मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक १३ आइतबार ०७:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङको नमुना सामुदायिक अस्पतालको व्यवस्थापन एचडिसिएसले गर्ने

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १३ आइतबार ०७:४४:००

लमजुङको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल विकास समितिद्वारा सञ्चालित नमुना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले गर्ने भएको छ । नमुना सामुदायिक अस्पताल विकास समिति र एचडिसिएसबीच शनिबार एक कार्यक्रमबीच ३० वर्षका लागि सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा प्रथम पक्षको तर्फबाट अस्पतालका अध्यक्ष परमेश्वर अधिकारी, दोस्रो पक्षबाट एचडिसिएसका कार्यकारी निर्देशक कपिल शर्माले हस्ताक्षर गरेका छन् । 

नमुना सामुदायिक अस्पताल ०६१ मा नमुना सामुदायिक अस्पताल विकास समितिद्वारा स्थापना भई ०६७ देखि स्वास्थ्य सेवा दिँदै आएको छ । नमुना सामुदायिक अस्पताल विकास समितिका कुनै पनि सदस्य वा पदाधिकारीले कुनै पनि प्रकारको बाधा–अड्चन सिर्जना नगर्ने र कुनै पनि प्रकारको हक अधिकार नखोज्ने सर्तमा एचडिसिएसले आफ्नो मूल्य तथा मान्यताअनुसार अस्पताललाई स्वतन्त्र रूपमा व्यवस्थापन र सञ्चालन गर्न सक्ने भनी सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौताको म्याद आगामी पुस १७ गते (१ जनवरी २०२३) को मितिबाट ३० वर्ष हुने उल्लेख छ । पहिलो पक्षले सम्झौता भंग गर्न खोजेमा एक वर्ष अगावै लिखित सूचना दिई दोस्रो पक्षबाट भएको लगानी, निर्माण गरिएको पूर्वाधार तथा उपकरणहरू दोस्रो पक्षले फिर्ता लैजान पहिलो पक्षले रोक्न पाउनेछैन । एचडिसिएसका संस्थापक अध्यक्ष तीर्थ थापाका अनुसार सुरुवातमा करिब आठ करोड रुपैयाँ लगानी गरिनेछ । 

लमजुङ जिल्ला अस्पताल पनि यसअघि एचडिसिएसको व्यवस्थापनमा सञ्चालन हुँदै आएको थियो । २२ वर्ष सञ्चालन र व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएपछि जिल्ला अस्पतालमा गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको थियो । लामो समयदेखि स्थानीयकै व्यवस्थापनमा हुँदै आएको नमुना सामुदायिक अस्पताल विकास समितिले अत्याधुनिक प्रविधिसहित २४सै घन्टा सेवा दिँदै आएको थियो ।

अस्पतालले भिडियो एक्स रे, इसिजी, एक्सरे, प्याथलोजीसहित एमबिबिएस डाक्टरद्वारा स्वास्थ्य परीक्षण गर्दै आएको छ । अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले सुन्दरबजार क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय सेवा दिन यस किसिमको सम्झौता गरिएको बताए । अध्यक्ष अधिकारीले विगतका वर्षहरूदेखि नै अस्पताल र एचडिसिएसबीच सम्झौता गरी काम गर्न आफू लागिपरेको बताए ।

नमुना सामुदायिक अस्पतालमा एचडिसिएसले व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै गुणस्तरीय सेवा पाउने सेवाग्राहीको विश्वास छ । अब उक्त अस्पतालबाट लमजुङ, मनाङ, गोर्खाको पश्चिमी क्षेत्र, तनहुँको उत्तरी क्षेत्र, कास्कीको पूर्वी क्षेत्रलगायतका सर्वसाधारणले थप गुणस्तरीय सेवा पाउने भएका छन् ।