्ता सूचना र घटनाप्रति आलोचनात्मक दृष्टि राख्नुको साटो सतहीप्रायः ‘कभरेज’ गरेर अनुमोदन गरिरहेका छन् । नेपाली प्रेस जगत्ले निर्वाचनमा खुलेर उम्मेदवारको समर्थन वा विरोध गर्दैनन्, तर यसको मतलब तिनले राजनीतिक झुकाव प्रदर्शन गर्दैनन् भन्ने होइन । सामान्य आलोचनात्मक चेत भएका व्यक्तिले कुन सञ्चारमाध्यम दायाँ–बायाँ कता ढल्किएको छ, सहजै अन्दाज गर्न सक्छ ।

महँगी, बेरोजगारी, महामारी, सीमा विवाद र आर्थिक संकटजस्ता मुद्दा एकातिर छन्, प्रेस जगत्को ध्यान गठबन्धनमा भागबन्डा, टिकट बाँडफाँड र नेताका भाषणमा केन्द्रित छ । कतिपय समाचार पोर्टल दल र उम्मेदवारका प्रचार विभागजस्ता भएका छन्, जहाँ उम्मेदवारका नामावली, चुनाव चिह्न र व्यक्तिगत विवरणले ढाकिएका छन् । चुनावको समयमा पनि नेताहरूले जनतासँग भन्दा प्रेससँग कुरा गरिरहेका छन्, अनि प्रेसले पनि जनतासँगभन्दा नेताहरूसँग कुरा गरिहेका छन् । तसर्थ, जनताका एजेन्डा के हुन् भन्ने न प्रेसले पहिचान गर्न सकेको छ, न राजनीतिक दलहरूले । प्रेस जगत्ले यथास्थितिका विषयवस्तुलाई प्रश्रय दिँदा जनसरोकारका मुद्दामाथि जनमत निर्माण र सार्वजनिक बहस कम हुन पुगेको छ ।

प्रेस सच्चिन जरुरी छ : प्रेस जगत् विचार उत्पादन र मन्थन गर्ने प्रभावशाली मञ्च हो । प्रेसले पुरानै दल, पात्र, घटना र विषयवस्तुलाई प्राथामिकता दिँदा आममानिसको दिमागमा तिनै दल, पात्र र विषयवस्तुका तस्बिर निर्माण हुन पुगेको छ । मानौँ, तिनको विकल्प छैन । मिडियामा तिनै ठूला दल, शीर्ष, वरिष्ठ र ‘हेभिवेट’ नेताहरू छाएका छन्, जसले आफूलाई पटक–पटक असफल सिद्ध गरेका छन् । मिडियाले पुरानाहरू अयोग्य भइसके भनेर पनि सन्देश फैलाइरहने अनि तिनैका बारेमा बखान पनि छापिरहने ? लाग्छ, यहाँ परिवर्तन रोक्न र राजनीतिलाई उही गोलचक्करमा घुमाइराख्न ‘मिडिया इकोसिस्टम’ पनि जिम्मेवार छ ।

दलहरूले निर्वाचनमा एजेन्डा प्रस्तुत गर्न सकेनन् भनेर टिप्पणी भइरहेको छ । लोकतन्त्रमा प्रेसको एउटा प्रमुख जिम्मेवारी राजनीति र समाजका लागि आवश्यक एजेन्डा पहिचान र स्थापित गर्ने हो । तर, यहाँ प्रेसले पनि राजनीतिक दलहरूकै ‘एजेन्डा’ बोक्दै आएका छन् । वास्तवमा आमजनताले नयाँ एजेन्डा, नेतृत्व, विकल्प नदेखेको प्रेसले नदेखेर हो । किनकि, अधिकांश नागरिकले जान्ने, बुझ्ने भनेकै प्रेसमार्फत हो । प्रेस जगत् यथास्थिति र दल तथा नेताका फोस्रो आश्वासनमा रमाउँदा जनताका मुद्दा र सरोकार ओझेल परेका छन् । तसर्थ, यदि राजनीति र राजनीतिज्ञ सुध्रिन जरुरी छ भने प्रेस जगत् पनि सच्चिन जरुरी छ । त्यसका लागि प्रेसले राजनीति र नेताका एजेन्डा बोक्न छाडेर देश र जनताका एजेन्डा पहिचान तथा स्थापित गर्न सक्नुपर्छ ।
 

ad
ad
ad
ad