Skip This
देशभरमै ७७ वर्षयताकै सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा, तोडिए सबै रेकर्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
कञ्चपनुरको पुनर्वास नगरपालिका– ५ सिमरी गाउँ पसेको दोदा नदीको बाढी । तस्बिर : मोहन विष्ट
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २४ सोमबार १२:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभरमै ७७ वर्षयताकै सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा, तोडिए सबै रेकर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १२:५७:oo

नेपालमा वर्षा मापन हुन थालेयता सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो स्टेसनमा पछिल्लो २४ घन्टा (सोमबार बिहानसम्म)मा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै हो।

स्वचालित रहेको यो स्टेसन २४ फेब्रुअरी २०२४ मा मात्र स्थापना भएकाले यस क्षेत्रमा यसअघि कतिसम्म वर्षा भएको थियो भनेर तथ्यांक छैन। तर, मौसमविद्हरूले भने दोधारा क्षेत्रमा परेको वर्षा नै नेपालका लागि सबैभन्दा धेरै रहेको बताएका छन्। दोधारानजिकै रहेको महेन्द्रनगरको सबैभन्दा धेरै वर्षा ५ अक्टुबर २००९ मा (३०९.५ मिलिमिटर) हो।

‘यसअघि मकवानपुरको वर्षा नै सबैभन्दा धेरै थियो, कञ्चनपुरमा त्योभन्दा पनि बढी पानी परेको छ,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमन रेग्मीले भने।

यसअघि १३ अगस्ट २०१७ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो। मकवानपुरपछि सबैभन्दा धेरै वर्षा रेकर्ड १५ अगस्ट २०१४ मा कैलालीको चिसापानीमा (४९९.८ मिलिमिटर) रेकर्ड भएको थियो।

आइतबार कञ्चनपुरकै हनुमाननगर र सुन्दरपुरमा पनि भीषण वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले गत शुक्रबारदेखि आइतबारसम्म पश्चिमकेन्द्रित भीषण वर्षाको आकलन गरेअनुसार नै यसपटक पानी परेको थियो। 

आइतबार नेपाल–भारत सीमा क्षेत्र (उत्तरप्रदेश र कञ्चनपुर)मा शक्तिशाली न्यूनचापीय क्षेत्र विकसित हुँदा एक्कासि निकै ठूलो पानी परेको हो। ‘दोधारा क्षेत्रमै न्यूनचापीय क्षेत्र बनेको थियो, यसले निकै ठूलो पानी परेको हो,’ मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यो प्रणालीले जलवाष्पयुक्त हावा सोहाेरेर ल्यायो, एकै ठाउँमा निकै ठूलो पानी पर्‍याे।’

तर, न्यूनचापीय क्षेत्रको असर क्रमशः घट्दै जाने उनले बताए। यस क्षेत्रमा क्लाउड ब्रस्टको आकलनसमेत गरिएको छ। तर, जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले पुष्टि गरिसकेका छैनन्। ‘क्लाउड ब्रस्ट वा अन्य कारणहरू पनि हुन सक्छन्, तर यसबारे हामी अध्ययनकै क्रममा छौँ,’ मौसमविद् अधिकारीले भने।

नेपालमा १७९ वटा वर्षा मापन केन्द्र मानव सञ्चालित छन् भने स्वचालित स्टेसन १२२ वटा छन्।