मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०९:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जोन्सन, फाइजर र भेरोसेलका  करिब ५८ लाख डोज खोपको म्याद सकिँदै

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०९:०६:००

नेपालमा उपलब्ध भएको कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोपको म्याद आगामी १६ नोभेम्बरमा सकिँदै छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार हाल देशभर ३४ हजार तीन सय ९० डोज खोप प्रयोगमा आउन बाँकी छ । 

आगामी दुई सातामा म्याद सकिन लागेको जोन्सन खोप प्रदेश १ मा ६ हजार ७५, मधेस प्रदेशमा दुई सय ९५, हेटोँडामा १९ हजार नौ सय ४५, टेकुमा एक हजार चार सय २५ डोज प्रयोगमा आउन बाँकी छ । गण्डकी प्रदेशमा ६ सय १०, लुम्बिनीमा पाँच हजार आठ सय ३० र सुदूरपश्चिममा दुई सय १० डोज खोप प्रयोगमा ल्याउन बाँकी रहेको आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । 

हाल देशभर जोन्सन एन्ड जोन्सन, फाइजर र भेरोसेल गरी ५७ लाख ८५ हजार पाँच सय ५३ डोज खोप प्रयोगमा आउन बाँकी छ । आगामी २० नोभेम्बरसम्म मात्रै म्याद भएको बालबालिका र वयष्कमा प्रयोगमा आइरहेको फाइजर खोपको डब्लुएचओले म्याद थपेपछि थप तीन महिना प्रयोगमा ल्याउन मिल्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एमआरएनए भ्याक्सिनको हकमा माइनस ९० देखि ६० डिग्री सेल्सियस तापक्रममा नखोलिएका भ्याक्सिन थप तीन महिनासम्म प्रयोगमा ल्याउन मिल्ने बताएको हो । कोल्ड चेनमा निश्चित तापक्रममा राखिएका भ्याक्सिनको सेल्फ लाइफको म्याद थपिए पनि नेपालमा तत्काल फाइजर खोप नष्ट गर्नुपर्ने अवस्था नरहेको खोप शाखाले जनाएको छ । तर, अन्य भ्याक्सिनको हकमा दैनिक खोप लगाउनेको संख्या घट्दै गएको र खोपको म्यादसमेत सकिन लागेकाले खोप नष्ट गर्नुपर्ने अवस्था आउन सक्ने आपूर्ति महाशाखाको भनाइ छ ।

कोभिसिल्डले नष्ट गर्‍यो १० करोड डोज भ्याक्सिन 
भारतीय खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले म्याद सकिएको कोभिडविरुद्धको भ्याक्सिनको १० करोड डोज नष्ट गर्नुपर्ने जनाएको छ । विश्वको सबैभन्दा ठूलो कोभिड खोप निर्माता कम्पनी सेरमले भ्याक्सिनको माग निकै न्यून हुँदा उत्पादन गरिएको भ्याक्सिन नष्ट गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ । करिब एक साताअगाडि नै खोप नष्ट गर्नुपर्ने अवस्थाबारे जानकारी दिएको कम्पनीले खोप चरणबद्ध तरिकाले नष्ट गरिने जनाएको छ । 

हाल स्थानीय प्रयोगका लागि भ्याक्सजेभेरिया डोज उत्पादन गरिरहेको जनाएको कम्पनीले सुरुवाती चरणमा उत्पादन गरेको खोप नष्ट गर्न लागेको हो । अधिकांशमा प्रयोगमा आइसकेको खोपको डोज भने कम्पनीले गत डिसेम्बरदेखि नै उत्पादन बन्द गरेको थियो । 

भारतमा झन्डै ९० प्रतिशतमा प्रयोगमा ल्याइएको कोभिसिल्ड खोपको माग विश्वभर नै घटेको हो । भारतमा मात्रै कोभिसिल्डको प्रयोग दुई अर्ब डोजभन्दा बढी भएको कम्पनीले जनाएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ७० प्रतिशतभन्दा बढीले कम्तीमा दुई डोज लिएका छन् ।

२०२२ जनवरीमा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदार र ६० वर्षभन्दा माथिका कमोरबिडिटी भएकालाई बुस्टरको रूपमा प्रयोगमा आएको कोभिसिल्ड भ्याक्सिन विश्वका अधिकांश देशमा प्रयोगमा आइरहेको छ । तर, अधिकांशले भ्याक्सिन लगाइसकेको र बुस्टर भ्याक्सिनको माग नभएका कारण भ्याक्सिन नष्ट गर्नुपरेको कोभिसिल्डका प्रमुख एडर पुनावालाले जनाएका छन् । ‘अहिले मानिसहरू कोभिडबाट दिक्क भइसकेका छन् । इमानदारीपूर्वक भन्नुपर्दा हामी सबै र म पनि दिक्क छु,’ उनले भनेका छन् ।

कम्पनीका अनुसार संक्रमण उच्च फैलिएमा नियन्त्रणका लागि कोभिसिल्डको करिब १० करोड डोज मौज्दातमा राखेको थियो । तर, बुस्टर डोजको प्रयोग भारतमा मात्र नभई विश्वभर नै घटेकाले भ्याक्सिन नष्ट गर्नुपरेको स्पष्ट पारेको छ । अन्य फ्लुका भ्याक्सिनजस्तै कोभिड पनि प्रत्येक वर्ष फरक प्रयोगमा आउने भएकाले पुुरानो खोपको आवश्यकता घट्दै गएको विज्ञहरूले बताउँदै आएका छन् ।