१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Friday, 05 July, 2024
२o७९ कार्तिक ५ शनिबार o६:१७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बाह्य क्षेत्रमा परेको दबाबबाट माथि उठ्दै अर्थतन्त्र

चालू आवमा विप्रेषण आप्रवाह उच्च मात्रामा बढ्नुका साथै आयात र व्यापार घाटा घटेको छ भने शोधनान्तर घाटा घट्दा देखियो सुधारको संकेत

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार o६:१७:oo

विगत एक वर्षदेखि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाबबाट अहिले भने सुधारतर्फ अघि बढेको संकेत देखिएको छ । उच्च मात्रामा बढ्दो आयात, शोधनान्तर घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, घट्दो रेमिट्यान्सलगायतका कारण पछिल्लो एक वर्षदेखि अर्थतन्त्र तथा बाह्य क्षेत्र दबाबमा थियो । तर, चालू आर्थिक वर्ष ०७९/८० को भदौसम्म आउँदा भने अर्थतन्त्रमा सुधारको संकेत थालेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक भदौसम्मको प्रतिवेदनले यसको पुष्टि गरेको छ ।

भदौसम्म आउँदा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशत (डलरमा ११.३ प्रतिशत)ले बढेको छ । यस्तै, आयात १३ प्रतिशत र व्यापार घाटा ९.४ प्रतिशतले घटेको छ । साथै, विदेशी मुद्रा सञ्चिति घट्नेक्रम केही नियन्त्रण भएको छ । यसैगरी, शोधनान्तर घाटा पनि उच्च मात्रामा घटेको छ । त्यसअनुसार अर्थतन्त्रमा सुधार आउने संकेत देखिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए । अहिले अर्थतन्त्र डरलाग्दो अवस्थामा नरहेको उनको भनाइ छ । 

‘यद्यपि, शोधनान्तर स्थिति घाटामा छ भने विदेशी मुद्रा सञ्चिति पनि घटेकै छ । तर, त्यो ठूलो मात्रामा छैन,’ उनले भने, ‘समग्रमा बाह्य क्षेत्रमा परेको दबाब तथा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्ने गरी अर्थतन्त्रको सूचकमा सुधार आउने संकेत देखिन थालेको छ । तर, अर्थतन्त्र सुधारको दिशामा नै अगाडि बढेको भने छैन । त्यसका लागि अझै केही समय संयमित हुनुपर्ने आवश्यक छ । त्यसपछि भने छिट्टै अर्थतन्त्र सही स्थितिमा पुग्छ ।’आयात नियन्त्रण गर्ने, रेमिट्यान्सलाई प्रोत्साहन गर्ने तथा ब्याजदर बढाउनेलगायतका नीतिगत व्यवस्थाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनको भनाइ छ । 

 यी हुन् अर्थतन्त्र सुधारको संकेत देखाउने तथ्यांकहरू
 विप्रेषणमा २० प्रतिशतको वृद्धि 

भदौसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । गत आवको भदौसम्ममा एक खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो । यो वर्ष उच्च मात्रामा विप्रेषण आउँदा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्न थालेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको संख्या बढी छ । साथै, डलरको मूल्य पनि बढेको छ, फलस्वरूप विप्रेषण आम्दानीमा सुधार आएको राष्ट्र बैंकको व्याख्या छ । 

सुधारको संकेत मात्रै देखिएको हो 
डा. प्रकाशकुमार श्रेष्ठ आर्थिक अनुसन्धान विभाग प्रमुख, राष्ट्र बैंक 

समग्रमा बाह्य क्षेत्रमा परेको दबाब तथा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्ने गरी अर्थतन्त्रको सूचकमा सुधार आउने संकेत देखिन थालेको छ । तर, अर्थतन्त्र सुधारको दिशामा नै अगाडि बढेको भने छैन । त्यसका लागि अझै केही समय संयमित हुनुपर्ने आवश्यक छ । त्यसपछि भने छिट्टै अर्थतन्त्र सही स्थितिमा पुग्छ ।

 आयात र व्यापार घाटा घट्यो 
समीक्षा अवधिमा आयात १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आवको भदौसम्ममा भने आयात ७५.९ प्रतिशतले बढेको थियो । गत आवको उक्त अवधिमा तीन खर्ब १४ अर्ब ५२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । यस्तै, समीक्षा अवधिमा व्यापार घाटा पनि ९.४ प्रतिशतले कमी आई दुई खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गत आवमा दुई खर्ब ७० अर्ब ४८ करोड रुपैयाँ व्यापार घाटा थियो । 

यसरी आयात र व्यापार घाटामा कमी आउँदा बाह्य क्षेत्रको चाप कम भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । यद्यपि, निर्यात भने ३४.९ प्रतिशतले कमी आई २८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । त्यो पनि बहसको विषय भएको उनको भनाइ छ । 

 शोधनान्तर र चालू खाता घाटामा कमी 
गत आवको भदौसम्म एक खर्ब ६ अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको चालू खाताको घाटा अहिले भने घटेर ३७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, गत आवको भदौसम्म ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति अहिले घटेर २३ अर्ब ६८ करोड रुपैयाँमा आइपुगेको छ । चालू आवको पहिलो महिना (साउन)मा मात्रै शोधनान्तर घाटा २२ अर्ब ६३ करोड रुपैयाँ थपिएको थियो, तर भदौमा भने एक अर्ब पाँच करोड रुपैयाँ शोधनान्तरमा सुधार भएको छ । त्यसअनुसार पछिल्लो समय शोधनान्तर स्थितिमा पनि सुधार देखिएको तथ्यांकले पुष्टि गरेको छ । फलस्वरूप बाह्य क्षेत्रमा परेको चापसमेत कम हुँदै गएको छ ।

 विदेशी मुद्रा सञ्चिति घट्दो, तर नियन्त्रित 
यद्यपि, समीक्षा अवधिमा घट्दो विदेशी मुद्रा सञ्चितिले निरन्तरता पाएको छ । गत असार मसान्तसम्म नौ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति साउनमा नौ अर्ब ४२ करोड डलरमा झरेको थियो । भदौमा त्यो झन्डै सात करोड डलर घटेर नौ अर्ब ३५ करोड डलरमा झरेको छ । पछिल्लो समय घट्ने दरमा कमी आएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । साथै, त्यसले ७.७ महिनाको वस्तु तथा आयात धान्न पुग्छ । ‘विदेशी मुद्रा सञ्चिति घट्ने क्रम कम हुँदै गएको छ । पहिलाको जस्तो उच्चदरमा विदेशी मुद्रा सञ्चिति घटेको छैन,’ उनले भने, ‘समग्रमा नेपाल विदेशी मुद्रा सञ्चितिको हकमा कम्फर्ट जोनमा छ । तसर्थ, हामी आत्तिहाल्नुपर्ने अवस्थामा छैनौँ ।’

 भ्रमण आयमा ७२ प्रतिशत वृद्धि 
समीक्षा अवधिमा विदेशी पर्यटकबाट हुने भ्रमण आय ७२.२ प्रतिशतले बढेर पाँच अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन अर्ब ४६ करोड डलर रहेको थियो । भ्रमण आय बढ्नाले पनि विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकको भनाइ छ । 

सकारात्मक मात्र छैन अर्थतन्त्र
 मूल्यवृद्धि दोब्बर 

०७९ भदौ महिनामा महँगी भने झन्डै दोब्बर भएको छ । गत आवको भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि दर) ३.४९ प्रतिशत थियो । तर, अहिले त्यो बढेर ८.६४ प्रतिशत पुगेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको छ । अन्तर्राष्ट्रिय बजारका कारण यो वर्ष मूल्यवृद्धि बढी भएको राष्ट्र बैंकको भनाइ छ ।

 घट्यो निर्यात 
समीक्षा अवधिमा निर्यात ३४.९ प्रतिशत अर्थात् २८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो । यो वर्ष  भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ । यस्तै, अन्य देशमा हुने निर्यात भने १३.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, औषधि (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ । 

 अर्थतन्त्रका सम्भावित जोखिम 
अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि जोखिमसमेत उत्तिकै रहेको डा. श्रेष्ठले बताए । ‘अन्तर्राष्ट्रिय अर्थतन्त्र हाम्रा लागि अझै अनुकूल छैन । युक्रेन–रुस युद्द साम्य भएको छैन भने पेट्रोलियम पदार्थको मूल्य पनि उच्च नै छ,’ उनले भने, ‘त्यसमाथि महँगी अन्तर्राष्ट्रिय रूपमै बढेको छ । त्यस कारण नेपालको अर्थतन्त्रको जोखिम बाँकी नै छ । त्यसैले अझै पनि हामी संयमित भएर अघि बढ्नुपर्छ ।’

 

ad
ad
ad
ad