मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ११ शुक्रबार १८:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : ओनसरी घर्ती 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार १८:२३:oo

पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानुन बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौं २ मा उम्मेदवारी दिएको बताएकी छिन्। 

तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका ३ जहरसिंहपौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताइन्। 

आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चारमाध्यममा त्यतिवेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह गरिन्। ‘म सभामुख भएको मान्छे हुँ। दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु,’ उनले भनिन्। 

घर्तीले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु हुने उल्लेख गरिन्। जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो। घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल–मुलपानी–साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाइन्। 

यस्तै, काठमाडौं २ लाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाहरूले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रीतिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको बताइन्। 

फरक प्रसंगमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान र व्यवस्था मास्ने उद्देश्यले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध वर्तमान गठबन्धन निर्माण भएको बताइन्। 

‘अहिलेको संविधान र व्यवस्था धेरै ठूलो दुःखले आएको हो,’ उनले भनिन्, ‘पटकपटक व्यवस्था परिवर्तन गर्ने र मुलुकलाई पछाडि फर्काउने कुरा अब सम्भव छैन। हामी उपलब्धिको रक्षा र देशको विकासलाई शिरमा राखेर अघि बढेका छौँ।’ 

घर्तीले आफू मुलुकको सभामुखजस्तो सम्मानित जिम्मेवारीमा रहिसकेका कारण निर्वाचन प्रचारका क्रममा कसैप्रति पनि तुच्छ र तल्लोस्तरको आलोचना गर्ने पक्षमा नरहेको बताइन्।