मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Saturday, 21 December, 2024
अनिल यादव काठमाडाैं
२o७९ कार्तिक १३ आइतबार १o:४६:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उजुरीउपर ‘एक्सन’मा उत्रिँदै निर्वाचन आयोग

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार १o:४६:oo

ललितपुर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज, एमालेका जुली महतो र सूर्य थापासँग स्पष्टीकरण

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकाविरुद्ध परेको उजुरीमाथि निर्वाचन आयोगले धमाधम कारबाही गरिरहेको छ । आयोगले शनिबार मात्रै एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ भने दुईजनालाई स्पष्टीकरण सोधेको छ ।

उम्मेदवारी खारेज हुनेमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की छिन् । उनी ललितपुर ३ बाट उम्मेदवार बनेकी थिइन् । आयोगका प्रवक्ता शालिग्राम पौडेलले ललितपुर ३ बाट उम्मेदवारी दिएकी डा. कार्कीको उम्मेदवारी अयोग्य कायम गर्ने निर्णय भएको जानकारी दिए । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनीमाथि उजुरी परेको थियो । काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा मासिक तलब व्यवस्था नभए पनि कार्कीले बैठकमा उपस्थित भएको भत्ता बुझ्दै आएकी थिइन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ)मा भएको कानुनी व्यवस्थाबमोजिम सरकारी लाभको पदमा बहाल रहेको अवस्थामा कार्की उम्मेदवार हुन अयोग्य देखिएकाले खारेज गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । 

आयोगको निर्णयविरुद्ध तोसिमा अदालत जाने 
निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेपछि डा.तोसिमा कार्कीले न्यायका लागि अदालत जाने बताएकी छन् । उनले मेडिकल काउन्सिल सदस्यको पद लाभको नहुने र त्यसबारे आफूले आयोगलाई पहिले नै पत्र पठाइसकेको जानकारी दिँदै आफ्नो पत्रलाई आयोगले जवाफ दिन आवश्यक नठानेको बताएकी छन् ।

आफूले दिएको निवेदनका बारेमा केही नभनी गरिएको निर्णयप्रति शंका व्यक्त गर्दै कार्कीले अदालत जाने जनाएकी छन् । ‘ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहोल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरी आएको यो किसिमको निर्णयविरुद्ध म सम्मानित अदालत जानेछु,’ कार्कीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

डेंगुविरुद्ध अभियान चलाएको विषयमा गगन थापालाई फेरि स्पष्टीकरण

डेंगुविरुद्ध अभियान चलाएको विषयमा कांग्रेस महामन्त्री एवं काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापालाई आयोगले शुक्रबार पुनः स्पष्टीकरण सोधेको छ । आयोगले पहिलोपल्ट ८ कात्तिकमा डेंगुविरुद्ध अभियान किन चलाएको भनी स्पष्टीकरण सोधेको थियो । तर, त्यसपछि पनि थापाले अझै त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि उनीमाथि पुनः स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । 

‘डेंगु महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ, तर निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्य तपाईं आफैँले गर्न पाउने कानुनी व्यवस्था छैन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानुनको खिलाफ हुने गरी कुनै काम गर्छु भनी वक्तव्य दिनुहुँदैन भन्ने विषयको जानकारी तपाईंलाई छैन भनी आयोग विश्वस्त हुन सक्दैन,’ स्पष्टीकरण पत्रमा भनिएको छ । 

आचारसंहिता उल्लंघन गरेको आरोपमा महतो र थापालाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले शनिबार एमालेका दुई उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेर सूर्य चिह्नमा मत मागेको आरोपमा आयोगले एमालेबाट धनुषा ३ की उम्मेदवार जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ड) मा ‘उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने’ व्यवस्था छ ।

सोही दफाको खण्ड (द)मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ । यही व्यवस्थालाई टेकेर आयोगले महतोलाई स्पष्टीकरण आयोगका प्रवक्ता पौडेलले बताए । 

आयोगले प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमालेका सूर्यबहादुर थापा क्षेत्रीलाई पनि निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेर श्रव्यदृश्य सामग्री बनाएको आरोपमा स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग आचारसंहिताविपरीत मानिन्छ । ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा किन त्यसरी प्रचारप्रसार गरेको भनेर दुवैलाई २४ घन्टाभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको छौँ,’ प्रवक्ता पौडेलले भने । आयोगले सबै दलहरूलाई कार्यलयमै बोलाएर के गर्न हुने–नहुने भन्नेबारे ६० बुँदे निर्देशन नै दिएको थियो । यद्यपि, आचारसंहिता उल्लंघनको क्रम रोकिएको छैन । 

दुई करोड ३६ लाख मतपत्र छपाइ, ढुवानी तीव्र

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा दुवैतर्फको मतपत्र छपाइ सकिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार हालसम्म प्रतिनिधिसभातर्फ एक करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ एक करोड १७ लाख ८२ हजार पाँच सय गरी कुल दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ सकिएको हो । 

१३ कात्तिकमा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ । साथै, यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुने आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेश सभाका मतपत्र आठवटा जिल्लाबाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको र केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी छ ।

आयोगले शुक्रबारबाटै विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी कार्य सुरु गरेको छ । अहिले सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी भइरहेको छ । ‘अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन्,’ प्रवक्ता पौडेलले भने ।