१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ कार्तिक ५ शनिबार १८:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाँदर नियन्त्रण गर्ने उम्मेदवारको खोजीमा बाग्लुङका मतदाता 

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ५ शनिबार १८:३६:००

उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन्। चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन्। तर, बाग्लुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन्। 

बाग्लुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आँगनमा भोट माग्न आएका उम्मेदवारलाई एक स्वरमा भनेका छन्, 'यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई।'  

बाग्लुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतंकले किसानले हैरानी खेपेका छन्। उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रा उम्मेदवारसँगको एकसूत्रीय माग भनेको बाँदर नियन्त्रण गर्नेलाई भोट दिने बताएका छन्। बलेवा, कुस्मिसेरा, जैदी, छिस्ती, राङ्खानीलगायत क्षेत्रमा बाँदरका कारण यहाँका किसानले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन्। 

चुनावी अभियानअन्तर्गत बाग्लुङ नगरपालिका–१४ गार्लुङका स्थानीयलाई भोट माग्न कोदो बारीमै पुगेका नेकपा (एमाले)बाट बाग्लुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका डा. सूर्य पाठकलाई यहाँका किसानले यसपटकको भोट बाँदर नियन्त्रणको वाचा गर्नेलाई दिने बताएका छन्। गार्लुङका स्थानीय सीता पौडेलले गलुवाको पहिरो र बाँदरले यहाँका जनताले सास्ती खेपेको बताउँदै बाँदर नियन्त्रणको योजनालाई समेटेर आउने उम्मेदवारलाई भोट दिने बताए।

सीता मात्रै हैन गार्लुङकै अनिता पौडेलले समेत बाँदर नियन्त्रण गर्न सके अहिले निर्वाचित हुने जनप्रतिनिधिले यहाँ अन्य काम नगरे पनि हुने बताइन्। उनले बाग्लुङ नगरपालिका– १० स्थित गलुवाको पहिराले समेत बलेवासहित दक्षिण भेगका जनताले दुःख पाएको बताइन्। 

'गलुवाको पहिरोका कारण हामीले भारी बोकेर करिडोर र कुस्मा पुगेर खाद्यान्न ल्याउन परेको छ,' अनिता पौडेलले भने, 'अहिलेको भोट गलुवाको पहिरो नियन्त्रणका लागि पहल गर्ने र बाँदर नियन्त्रणको योजना ल्याउनेलाई दिने योजना यहाँका जनताको छ।' 

गलुवामा पहाडै बगाउँदा असारयता मात्रै तीन महिना सडक बन्द भएको थियो। पहिरो नियन्त्रणका लागि मात्रै रु चार करोड खर्च लाग्ने भएपछि गलुवाको पहिरो चुनावी मुद्दा बनेको छ। बाग्लुङको राजनीतिमा आफ्नो पकट जमाउँदै आएको बलेवा क्षेत्रबाट नेकपा (एमाले) र गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवार उठाएको छ। निवर्तमान सांसदसमेत रहेका एमालेका उम्मेदवार डा.सूर्य पाठक प्रतिनिधिसभा र गठबन्धबाट कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बाग्लुङ क्षेत्र नम्बर १ प्रदेश सभा (२) बाट चुनावी मैदानमा आए।

कांग्रेसका युवा नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार सुवेदीले यहाँका जनताको माग अन्य क्षेत्रको भन्दा फरक भएको बताए। उनले बसाइँसराइ र बाँदरका कारण बाग्लुङको उर्वरभूमि दक्षिण भेग समस्यामा परेको बताए।