१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक १ मंगलबार ११:११:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसम फेरिँदा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार ११:११:oo

मौसम परिवर्तनको समयमा मानिसमा विभिन्न रोगका संक्रमण देखिने गर्छन् । रुघाखोकी, एलर्जी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू यस समयमा बढ्ने गर्छ । विशेषगरी, मुटु, दम, प्रेसर, सुगर, थाइराइडलगायतका दीर्घरोगी, वृद्धवृद्धा, गर्भवती र बालबालिका सतर्क रहन जरुरी छ । वयस्कहरूको दाँजोमा उनीहरूको रोगप्रतिरोधी क्षमता केही कमजोर हुने भएकाले संक्रमणको असर धेरै देखिन्छ । मौसम परिवर्तनको समयमा देखिने केही समस्या यस्ता छन् :

फ्लु : जाडो सुरु भएसँगै धेरैमा फ्लुको संक्रमण देखिने गरेको छ । यस संक्रमणका कारण टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेलगायत हुन्छ । कतिपय अवस्थामा यसले निमोनियाजस्ता स्वास्थ्य जटिलता पनि निम्त्याउन सक्छ । त्यही कारण मास्क लगाउने, साबुनपानीले हात धुने, खोक्दा रुमाल प्रयोग गर्ने वा हातको बाहुलाले छोपेर खोक्ने गर्नुपर्छ । पिनासको समस्या हुनेहरू धुलोबाट बच्नुपर्छ । 

कोल्ड डायरिया : विशेषगरी, बच्चामा यो समस्या देखिन्छ । जाडोयाममा झाडापखाला देखिनुका धेरै कारण हुन सक्छन् । त्यसमध्ये दूषित पानीको प्रयोग मुख्य कारण हो । अर्को कारण रोटा भाइरस पनि हो । यसबाट बच्नका लागि बालबालिकालाई रोटा भाइरसको खोप लगाउनुपर्छ । बालखोप कार्यक्रमअन्तर्गत अहिले नेपाल सरकारले रोटा भाइरसको खोप बालबालिकालाई लगाइदिने गरेको छ । 

स्क्रब टाइफस : मौसम परिवर्तनको समयमा देखिने अर्को समस्या स्क्रब टाइफसको हो । यो रोग लागेपछि उच्च ज्वरो आउने, शरीरमा रातो–रातो दाना देखिने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिनेलगायत लक्षण देखिन्छन् । 

माइट अर्थात् किर्नाको टोकाइबाट यो रोग लाग्छ । यो किर्ना मुसामा बस्ने गर्छ । तपाईंको कोठामा मुसा आउँदा उसले शरीरमा किर्ना बोकेर ल्याएको हुन सक्छ । त्यही किर्ना कोठामा झरेर मानिसमा यो संक्रमण फैलन सक्छ । त्यसैले कोठालाई सफा राख्नुपर्छ । घाँस तथा भुइँमा बस्दा पनि यो किर्ना मानिसको सम्पर्कमा आउन सक्छ । त्यसैले पूरै बाहुला भएको लुगा लगाउने गर्नुपर्छ । 

छातीसम्बन्धी समस्या : जाडोमा छातीसम्बन्धी समस्या देखिन सक्छ । बाइकमा हिँड्नेहरूको छातीमा सीधा असर गर्ने भएकाले चेस्ट गार्ड लगाउन जरुरी हुन्छ । रातको समयमा बालबालिका र वृद्धवृद्धालाई न्यानो हुने गरी राख्नुपर्छ । आवश्यक काम नपरी बाहिर हिँडडुल गर्न हुँदैन । त्यस्तै, हुस्सु लाग्ने र शीत पर्ने मौसममा बिहान सबेरै मर्निङ वाकमा जानु पनि राम्रो हुँदैन । बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । यसले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ । त्यसैले हल्का घाम लागेर न्यानो भएपछि मात्रै मर्निङ वाकमा जानु उपयुक्त हुन्छ । 

जोर्नी दुख्ने : जाडोमा जोर्नी दुख्ने समस्या पनि धेरैमा देखिन्छ । यस्तो समस्याबाट बच्न शरीर तथा पैतालालाई न्यानो बनाइराख्नुपर्छ । 

के गर्ने, के नगर्ने ?
चिसोमा धेरै हिँडडुल गर्दा सावधानी अपनाउनुपर्छ । न्यानो कपडा लगाउनुपर्छ । धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ । यसले विभिन्न समस्या निम्त्याउन सक्छ । झोलिलो खानेकुरा तथा सागसब्जी प्रशस्त खानुपर्छ । डिप फ्रिजमा राखिएका मासु तथा अन्य खाद्यान्नको प्रयोग कम गर्नुपर्छ । फ्रेस खानेकुरा खानुपर्छ । दूषित पानीबाट झाडापखालालगायत संक्रमण फैलने भएकाले उमालेको वा स्वच्छ पानी मात्रै पिउनुपर्छ । निरन्तर ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा अर्थात् अक्सिजन लेभल घटेमा तत्कालै बिरामीलाई अस्पताल लैजानुपर्छ ।