मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक २ बुधबार o८:१४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रञ्जिताले जोगाउलिन् रेशमको विरासत ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार o८:१४:oo

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति, सत्तागठबन्धन र एमालेबीच त्रिपक्षीय भिडन्त

कैलाली, कञ्चनपुरसहित तराईका केही जिल्लालाई समेटेर थरूहट प्रदेश बनाउनुपर्ने माग गर्दै सुरु भएको थरूहट आन्दोलन सशक्त बन्दै थियो । संविधान जारी हुनु एक महिनाअघि ७ भदौ, ०७२ मा थरूहट पक्षले टीकापुरमा बृहत् जनप्रदर्शन गर्‍यो । प्रदर्शनले हिंसात्मक झडपको रूप लिँदा आठ प्रहरी र एक नाबालकसहित नौजनाले ज्यान गुमाए ।

टीकापुरमा थरूहट आन्दोलनको अगुवाइ गरिरहेका थिए, थारू नेता रेशम चौधरीले । घटनापछि उनी फरार भए । फरार अवस्थामै ०७४ को चुनावमा रेशम कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । तत्कालीन वामगठबन्धनका उम्मेदवारविरुद्ध करिब २१ हजार मतको भारी अन्तरले उनी विजयी पनि भए । निर्वाचित भएको तीन महिनापछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

पाँच वर्षयता प्रतिनिधिसभामा जनप्रतिनिधिविहीन रहेको यो क्षेत्र अहिले चुनावी चासोको केन्द्रमा छ । रेशम भारी मतान्तरसहित निर्वाचित भएको क्षेत्र नम्बर १ मा यसपालि उनकी पत्नी रञ्जिता श्रेष्ठ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन् । जेलमा रहेका रेशमको अग्रसरतामै रञ्जिताको अध्यक्षतामा गत वर्ष नागरिक उन्मुक्ति पार्टी गठन गरिएको थियो । श्रेष्ठ त्यही पार्टीकी अध्यक्ष हुन् । 

यस क्षेत्रमा श्रेष्ठसँगै गठबन्धनका तर्फबाट कांग्रेस नेता एवं पूर्वमन्त्री रामजनम चौधरी र एमालेबाट टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । रञ्जिताले आफूलाई रेशमको प्रतिनिधिका रूपमा उभ्याएकी छिन् । नागरिक उन्मुक्ति पार्टीले थारूसहित पिछडिएको समुदायको अधिकारसँगै टीकापुर घटनालाई चुनावी मुद्दा बनाएको छ । रञ्जिताले टीकापुर घटनामा निर्दोषलाई राज्यले जेल हालेको दाबी गर्दै यसलाई आफूले चुनावी मुद्दा बनाएको बताइन् ।

‘टीकापुर घटनालाई लिएर रेशमसहित केही साथीहरूमाथि राज्यबाट अन्याय भएको यहाँका मतदाताले बुझेका छन् । त्यो अन्यायविरुद्ध आवाज उठाउन हामी चुनाव लड्न लागेका हौँ,’ नयाँ पत्रिकासँग कुरा गर्दै उनले भनिन्, ‘रेशमजीको प्रतिनिधिका रूपमा म चुनावमा होमिएकी हुँ ।’ पिछडिएका वर्गको अधिकारकै लागि आफ्नो पार्टी गठन भएकाले मतदाताले आफूलाई विश्वास गर्ने रञ्जिताको विश्वास छ । बर्दियाबाट चुनाव लड्न चाहेका रेशमको उम्मेदवारी भने आयोगले अस्वीकृत गरेको छ ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामजनम चौधरीको पनि यो क्षेत्रमा बलियो प्रभाव छ । उनी यसअघि तत्कालीन क्षेत्र नम्बर २ र ३ बाट २०४८, ०५१, ०५६ र ७० मा निर्वाचित भएका थिए । गठबन्धनको सहमतिअनुसार क्षेत्र नम्बर ३ माओवादीको भागमा परेपछि चौधरीले क्षेत्र नम्बर १ मा टिकट पाएका हुन् । यो क्षेत्रमा उनको बलियो प्रभाव रहेको जोशीपुर गाउँपालिका तथा भजनीका दुईवटा वडा पर्छन् । एमालेका रावल टीकापुर नगरपालिकाका निवर्तमान मेयर हुन् । उनी मेयर हुँदा नगरको विकासका लागि गरेको कामलाई आधार बनाएर एमालेले मत माग्दै छ । यहाँ थारूसँगै अछामबाट बसाइँ सरी आएका मतदाताको बाहुल्य छ । थारू मतदाताको संख्या बढी रहेकाले कांग्रेसले नागरिक उन्मुक्तिलाई टक्कर दिन थारू समुदायकै नेतालाई अघि सारेको हो । 

प्रदेश सभा क्षेत्र २ मा द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको एमालेले १ मा जनता समाजवादी पार्टीका उम्मेदवार भवतराम चौधरी उम्मेदवारलाई सघाउँदै छ । गठबन्धनबाट प्रदेश सभा १ मा माओवादीका दीर्घ बिनाडी र २ मा कांग्रेस नेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल उम्मेदवार बनेका छन् ।

स्थानीय तहमा कुन पार्टीलाई कति मत ?    
क्षेत्र नम्बर १ मा पर्ने सबै स्थानीय तहका वडामा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा अगाडि छ । यद्यपि, कांग्रेस र माओवादीको मत जोड्दा भने गठबन्धन थोरै मतले अगाडि देखिन्छ । यो क्षेत्रमा वडाध्यक्षमा नागरिक उन्मुक्तिले १७ हजार एक सय ९३ मत पाएको थियो । कांग्रेसले ११ हजार ६ सय ४२, एमालेले १० हजार तीन सय ३२, माओवादीले ६ हजार नौ सय ५७, राप्रपाले चार हजार ६, जनता समाजवादी पार्टीले दुई हजार तीन सय दुई र एकीकृत समाजवादीले दुई हजार दुई सय ३२ पाएका थिए । 

वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यहाँ नागरिक उन्मुक्ति र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुनेछ । यद्यपि, उम्मेदवारको व्यक्तित्व, जातीय, क्षेत्रीय आदि कारणले निर्वाचन परिणाम प्रभावित हुनेछ । क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका तथा भजनीका दुई वडा र जानकी गाउँपालिकाका पाँच वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा टीकापुरमा उपमेयरबाहेक यी सबै तहको प्रमुख र उपप्रमुख नागरिक उन्मुक्तिले जितेको थियो ।

निर्वाचन जित्ने आ–आफ्नै दाबी
प्रतिनिधिसभा र प्रदेश सभामा टिकट वितरणप्रति केही नेताहरू असन्तुष्ट हुनुले नागरिक उन्मुक्तिलाई निर्वाचनमा केही असर पर्ने देखिन्छ । तर, रञ्जिता भने स्थानीय तहमा जस्तै यो निर्वाचनमा पनि रेशमको विरासत जोगाउन आफू सक्षम रहेको दाबी गर्छिन् । ‘थारू र पिछडिएको अन्य समुदायको हितमा हामीले उठाएका मुद्दाप्रति जनताको साथ र भरोसा पाएका छौँ,’ उनले भनिन् । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रावल भने संघ र प्रदेश दुवैतिर गठबन्धन स्पष्ट रूपमा अगाडि रहेको दाबी गर्छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन नमिल्नु र केही व्यवस्थापकीय कमजोरीले प्रमुख र उपप्रमुखमा पराजय व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर अहिले गठबन्धन एकताबद्ध र बलियो बनेको बताए । ‘बाहिर हल्ला चलाइएजस्तो कुनै पार्टीविशेषको एकलौटी यहाँ छैन । स्थानीय तहको मत हेर्दा पनि गठबन्धन स्पष्ट रूपमा अगाडि छ,’ रावलले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन नमिल्दा केही समस्या भएको हो । अहिले हामी एकताबद्ध छौँ ।’ नागरिक उन्मुक्तिप्रति लक्षित गर्दै उनले भावनासँग खेलेर राजनीति नहुने बताए । भावनासँग खेलेर राजनीति गर्नेलाई अब जनताले विश्वास नगर्ने उनको भनाइ छ । ‘स्थानीय तहको चुनावमा फरक अवस्था थियो । अब भावनासँग खेलेर मत लिन खोज्नेलाई मतदाताले विश्वास गर्दैनन्,’ रावलले भने, ‘अघिल्लो निर्वाचनजस्तो कुनै व्यक्ति र पार्टीविशेषप्रति मतदाताको क्रेज छैन ।’ थारू समुदायलाई लिएर जातिगत राजनीति गरेको आरोप नागरिक उन्मुक्तिलाई लाग्ने गरेको छ ।

पछिल्लो समय पार्टीको सांगठनिक अवस्था यो क्षेत्रमा बलियो बनेको र जसपाको पनि केही प्रभाव रहेकाले एमाले प्रतिस्पर्धामा अगाडि रहेको उक्त पार्टीका नेताहरूको भनाइ छ । ०७४ को निर्वाचनमा रेशम ३४ हजार तीन सय १४ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी वामगठबन्धनबाट एमालेका गरिमा शाहले १३ हजार चार सय ६ मत पाएकी थिइन् ।