मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार ०९:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सातै प्रदेशमा  कन्सर्ट गर्दै नेपथ्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार ०९:१३:००

चर्चित सांगीतिक समूह नेपथ्यले एक महिना लामो देशव्यापी यात्रा गर्ने भएको छ । सामाजिक संस्था मानवसेवा आश्रमसँग हातेमालो गरेर नेपथ्यले ‘मानवताका लागि संगीत’ अभियान गर्न लागेको हो । आगामी मंसिर १६ देखि पुस १६ गतेसम्म चल्ने अभियानका दौरान नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारी गरिएको आश्रमले जनाएको छ । 

सातवटै प्रदेशको भ्रमणपछि नेपथ्यले १६ पुसमा भृकुटीमण्डपमा प्रस्तुति दिनेछ । यसअघि पनि नेपथ्यले विभिन्न मुद्दालाई सांगीतिक कार्यक्रममार्फत प्रवद्र्धन गरेको थियो । नेपथ्यले सशस्त्र द्वन्द्वको समय विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिका लागि शिक्षा’ कार्यक्रम गरेको थियो । त्यस्तै, द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान चलाएको थियो । 

‘हामीले गीत–संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौँ,’ ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मन पराउँदै आउनुभएका श्रोता–दर्शकमाझ पुग्न लागेका छौँ ।’

उनले थपे, ‘द्वन्द्वकालमा सांगीतिक कार्यक्रम लिएर देशव्यापी यात्रा गर्दा ठाउँ–ठाउँमा मानसिक सन्तुलन गुमाएका मानिसहरू अलपत्र परेको दृश्यले नरमाइलो लाग्थ्यो । अब भने त्यस्ता नेपालीको उद्धारमा खटिएको संस्थासँग हातेमालो गर्न पाउँदा मनमा सन्तोष लागेको छ ।’ 

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो । ‘हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकाशमुनि सो आयोजना गर्न लागेका छौँ,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठले भने, ‘एकातिर यसले सर्वत्र एकरूपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रूपमा पनि स्थानीय श्रोता–दर्शकले कन्सर्टको आनन्द लिन पाउनेछन् ।’