सगरमाथा जाने ट्रेकिङ रुट सोलुखुम्बुको फाक्दिङमा १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’ सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल उद्घाटन गरेकी छिन् । पर्यटन व्यवसायी फुर्वा शेर्पाको परिवारले करिब २० करोड लागतमा व्यावसायिक, सामाजिक उत्तरदायित्व (सिएरआर) अन्तर्गत खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायुक्त अस्पताल निर्माण गरेका हुन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले सामाजिक भावना राखी गाउँमै अस्पताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने शेर्पा परिवारको काम सराहनीय भएको बताइन् । अस्पतालले नजिकै अस्पताल नहुँदा सुत्केरीले पाउने पीडाहरू समाधान गर्ने विश्वास उनको छ । अस्पताल निर्माण गर्न करिब २० करोड रुपैयाँ लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले बताइन् । अस्पताल कोङ्दे हिमालको काखमा (२,६१० मि) रहेको छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन बनाएको हो ।
‘यस क्षेत्रका ११ गाउँका करिब १० हजार स्थानीय बासिन्दा तथा खुम्बु क्षेत्रमा ट्रेकिङ र आरोहणमा आउने पर्यटकले सेवा पाउनेछन्,’ फाउन्डेसनका अध्यक्ष शेर्पाले भने, ‘नेपालीलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर उपचार हुनेछ ।’ यो अस्पताल नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन खोलेको उनको भनाइ छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ । उपचारबाट आउने रकम फाउन्डेसनको नाममा रहने र सोही रकमबाट चिकित्सकहरूलाई तलबसहित अन्य सेवा–सुविधा उपलब्ध गराइनेछ ।