मोटोपन जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । धेरै बालबालिकामा पनि मोटोपन देखिन्छ । यसको मुख्य कारण शारीरिक गतिविधिको कमी हो । किनकि, आजकल धेरै बालबालिका खेल्न वा बाहिर निस्कन पाउँदैनन् । विशेषगरी, सहरमा खेल्न जानका लागि पर्याप्त स्पेस छैन । त्यसैले सहरी क्षेत्रका बालबालिकामा मोटोपन धेरै देखिन्छ । अभिभावकले बाहिर निस्कँदा आफ्ना बालबालिका असुरक्षित हुने ठान्छन् ।
अर्को कुरा, स्क्रिन टाइमिङ पनि हो । टेलिभिजन, आइप्याड वा मोबाइल अहिले धेरै घरमा सामान्य भइसकेको छ । बाबु–आमाले जे गर्छन्, बालबच्चाले त्यही पछ्याउँछन् । त्यही कारण अभिभावकले पनि फोन वा टिभी हेर्ने समयलाई सीमित गर्नुपर्छ । बालबालिकालाई पनि धेरै समय ग्याजेटमा व्यतीत गर्न दिन हुँदैन ।
असन्तुलित खानपानले पनि मोटोपनको समस्या निम्त्याउँछ । आजकल व्यस्तताका कारण धेरै मानिस रेस्टुरेन्टमा पकाएका खानेकुरा घर ल्याउँछन् । बच्चाहरू पनि बर्गर, पिज्जालगायत खानेकुरा खान रहर गर्छन् । यस्ता खानेकुरामा ठूलो मात्रामा क्यालोरी र फ्याट हुन्छ । त्यसले मोटोपन बढाउन सहयोग गर्छ ।
बाल्यकालमा भएको मोटोपनको असर भविष्यमा देखिनेछ । किनकि, यसले वयस्क भएपछि मुटुरोग हुने जोखिम बढाउँछ । हाइपरटेन्सन वा ब्लडप्रेसर बढाउँछ । मधुमेह हुने खतरा नित्याउँछ । त्यही कारण बालबालिकालाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ । बाहिर खेल्न जान दिनुपर्छ ।
खेलकुदले तौल नियन्त्रणसँगै उनीहरूको मानसिक स्वास्थ्यमा समेत सहयोग गर्छ । अस्वस्थकर र बाहिरको खानेकुरा खान दिन हुँदैन । घरमै स्वस्थ र सन्तुलित आहार खान दिनुपर्छ । जंकफुडको मात्रा घटाउनुपर्छ ।