मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक ३ बिहीबार o७:२२:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कसरी मत्थर भयो कांग्रेसको टिकट विवाद ?

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार o७:२२:oo

नेता कोइराला र महामन्त्री थापाले आफ्नो समूहको माग सशक्त रूपमा उठाउन नसकेको र आफू मात्र सुरक्षित हुने बाटो रोजेको इतरभित्रका असन्तुष्टको आरोप

टिकट वितरणमा सम्मानजनक सिट माग्दै संस्थापन पक्षविरुद्ध धर्ना र भेला गरेको कांग्रेसको असन्तुष्ट समूहले निर्वाचन नजिकिँदै गर्दा विवाद मत्थर पारेको छ । आफ्नो समूहको नेतृत्वले आफ्नो सिट सुरक्षित गर्न असन्तुष्टि लुकाएको सोही समूहका कतिपय नेता–कार्यकर्ताको आरोप छ । 

प्रचार सुरु भएसँगै तत्कालका लागि विवाद थाती राखेर टिकट पाएका इतर समूहका नेता निर्वाचन तयारीमा जुटेका छन् । समानुपातिक र प्रत्यक्षतर्फका दुवै टिकटमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाएको इतर समूहका नेताको बोली अचानक फेरिएको छ । 

इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले सोमबार मात्रै पार्टी सभापति शेरबहादुर देउवा र आफूबीच कुनै मतभेद नरहेको बताएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा उनले १४औँ महाधिवेशन र स्थानीय तह निर्वाचनको तुष नराख्न नेता–कार्यकर्तालाई आग्रहसमेत गरे । 

‘महाधिवेशनमा शेरबहादुरजी र म प्रतिस्पर्धामा थियौँ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा वडादेखि केन्द्रसम्म समूह बनाएर लडेका थियौँ,’ कोइरालाले भनेका थिए, ‘अब महाधिवेशन र स्थानीय तह निर्वाचनको तुषलाई त्यागौँ । मैले त त्यागिसकेँ । अहिले देउवाजी र म एकैठाउँमा उभिएका छौँ । म पटकपटक शेरबहादुरजीलाई गएर भेटिरहेको छु । उहाँले मेरो कुरा सुनिरहनुभएको छ, मानिरहनुभएको छ । तपाईंहरू किन लडिरहनुभएको छ ? लडेर के पाउनुहुन्छ ?’

सुरुमा कांग्रेसको इतर  समूहका नेता गठबन्धनकै विपक्षमा थिए । तर, डा. कोइराला २३ असोजमा उम्मेदवारी दर्तापछि खुलेर गठबन्धनको पक्षमा बोलेका थिए । उनले गठबन्धन गर्दा भनेजति सिट नपाउनु स्वाभाविक भएको बताएका थिए । ‘हामीले गठबन्धन किन गर्नुपर्‍यो भन्ने महत्वपूर्ण हो । ट्रयाकबाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउनु थियो,’ कोइरालाले भनेका थिए, ‘गठबन्धन गर्दा कतिपय कुरा हामीले भनेजस्तो हुँदैन । टिकट वितरणमा पनि त्यो सम्भव नहुनु स्वाभाविक हो । त्यसलाई अन्यथा लिनुहुँदैन ।’

निर्वाचनका मुखमा आएको कोइरालाको अभिव्यक्तिमा आएको बदलावलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीय निर्वाचनलगत्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा महाधिवेशनमा प्राप्त मतका आधारमा ४० प्रतिशत हिस्सा माग गर्दै दबाबमूलक गतिविधि गर्दै आएको थियो । स्थानीय निर्वाचनपछि १७ असारमा कोइराला र महामन्त्री थापाको उपस्थितिमा इतरले भेला गरेर स्थानीय निर्वाचनको टिकट वितरणमा बेवास्ता गरिएको निष्कर्ष निकाल्दै नेतृत्वविरुद्ध दबाब बनाउने निर्णय गरेको थियो । 

त्यसो त कांग्रेस महामन्त्री गगन थापाले पनि विवाद थाती रहेको सन्देश उम्मेदवारी दर्ता गर्दाकै दिन दिएका थिए । २३ असोजमा उम्मेदवारी दर्तापछि महामन्त्री थापाले असन्तुष्टि कायमै रहेको र निर्वाचनलगत्तै समीक्षा हुने बताएका थिए । ‘पार्टीभित्र अहिले मौका पाउनुनपर्ने एउटै मात्र पनि कारण नभएका नेता फेरि यसपटक निर्वाचनको मैदानबाट बाहिर हुनुभएको छ । उहाँहरूले टिकट पाउनुभएको छैन,’ थापाले भनेका थिए, ‘यसको जवाफ नेतृत्वले दिनुपर्छ । यसलाई अहिले मुल्तबीमा राख्नेछौँ । निर्वाचनपछि छलफल गर्नेछौँ ।’

कोइराला र थापाका अभिव्यक्तिलाई इतर समूहकै नेताहरूले शंकाको दृष्टिले हेरेका छन् । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा गएर दिएको अभिव्यक्ति इतर समूहको धारणा मान्न नहुने सोही समूहका केही नेता बताउँछन् । इतरबाट समानुपातिकमा एक सय १० मध्ये ३२ जनाको र प्रत्यक्षतर्फ ९१ स्थानमा उम्मेदवारी दिएकामध्ये २९ स्थानमा उम्मेदवार छन् ।

इतर समूहका असन्तुष्ट नेता भूपेन्द्रजंंग शाही गगन–शेखर समूहमा लागेका इमानदार नेता–कार्यकर्ताको राजनीतिक भविष्यमाथि खेलबाड भएको बताउँछन् । उनले समूहको नेतृत्वले समानता र न्यायका नाममा नेता–कार्यकर्र्ता उकासेर त्यसको फाइदा लिएको बताए । ‘उहाँहरूले यही टिमका लागेका इमानदार नेता–कार्यकर्ता जोगाउन सक्नुभएन, संरक्षण गर्नुभएन । ४० प्रतिशतको टाउको देखाएर आफू मात्रै सुरक्षित हुनुभयो । पछि लाग्ने धेरैको बेहाल भएको छ,’ उनले भने, ‘वास्तवमा राजनीतिक हत्या नै भएको छ । युवा महामन्त्रीहरूले पनि त्यसो गर्न सक्नुभएन । उहाँहरू पनि आफू सुरक्षित हुनेबाहेक कतै बोलेको देखिएन । निर्वाचनपछि समीक्षा भन्नुको कुनै अर्थ रहँदैन ।’ 

टिकटमा आकांक्षा राखेका केन्द्रीय सदस्यहरू डा. गोविन्दराज पोखरेल, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, भूपेन्द्रजंंग शाही र अर्थविद् स्वर्णिम वाग्लेलगायत टिकट नपाउँदा असन्तुष्ट छन् । टिकट नपाएपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ मा बागी उम्मेदवारी दर्ता गराए । डा. कोइराला र महामन्त्री थापाले सशक्त रूपमा आफ्नो समूहको माग उठाउन नसकेको र आफू मात्र सुरक्षित हुने बाटो रोजेको इतर समूहका असन्तुष्ट नेताहरूको बुझाइ छ । ‘अहिले विवाद सम्पूर्ण रूपमा साम्य भएजसरी बोल्नु आफ्नो सुरक्षा खोजेजस्तो देखिन्छ,’ इतर समूहका एक केन्द्रीय सदस्य भन्छन् । 

इतर समूहका नेता डा. रिजालले डा. कोइरालाको अभिव्यक्ति र पार्टीमा टिकट वितरणबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । ‘यसमा मेरा कुनै कमेन्ट छैन, उहाँ (कोइराला)को अभिव्यक्तिबारे उहाँलाई नै सोध्नुहोला,’ उनले भने । डा. पोखरेल पार्टीभित्रको असन्तृष्टिबारे निर्वाचनपछि समीक्षा हुनुपर्ने बताउँछन् । ‘पार्टीमा असन्तुष्टि नभएको भन्ने होइन । तर, यो विषय उठान गर्ने उपयुक्त समय होइन । व्यवस्थापन गरेर अगाडि जानुपर्छ । निर्वाचनपछि समीक्षा हुन्छ,’ उनले भने । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अहिले पार्टीमा कुनै असन्तुष्टि नरहेको दाबी गर्छन् । ‘पार्टीमा उम्मेदवार चयनमा यो वा त्यो गुट भनेर छुट्याइएको छैन । सहमतिमा सबै निर्णय भएको छ,’ उनले भने, ‘गठबन्धनका कारण पनि कतिपय योग्य साथीलाई टिकट दिन सकिएन । अब हाम्रो ध्यान निर्वाचनमा परिणाम ल्याउनेमा केन्द्रित छ ।’

त्यसो त कांग्रेसमा टिकट वितरणलाई लिएर संस्थापन पक्षकै नेताहरू पनि असन्तुष्ट छन् । संस्थापननिकट केन्द्रीय सदस्य नैनसिंह महरले टिकट वितरणमा असन्तुष्टि जनाउँदै आगामी महाधिवेशनमा महामन्त्रीको तयारीमा केन्द्रित हुने घोषणा गरेका छन् । महर टिकट वितरणमा युवा पुस्तालाई नेतृत्वले विश्वास नगरेको बताउँछन् । ‘टिकट वितरणमा युवाको उपस्थिति दयनीय नै देखिन्छ । युवाको नेतृत्व गरेर टिकट वितरण कमिटीमा भएकाले यसमा वकालत गर्न सकेनन् । उनीहरू पुरानो नेतृत्वको छायामा रहे । युवाको उम्मेदवारीमा नेतृत्वमा रहेका नै बाधक बने, समीक्षा आवश्यक छ ।’

प्रत्यक्षमा संस्थापनका ६२ उम्मेदवार
शेरबहादुर देउवा, एनपी साउद, रमेश लेखक, भीष्मराज आङ्देम्बे, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, सुनीलबहादुर थापा, विजयकुमार गच्‍छदार, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा. नारायण खड्का, प्रदीप पौडेल, भीमसेनदास प्रधान, दुर्लभ थापा क्षेत्री, उदयशमशेर राणा, शिवप्रसाद हुमागाईं, मोहनबहादुर बस्नेत, महालक्ष्मी उपाध्याय (डिना), विश्‍वनाथ पौडेल, उमेश श्रेष्ठ, उमाकान्त चौधरी, सुजाता कोइराला, प्रकाशमान सिंह, वीरबहादुर बलायर, रमेश रिजाल, रामचन्द्र पौडेल, शशांक कोइराला, पुष्पा भुसाल (गौतम), बालकृष्ण खाण, किशोरसिंह राठोर, विनोदकुमार चौधरी, पूर्णबहादुर खड्का, डम्बरबहादुर खड्का, देउकुमार थेबे, खगेन्द्र अधिकारी, दीपक खड्का, सीता गुरुङ, सीताराम महतो, दिनेशकुमार यादव, चित्रलेखा यादव, महेन्द्र यादव, महेन्द्रकुमार राय, नागेन्द्र कुमार, पूर्णबहादुर तामाङ, श्यामकुमार घिमिरे, मोहन आचार्य, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, खमबहादुर गर्बुजा, अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, सुदीपनरसिंह राणा, देवेन्द्रराज कँडेल, ऐनबहादुर शाही ठकुरी, पुष्पबहादुर शाह, रामजनम चौधरी, डिल्लीराज पन्त, अजयकुमार चौरसिया, किशोरदत्त बराल, शंकर भण्डारी ।

प्रत्यक्षमा इतरका २९ उम्मेदवार
डा. शेखर कोइराला, बलबहादुर केसी, रामनाथ अधिकारी, अर्जुननरसिंह केसी,गगन थापा, धनराज गुरुङ ,सञ्जयकुमार गौतम, हृदयराम थानी, बद्री पाण्डे, दिलेन्द्रप्रसाद बडू, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, रामदेव साह (तेली), रामकृष्ण यादव, मो. फिरदोस अ‍ालम, देवप्रसाद तिमल्सेना, सुरेन्द्रप्रसाद चौधरी, राजेन्द्रकुमार केसी, सन्तोष चालिसे, राजेन्द्र बजगाईं, चन्द्रकान्त भण्डारी, राजु थापा, योगेश गौचन थकाली, ज्ञानबहादुर गाहा, प्रमोदकुमार यादव, सुरेन्द्रराज आचार्य, अभिषेकप्रताप शाह, दीपक गिरी, दिक्पालकुमार शाही ।

समानुपातिकमा इतरका ३२ नाम 
वसन्त भट्टराई, त्रैलोक्यप्रताप सेन, दामोदर गौतम, सरिता प्रसाईं, प्रतिमा न्यौपाने, उमा दाहाल, किरण कोइराला, मृदुला कोइराला, केशरमान रोका, कमोटकुमार फागू, दिनेश राई, आइन्द्रविक्रम केरुङ, लीलादेवी बोखिम (लिम्बू), कुसुम थापामगर, विन्दादेवी आले राणा, निर्मला तामाङ (बस्नेत), जीवन परियार, मुक्तबहादुर महतो, शान्ति विक, सीता मिजार, देविका नेपाली घिमिरे, सकलदेवी सुतियार, शम्भुप्रसाद चौहान, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत र सपना राजभण्डारी जोशीसहित तटस्थमा सहमति ।