Skip This
संघ र प्रदेश गरी रोल्पामा तीन पदका लागि १५ उम्मेदवार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Monday, 08 July, 2024
२o७९ असोज २४ सोमबार १७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संघ र प्रदेश गरी रोल्पामा तीन पदका लागि १५ उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १७:o७:oo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि रोल्पाको एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र गरी तीन क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय लिवाङमा दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिनिधिसभा सदस्यका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएको छ। जसमा सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका वर्षमान पुन ‘अनन्त’, एमालेका पूर्ण बुढामगर, नेपाल मजदुर किसान पार्टीका नातिभाइ ह्योम्बा, राप्रपा नेपालका रामबहादुर वली क्षेत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राप्रपाका लीला रावलले उम्मेदवारी दर्ता गरेकाे मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले जानकारी दिए।

प्रतिनिधिसभा सदस्यका लागि पाँचजनाको उम्मेदवारी परे पनि मुख्यतः सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उपमहासचिव पुन र एमालेका बुढामगरको प्रतिस्पर्धा हुने देखिन्छ। यसअघिका निर्वाचनमा सबै दल मिल्दा पनि माओवादी विजयी बन्दै आएको रोल्पामा यसपटक गठबन्धनको हिसाबले नेपाली कांग्रेसको पनि साथ छ। वर्षमानविरुद्ध एमालेले रामबहादुर थापासँगै एमाले भएका पूर्वमाओवादी पूर्ण बुढामगरलाई उम्मेदवार बनाएको छ।

यता प्रदेश सभा ‘क’मा सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रका जोखबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका कमलबहादुर बुढाथोकी, राप्रपा नेपालका गन्जबहादुर शाही र राप्रपाका पदमबहादुर थापाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी विजयी भएको रोल्पा क्षेत्र ‘क’मा लामो समय माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिवका रूपमा रहेका जोखबहादुर महरा उम्मेदवार छन्।

प्रदेश सभा निर्वाचन रोल्पा क्षेत्र ‘ख’मा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका छन्। यहाँ नेकपा (एमाले)का प्रेमबहादुर घर्तीमगर, राप्रपा नेपालका केशरबहादुर पुन र राप्रपाका सेते दमाईंले उम्मेदवारी दिएका छन् भने दीपेन्द्रकुमार पुनमगर र नवराज डाँगीको स्वतन्त्र उम्मेदवारी परेको छ। 

यसअघिको निर्वाचनमा गठबन्धनमा रहेका जुन दलले जितेका छन् त्यसैले टिकट पाउने चर्चा भए पनि माओवादीले जितेको ठाउँमा कांग्रेसलाई टिकट दिएको भन्दै माओवादी नेता कार्यकर्ता असन्तुष्ट बनेका छन्। रोल्पाको सन्दर्भमा विशिष्ट अवस्था भएको भन्दै उनीहरूले स्थानीय निर्वाचनमा गठबन्धनलाई अस्वीकार गर्दै माओवादीविरुद्ध मोर्चाबन्दी गर्ने उम्मेदवारलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्। माओवादीविरुद्ध खरो रूपमा प्रस्तुत हुने अमरसिंह पुनले टिकट पाएपछि माओवादी वृत्तमा व्यापक गुनासो बढ्न थालेको छ।

पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी
नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुन ‘सिजल’ले पार्टी परित्यागको घोषणा गरेका छन्। आइतबार रोल्पा सदरमुकाम लिवाङमा पत्रकार सम्मेलन गरी पार्टीको कुनै पनि पदमा नरहने गरी उनले राजीनामा घोषणा गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै पुनले जिल्लाको मनोभावनाविपरीत गठबन्धनको नाममा भएको सहमति अस्वीकार्य भएको बताए। २०७४ को निर्वाचनमा जहाँ जसले जितेको छ त्यही पार्टीको तर्फबाट उम्मेदवारी दिने र गठबन्धनभन्दा बाहिरको सिटमा मात्र गठबन्धन गर्ने चर्चा भए पनि अर्कै निर्णय भएर आउँदा माओवादी र कांग्रेस दुवैतर्फ असन्तुष्टि बढेको बताए। उनले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, जनक्रान्तिका घाइते अपांग संगठन र अपांगता संगठन नेपालको इन्चार्जको जिम्मेवारीबाट समेत राजीनामा दिएको घोषणा गरेका छन्।

यसअघि लुम्बिनी प्रदेश सांसदसमेत रहेका पुनले स्वतन्त्रबाट रोल्पा निर्वाचन क्षेत्र (ख) प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन्। समर्थक र शुभेच्छुकको मनोभावनाअनुसार पार्टीबाट राजीनामा दिएर उम्मेदवारी दिएको उनले बताए। स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई अस्वीकार गरेको तर अहिले आफ्नो विजयका लागि गठबन्धनबाट उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसमा पनि असन्तुष्टि बढेको छ। नेपाली कांग्रेसका माडी गाउँपालिका सभापतिसमेत रहेका नवराज डाँगीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

ad
ad
ad
ad