मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ५ बुधबार
  • Thursday, 03 April, 2025
लेखनाथ पाण्डे
२o७७ फाल्गुण ५ बुधबार १o:o७:oo
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जसले गद्दी दाउमा राखे...

भारतीय दूतावासमा शरण र दिल्ली निर्वासनका लागि राजा त्रिभुवन नेहरू र भारतका राजदूत चन्द्रेश्वरप्रसाद सिंहप्रति नतमस्तक थिए

Read Time : > 8 मिनेट
लेखनाथ पाण्डे
नयाँ पत्रिका
२o७७ फाल्गुण ५ बुधबार १o:o७:oo

राजा त्रिभुवनबारे धेरैलाई यति थाहा छ, नेपालमा प्रजातन्त्र बहालीका लागि उनी ००७ कात्तिकमा दिल्ली निर्वासनमा गए । जब ००७ फागुन ४ गते काठमाडौं फर्किए, राणाशासन अन्त्य मात्र भएन, प्रजातन्त्र पनि प्रादुर्भाव भयो । नेपालमा शक्ति र सत्ता आर्जनका लागि भारतमा बसेर विद्रोह गर्ने धेरै छन् । तर, सुखसयलमा हुर्काइएका राजा स्वयं राणाशासनविरुद्ध विद्रोहको विगुल फुक्दै निर्वासित हुने र योजनामा सफल हुने राजा त्रिभुवन एक्ला पात्र हुन् ।

त्रिभुवनको इतिहास त्यतिमा मात्र सीमित भने छैन । डा. गेहेन्द्रमान उदास ‘पोखरेली’द्वारा लिखित ‘नेपालमा प्रजातन्त्र र श्री ५ त्रिभुवन’ पुस्तकले उनको बाल्यकालदेखि देहवासनसम्मको इतिहास गहिरोसँग केलाएको छ । धेरैलाई त्रिभुवन सुरा–सुन्दरीमा मस्त रहन्थे भन्ने थाहा छ । १९६८ सालमा पाँच वर्षको छँदा राजा बनेका र विशेष गरी चन्द्रशमशेरले राजकाजप्रति रत्तिभर चासो नहोस् भन्नका खातिर नियोजित रूपमै उनलाई सानैदेखि सुरा–सुन्दरी र नौजना हुल्याहा ‘नवग्रह’ केटाहरूका लतमा फसाएका थिए । त्रिभुवनले ‘प्रजाले दूधभात पनि खान पाएका छैनन् ?’ भन्थे भनेर धेरैले उडाउँछन् ।

सर्वहाराको नेतृत्व गरेर सिंहदरबार छिरेका त जनताका हालत छिट्टै बिर्सिन्छन् ! जुन राजाले सुनको थालमा सुनकै चम्चाले खाएर हुर्किए, जसलाई प्रजासँग सम्पर्क नराखोस् भनेर काठमाडौं चार–भञ्ज्याङ र अझ राजदरबारभित्रै सीमित राखियो, उसलाई प्रजाको अवस्थाबारे के जानकारी होस् ? पुस्तक त्रिभुवनका मूलतः तीन पक्षमा केन्द्रित छ– राणाविरोधी गतिविधि (विशेष गरी प्रचण्ड गोर्खा र प्रजापरिषद्) मा उनको संलग्नता, ००७ सालको परिवर्तनमा उनको भूमिका र त्यसपश्चात् ०११ फागुन ३० मा स्विट्जरल्यान्डमा निधन हुनुपूर्व चारवर्षे राजकाज ।

त्रिभुवन वयस्क हुँदै गएपछि जिम्मेवार र अध्ययनशील बन्दै गएको देखिन्छ । उनले क्रमशः राजकाज र अध्ययनमा चासो राख्न थाले, जुन राणाहरू चाहँदैनथे । तैपनि, राणाहरूलाई छलेर म्याक्सिम गोर्कीका ‘मदर’देखि ह्यारोल्ड लास्कीका ‘अ ग्रामर अफ पोलिटिक्स’ जस्ता पुस्तक अध्ययन गरेका थिए ।

जब राणाहरूले बाजे त्रैलोक्य, बुबा पृथ्वीविक्रमलाई विष खुवाएर मारेको (हुन सक्ने) सन्दर्भहरू हजुरआमा (जंगबहादुरकी छोरी) र आमाले सुनाए, आफ्नी दिदीलाई चन्द्रशमशेरका छोरा केशरले गरेको अपमानपूर्ण व्यवहार प्रत्यक्ष देखे, अनि प्रधानमन्त्री र रोलवाला राणाहरूले उनलाई अपमान गर्ने गरेको र जनतालाई दबाएको बोध भयो, तब त्रिभुवनलाई दरबारको सुखसयलले सन्तोष दिएन । बिस्तारै उनमा राजा र जनताको अधिकार प्राप्तिका लागि विद्रोही स्वभाव झांगिँदै गयो र राणाहरूसँग प्रतिशोध साँध्नेसम्म बनायो । उनले रोलवाला राणाहरूको सामूहिक हत्या गर्ने पटक–पटक असफल योजना पनि बुनेका थिए ।

मलाई कहिलेकाहीँ लाग्थ्यो, राणाहरूले सबै कुरा हत्याए पनि राजशाहीलाई चाहिँ किन निरन्तरता दिए ? किन आफैँँलाई श्री ५ घोषणा गरेनन् ? पुस्तकमा यसको स्पष्ट जवाफ छैन । तर, पुस्तकबाट के निष्कर्षमा पुग्न सकिन्छ भने राणाहरूले यसबारे नसोचेका होइनन्, नसकेका हुन् । त्रिभुवनले भारतीय दूतावासमा शरण लिइसकेपछि राणहरूले आफैँलाई श्री ५ घोषणा गर्नेबारे पनि सोचेका थिए । श्री ३ महाराज र श्री ५ बडामहाराज एकै हो जस्तो गरी ‘जनमत’का रूपमा प्रचारको चेष्टा गरियो । तर, कम्तीमा चार कारणले राणाहरूले आफैँलाई राजा घोषणा गर्न नसकेको देखिन्छ । 

एक, राणाहरूको गुटफुट र विभाजन । आफ्नै भाइभारदारलाई सिध्याएर, गलहत्याएर राणाहरू सत्तामा स्थापित भएका थिए । उनीहरूबीच जहिल्यै द्वन्द्व र दाउपेच चल्थ्यो । एकथरी राणाले राजालाई तह लगाउन खोजे भने अर्को समूह चाहेर वा नचाहेर राजासँग नजिकिन पुग्थे र आफैँ सत्तामा स्थापित हुन खोज्थे ।

अझ, १९९० सालमा जुद्धशमशेरले ‘सी’ क्लासका राणाहरूलाई उपत्यकाबाट धपाएपछि भाइझगडा झन् चर्कियो । दुई, राजशाही र राणाशासकबीच नाता सम्बन्ध । शक्तिशाली राणाहरूले राजदरबारमा कि छोरी अन्माए, कि राजदरबारकी चेली भित्र्याए । जंगबहादुरले छोरीको विवाह सुरेन्द्रका छोरा युवराज त्रैलोक्यसँग गराएर यसको सुरुवात गरेका थिए । पृथ्वीविक्रम उनका नाति थिए र त्रिभुवन पनाति । 

चन्द्रशमशेरले त्रिभुवनका तीन दिदीलाई आफ्ना छोराहरूसँग विवाह गराए, भलै उनका छोरा केशरले पत्नीलाई अपमानपूर्वक व्यवहार गर्थे । अर्का शक्तिशाली राणाशासक जुद्धशमशेरले नातिनी इन्द्रराज्यलक्ष्मी देवीको विवाह राजा त्रिभुवनको अनिच्छाका बाबजुद युवराज महेन्द्रसँग गराए ।

महेन्द्रलाई विवाहका लागि मनाउन जुद्धशमशेरले युवराजका विश्वासपात्रमार्फत महेन्द्रलाई ५० लाख ‘रिस्वत’ दिएका थिए, जुन त्रिभुवनलाई पत्तो थिएन । पछि जुद्धशमशेरले त्रिभुवनलाई भारतमा ‘तीर्थाटन’ गर्न अनुमति दिएर खुसी पारी आफ्नी दुई पनातिनी प्रिन्सेप र हेलेन (नरशमशेरका छोरीहरू)लाई पनि त्रिभुवनका अन्य दुई छोरा हिमालय र बसुन्धारालाई अन्माए ।

त्रिभुवनले भारतीय दूतावासमा शरण लिइसकेपछि राणाहरूले आफैँँलाई श्री ५ घोषणा गर्नेबारे पनि सोचेका थिए । श्री ३ महाराज र श्री ५ बडामहाराज एकै हो जस्तो गरी ‘जनमत’का रूपमा प्रचारको चेष्टा गरियो । तर, कम्तीमा चार कारणले राणाहरूले आफैँलाई राजा घोषणा गर्न नसकेको देखिन्छ ।

१९९७ सालको प्रजापरिषद्को पर्चाकाण्डमा प्रधानमन्त्री जुद्धशमशेरलगायत कट्टरपन्थी राणाहरू त्रिभुवनलाई गद्दीच्युत गर्न कस्सिए पनि राजशाही अन्त्य गर्न चाहन्थेनन् । बरु, नातिनी–ज्वाइँ युवराज महेन्द्रलाई राजा घोषित गर्न अग्रसर थिए । तर, महेन्द्रले आफ्ना बुबा, दुई भाइ, आमाहरू र सम्भावित जनमत भड्किन सक्ने विचार गरी राजी भएनन् ।

तेस्रो, जंगबहादुर राणाले राजा सुरेन्द्रको पञ्जापत्र र लालमोहर प्राप्त गरी जहानियाँ शासन बसालेका थिए, अनि सम्धी राजालाई प्रलोभनमा पारेर श्री ३ पद्वी फुत्काएका थिए । अर्थात्, राजाकै इच्छाअनुसार राणाहरूले शासन गरेको भन्ने मान्यता स्थापित गरिएको थियो । राजतन्त्र नै सखाप पार्दा जनता भड्किन सक्थे । उसै, प्रचण्ड गोर्खा र नेपाल प्रजापरिषद्का नाममा जनता आन्दोलित थिए नै, राजतन्त्र मास्दा जनविरोध थेग्न मुस्किल पथ्र्यो ।

चौथो, राणाहरू नेपालमा मात्र साँढे थिए । तिनका माइबाप त बेलायती साम्राज्य नै थियो । काठमाडौंस्थित दूतको इसारा वा स्वीकृतिविना महत्वपूर्ण कदम उठाउन सक्तैनथे । बेलायतले राणाहरूको ज्यादतीमा आँखा चिम्लिए पनि नेपाली जनमत भड्किने र त्यसबाट ब्रिटिस गोर्खा र बेलायती स्वार्थमा पर्न सक्ने सम्भावित प्रभावप्रति जहिल्यै सतर्क बनेको देखिन्छ ।

१९९७ सालको प्रजापरिषद्को पर्चा प्रकरण र चार सहिदको हत्याकाण्डमा पनि जुद्धशमशेरले त्रिभुवनलाई गद्दीच्युत गर्न ‘ग्रिन सिग्नल’ खोजे पनि बेलायतले दिएन । त्यस्तो कदमले त्यतिवेला जारी दोस्रो विश्वयुद्धमा बेलायतका पक्षबाट लडिरहेका ब्रिटिस गोर्खाहरू भड्किन सक्नेप्रति ऊ सतर्क देखिन्थ्यो ।

त्यस्तै, ००७ सालको काण्डमा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिएपछि ‘श्री ३ ले नै श्री ५ को श्रीपेच लगाउने’ कुरा उठे पनि बेलायती दूत जर्ज फाल्कोनरले त्यसो नगर्न सुझाएका थिए । बरू, उनले नजिकका हकवालालाई राजा मान्न वा नायबी परिषद् गठन गर्न सुझाए ।

फाल्कोनरको राय बुझेपछि राणाहरूले हरिशमशेरका सम्धी मुख्य साहेबज्यु रामविक्रम शाहलाई राजा घोषणा गर्ने तयारी गरे । उनलाई चारघोडे बग्गीमा राखेर सिंहदरबार ल्याइयो । त्यतिकैमा कसैले राजकुमार ज्ञानेन्द्र नारायणहिटीमै रहेको खबर पु¥याएपछि उनैलाई गद्दीमा राख्ने निधो भयो । रामविक्रम उसै पैदल घर फर्के ।

धेरैलाई लाग्छ, सहिदगेटमा ठड्याइएका चार सहिदका सालिकमाथि राजा त्रिभुवको सालिक किन ? आखिर त्रिभुवनकै लालमोहरपछि राणाहरूले उनीहरूलाई मृत्युदण्ड दिएका थिए ! यो पुस्तक पढ्नेले सायदै यस्तो प्रश्न गर्छ । किनकि, प्रजापरिषद्को पर्चा अभियान र सहिद हुने कतिपय त्रिभुवनकै योजना र विश्वासमा राणाशासनविरुद्ध उत्रिएका थिए ।

नेपाल प्रजापरिषद्का नाममा १९९७ साल असारदेखि झन्डै दुई महिना राजधानीका ठाउँ–ठाउँमा राणाविरोधी पर्चा छरिएको थियो । त्रिभुवनले आफूलाई उक्त पार्टीको सदस्य ठान्न लिखित पत्राचार नै गरेका थिए । पर्चामा त्रिभुवनको संलग्नताबारे कहीँ कतै उल्लेख थिएन । तर, चौथो र अन्तिमपटक छरिएको पर्चामा ‘बाघको छालामा स्यालको रजाइँ !’ भन्ने वाक्य लेखिएको थियो ।

त्रिभुवनले प्रचार अभियानका अगुवाहरूलाई कसैगरी आफ्नो संलग्नताको पोल नखोल्नु भनेका थिए । राणाहरूले अत्यधिक यातना दिए भने आत्महत्या गर्नु भनी विष दिइएको थियो । तर, धर्मभक्त माथेमासहित केहीले राणाहरू र त्रिभुवनकै सामुन्ने राजाको संलग्नताको पोल खोले । यसले गर्दा राणाहरूद्वारा त्रिभुवनमाथि सार्वजनिक अपमान, केरकार, राजदरबारमा खानतलासी र गद्दीच्युतका असफल प्रयाससम्म भए ।

आफैँ अपदस्त भएर ससुराली राणाहरूसँग लहसिएको छोरो महेन्द्रलाई राजा स्विकार्नुभन्दा त्रिभुवनले करकापमा लालमोहर दिएको देखिन्छ । तर, उनले नदिएको भए पनि राणाहरूले लालमोहर लिइछाड्थे । किनकि, लालमोहरको सन्दुक नारायणहिटी राजदरबारमा रहे पनि यसको चाबी सिंहदरबारमा थियो । तात्कालिक परिस्थितिप्रति संकेत गर्दै राजा त्रिभुवनले ००७ सालपछि भनेका थिए, ‘सहिद धर्मभक्त, शुक्रराज, गंगालाल दशरथहरूमाथि उस बखतको परिस्थिति तथा मेरो इच्छाविपरीत लालमोहर प्रयोग गराइएकाले उनीहरूले मृत्युदण्ड पाएका हुन् ।’

प्रस्तुत पुस्तक लेखकको विद्यावारिधि शोधपत्र हो । यसमा त्रिभुवनकालीन पात्रहरू र त्यसका घटनाक्रमबारे प्रत्यक्ष जानकारी राख्ने ६४ जना विभिन्न व्यक्तित्वसँग गहन संवाद गरिएको छ । कतिपय अवस्थामा नेताले सही बोल्दैनन्, तर तिनका भनाइलाई अन्य स्रोत र सन्दर्भग्रन्थबाट पुष्टि वा खण्डन गर्ने सक्दो प्रयास भएको देखिन्छ ।

प्राज्ञिक सीमितताका बाबजुद पुस्तक खरो छ । साथै, त्रिभुवनसँग सम्बन्धित केही पक्षका बारेमा विस्फोटक खुलासा गरिएका छन् । उदाहरणका लागि रोलवाला राणाहरूको सामूहिक हत्या गर्ने राजा त्रिभुवनको योजना सविस्तार वर्णित छ । ती असफल हुनुका प्रसंग पनि छन् ।

जुद्धशमशेरकी नातिनी तथा युवराज्ञी (महेन्द्रकी प्रथम श्रीमती)ले आफ्ना बुबासहितलाई मार्न सक्ने संकेत पाएर बुबामार्फत खबर पु¥याइएको उल्लेख छ । यस्ता गोप्य कतिपय योजनामा त्रिभुवनका छोराहरू संलग्न हुन्थे । धेरै योजना राणाहरूले चाल पाएर असफल भएपछि त्रिभुवनमा युवराज महेन्द्र र युवराज्ञीमा शंका हुनु स्वाभाविक देखिन्छ । तर, पुस्तकमा त्यसको स्वतन्त्र पुष्टि भेटिन्न ।

पछि, युवराज महेन्द्र आफूभन्दा ससुरालीतिर लहसिएको आभास भएपछि राजा त्रिभुवनले उनलाई खासै विश्वास गर्दैनथे । एक प्रसंगमा, जब त्रिभुवनलाई १९९७ काण्डमा राणाहरूले केरकार गर्न थाले, श्री ३ जुद्धशमशेरका छोरा बहादुरशमशेरले युवराज महेन्द्रतर्फ संकेत गर्दै ‘सबै कुरा जेठा शाहज्यादा (युवराज)ले बताइबक्सेको छ’ भन्दै सबैका सामुन्ने त्रिभुवनलाई अपशब्द प्रयोग गरे । त्यसपछि त्रिभुवनले महेन्द्रलाई ‘भन जेठा तिमीले के–के भन्यौ ?’ भनी सोधे ।

फाल्कोनरको राय बुझेपछि राणाहरूले हरिशमशेरका सम्धी मुख्य साहेबज्यू रामविक्रम शाहलाई राजा घोषणा गर्ने तयारी गरे । उनलाई चारघोडे बग्गीमा राखेर सिंहदरबार ल्याइयो । त्यत्तिकैमा कसैले राजकुमार ज्ञानेन्द्र नारायणहिटीमै रहेको खबर पुर्‍याएपछि उनैलाई गद्दीमा राख्ने निधो भयो । रामविक्रम उसै पैदल घर फर्के ।

महेन्द्र केही बोलेनन्, टाउको निहुराई बसिरहे । भारतीय दूतावासमा सपरिवार शरण लिन जाने योजना पनि त्रिभुवनले अघिल्लो दिन मात्र महेन्द्रलाई एक्लै कोठामा बेलाएर सुनाए । तर, युवराज्ञीलगायत ‘कुनै पनि आइमाईलाई नभन्नु’ भन्ने निर्देशन दिएका थिए । 

पुस्तकमा षड्यन्त्रका सिद्धान्तले स्थान पाएका छन् । जस्तो, त्रिभुवनका बाजे त्रैलोक्य र बुबा पृथ्वीविक्रम दुवैलाई राणाहरूले उपचारका नाममा विष सेवन गरी मारेको दाबी गरिएको छ । केही परिस्थितिजन्य घटनाक्रम र प्रसंगको सहारा लिइए पनि तथ्यले पुष्टि गर्न सकिएको छैन । राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन जाने योजना पूर्वनियोजित थियो ।

पुस्तकमा ००७ साल कात्तिक २० गते उनी एक्लै मोटर लिएर शीतलनिवास (तत्कालीन भारतीय दूतावास भवन) पुगेको र दूतावासबाट एक्लै नआउनु भन्ने सन्देश पाएपछि फर्किएको दाबी छ । तर, यसमा पत्याउने आधार कमजोर छ । किनकि, त्रिभुवन नारायणहिटीभित्र नजरबन्दजस्तै अवस्थामा राखिएका थिए, बाहिर निस्कन श्री ३ मोहनशमशेरको पूर्वस्वीकृति लिनुपथ्र्यो ।

भोलिपल्टका लागि नागार्जुनमा सिकार खेल्न भने उनले स्वीकृति लिएका थिए । तैपनि, एकादशीका दिन सिकार खेल्न राणाहरूले कसरी अनुमति दिए भन्ने विषयमा पुस्तक मौन छ । सायद, राणाहरूले यो कुरा भेउ पाएनन् । नत्र उनी सिकारको बहानामा राजदरबारबाट उम्कन पाउँदैनथे ।

कात्तिक २१ गते बिहान उनी दुई महारानी, तीन छोरा, दुई बुहारी (युवराज्ञी इन्द्रराज्यलक्ष्मी बितिसकेकी थिइन्), दुई छोरी, जेठो नाति वीरेन्द्रसहित ११ जना चारवटा कारमा शीतलनिवास पुगे । साथमा त्रिभुवनका हजुरिया कर्नेल (अंगरक्षक) नारायण नरसिंह राणा पनि थिए ।

नाबालक राजकुमार ज्ञानेन्द्र मात्र होइन, उनका भाइ धीरेन्द्र पनि नारायणहिटी राजदरबारमै छाडिएका थिए । कार त्रिभुवन र उनका तीन छोराहरूले हाँकेका थिए । कार रानीवन वा बालाजुतर्फ नलागी महाराजगन्जतर्फ मोडिएपछि अंगरक्षकले त्रिभुवनलाई सम्झाएका थिए, तर राजाले पेस्तोल देखाएर उनलाई चुप लगाए ! 

त्यस दिन दिउँसो दुई–ढाई बजेतिर मात्र श्री ३ ले यो खबर पाए । भोलिपल्ट राणाहरूको भारदारी सभाले भित्रुवनलाई अपदस्त गरी हनुमानढोका, नासलचोकमा नाबालक ज्ञानेन्द्रलाई श्रीपेच लगाइदिए । ज्ञानेन्द्रलाई श्री ५ ले लगाउने श्रीपेच नपाएपछि श्री ३ को श्रीपेच लगाइएको थियो, जुन प्रसंग यस पुस्तकबाहेक अन्यत्र सायदै भेटिएको छ ।

राज्यारोहणमा बेलायती राजदूत उपस्थित मात्र भएनन्, बेलायत सरकारको बधाईसमेत प्रस्तुत गरेर नयाँ राजालाई अभिवादन गरे । तर, भारतीय राजदूत अनुपस्थित रहे । पुस्तकमा उल्लेख नभए पनि पाकिस्तानले पनि नयाँ राजालाई मान्यता दिइसकेको थियो, तर भारतको मान्यता नआएसम्म सार्वजनिक नगर्ने निधो गरिएको थियो ।

राणाहरूले नयाँ राजालाई मान्यता दिन बेलायत, अमेरिका र भारतमा कूटनीतिक ‘लबिङ’ गरेका पनि हुन् । बेलायत सकारात्मक भए पनि भारतले नाबालक राजालाई मान्यता दिँदै दिएन । साथै, भारतका प्रधानमन्त्रीले नयाँ राजालाई मान्यता नदिन बेलायतमाथि दबाब दिए ।

राजदूत फाल्कोनरले राणाकै पक्षमा लन्डनमा रिपोर्टिङ गरेका थिए । तैपनि, नेपालको अवस्था बुझ्न लन्डनबाट सर इस्लर डेनिङ नेतृत्वको दुई सदस्यीय जाँचबुझ मिसन काठमाडौं ओर्लियो, जसले राणाहरूका पक्षमा उति सकारात्मक सन्देश दिएन । पछि, भारतको योजनामुताबिक ‘दिल्ली सम्झौता’मा राणाहरू सहमत हुन बाध्य भए ।

फागुन ४ गते आन्दोलनरत नेपाली कांग्रेसका नेताहरूसहित राजा त्रिभुवन एउटै विमानमा काठमाडौं उत्रिए । तीन दिनपछि नेपालमा प्रजातन्त्र बहालीको घोषणा भयो । भारतीय दूतावासमा शरण र दिल्ली निर्वासनका लागि राजा त्रिभुवन नेहरू र भारतका राजदूत चन्द्रेश्वरप्रसाद सिंहप्रति नतमस्तक थिए । नेहरूले त्रिभुवनलाई दिल्लीस्थित पालम हवाई अड्डामा सैन्य सम्मानगारतसहित भव्य स्वागत गरेका थिए । राजपरिवारका सदस्यलाई हैदराबाद हाउसमा पूर्ण सत्कारसाथ राखिएको थियो ।

उक्त घटनापश्चात् नेपालमा दिल्लीको प्रभाव र हस्तक्षेप भने ह्वात्तै बढ्यो । पुस्तकमा यसबारे उति विमर्श गरिएको छैन । यद्यपि, दिल्ली सम्झौता राजा, नेपाली कांग्रेस र राणाबीचको त्रिपक्षीय सम्झौता थिएन भन्ने स्पष्ट सन्देश दिइएको छ । खासमा त्यो सम्झौता भारतको प्रस्ताव थियो, जसमा सुरुमा राणाहरूलाई स्विकार्न बाध्य पारियो ।

राणाशासनविरुद्ध सशस्त्र आन्दोलनरत नेपाली कांग्रेस पनि सुरुमा दिल्ली सम्झौताको विरुद्ध थियो र यसका नेताहरूले सोहीअनुसार वक्तव्य दिए । मूलतः सम्झौतामा नयाँ सरकार राणा र जनप्रतिनिधि (नेपाली कांग्रेस) को संयुक्त बन्ने बुँदाप्रति कांग्रेसको आपत्ति थियो ।

कांग्रेसका नेताहरू मात्रिकाप्रसाद कोइराला, बिपी कोइराला र सुवर्णशमशेरलाई नेहरूले दिल्ली झिकाई थर्काएपछि सम्झौताप्रति नरम भए । पुस्तकमा बिपीको भनाइ उद्धृत छ– ‘सम्झौता नगरेमा नेपालमा बमवाड गर्ने पं. नेहरूले भनेपछि सम्झौता गर्न बाध्य भएको हो ।’ 

दिल्लीको प्रभाव कतिसम्म बढ्यो भने ००७ फागुन ७ पछि गठित राणा–कांग्रेस संयुक्त सरकारमा दुवै तर्फका पाँच–पाँच प्रतिनिधि गरी १० जना मन्त्रिमण्डलमा रहने भनियो । तर, कांग्रेस कोटाबाट भारतको प्रतिनिधिका रूपमा भद्रकाली मिश्र मन्त्री बनाइए, जबकि उनी कांग्रेस सदस्य थिएनन् ।

गोर्खा दलको ‘खुकुरीकाण्ड’मा प्रधानमन्त्री मोहनशमशेरले राजीनामा दिन लाग्दा सुरुमा भारतीय राजदूत सिंह र पछि नेहरूले उनलाई दिल्ली बोलाई राजीनामा नदिन सुझाब दिए । त्यस्तै, नेहरूले बिपीका पक्षमा जनमत हुँदाहुँदै त्रिभुवनमार्फत मात्रिकालाई प्रधानमन्त्रीमा सिफारिस गर्न कांग्रेसमाथि दबाब दिएका थिए । त्रिभुवनले मात्रिकालाई प्रधानमन्त्रीका लागि सिफारिस नगरिए आफैँ प्रत्यक्ष शासन गर्ने चेतावनी दिए । त्रिभुवनले पूर्वघोषणाअनुसार संविधानसभा चुनाव पनि गराएनन् । मात्रिकाले नसकेपछि आफैँ चलाउने असफल प्रयास गरे । वास्तवमा पञ्चायतको बिउ त्रिभुवन आफैँले रोपेका थिए ।