१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Saturday, 28 September, 2024
२o७९ असोज २५ मंगलबार o८:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा प्रमुख दलहरूभित्र असन्तुष्टि चर्कियाे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार o८:१३:oo

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारको टिकट वितरणलाई लिएर सुदूरपश्चिममा प्रमुख दलहरूभित्र असन्तुष्टि चर्किएको छ । उम्मेदवार चयनको असन्तुष्टिले धेरैजसो क्षेत्रमा सत्तारूढ गठबन्धन र एमालेभित्र बागी उम्मेदवारी परेको छ । कतिपय ठाउँमा गठबन्धनभित्रै सिट बाँडफाँडमा असहमति जनाउँदै बागी उम्मेदवारी परेको छ ।

पार्टीले मूल्यांकन नगरेको भन्दै बाजुरामा एमालेका केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा एमालेले प्रदेश कमिटीका उपसचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

बझाङमा कांग्रेसका पूर्वजिल्ला सभापति हर्क जंगबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाको एउटा मात्रै संघीय निर्वाचन क्षेत्र एकीकृत समाजवादीलाई दिएकोमा असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्तारूढ गठबन्धनको केन्द्रमा भएको सहमतिअनुसार एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले उम्मेदवारी दिएका छन् । त्यस्तै, अछाममा कांग्रेस नेता चन्द्रप्रकाश ढुंगानाले क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता क्षितिज भण्डारीले विद्रोह गर्दै कैलाली ५ (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कांग्रेसकै प्रकाश देउवा उम्मेदवार छन् । पार्टीभित्र टिकट वितरणमा अन्याय गरिएको भन्दै यही क्षेत्रको प्रदेश सभा (क)बाट माओवादी नेता रमेश बस्नेतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कांग्रेसको बलियो पकड रहेको डोटीमा एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस नेता नरेन्द्र खड्काले उम्मेदवारी दिएका छन् । एउटा मात्रै क्षेत्र रहेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्दै छन् ।

कैलाली ३ मा कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दराज जोशीले गठबन्धनविरुद्ध प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । ३ मै माओवादीका छोटेलाल चौधरी र खगेन्द्र हमालले पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गएका छन् ।

कैलाली ५ मा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेका छन् । ०७० मा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट उनी कांग्रेसबाट निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा यस क्षेत्रबाट लडेकी कांंग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कांग्रेसले उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको थियो । 

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कतिपय नेता, कार्यकर्ताले पार्टी त्यागेका छन् । अन्तिम समयमा आफ्नो टिकट खोसिएको भन्दै एमालेका प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज बास्तोलाले सोमबार पार्टी त्याग गरेको घोषणा गरेका छन् । टिकट वितरणमा इमानदारलाई पाखा लगाइएको भन्दै एमाले प्रदेश कमिटी सदस्य मानबहादुर रावलले पनि यसअघि पार्टी त्यागको घोषणा गरेका छन् ।