![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/license2021-08-01-10-23-04.jpeg)
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स परीक्षण गर्ने कार्ड रिडर, स्याम कार्ड र एप्लिकेसन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रम गरेर विभागले प्रहरीलाई एक सय ९८ थान कार्ड रिडर, एक सय ९८ थान स्याम कार्ड र एक थान एप्लिकेशन सफ्टवेयर सिडी हस्तान्तरण गरेको हो ।
विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी अतिरिक्त महानिरिक्षक दिवेश लोहनीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अब स्मार्ट लाइसेन्स बाहकहरूको आधिकारिकता पहिचान गर्न सहज हुने महार्दिेशक डा. पाण्डेले बताए ।
विभागले २०१५ नोभेम्बरदेखि विद्युतीय चिपसहितको सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड) छाप्न सुरु गरेको छ । त्यसमा हालसम्म २९ लाख ४५ हजार लाइसेन्स छपाइ भइसकेको छ । सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट कार्ड वितरण गर्ने काम पनि भइरहेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालन भएको विभागको सुचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाखबराबरको सामग्री हस्तान्तरण भएको छ ।