Skip This
बाढी विस्थापितलाई गाँसबासको सकस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
बाढीका कारण विस्थापित भएपछि हुलाकी राजमार्गमा त्रिपाल टाँगेर बसेको सोनाफाँटाका फग्गा चौधरीको परिवार । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका ।
२o८१ असार २४ सोमबार २१:४५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बाढी विस्थापितलाई गाँसबासको सकस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार २१:४५:oo

घर डुबानमा पर्दा भजनी नगरपालिका–८, सोनाफाँटाका फग्गा चौधरी परिवारसहित हुलाकी राजमार्गको सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्। 
अविरल वर्षाले नदीमा आएको बाढी बस्ती पसेपछि आइतबार बेलुकी उनी पाँचजनाको परिवारसहित गाईवस्तु लिएर हुलाकी सडकमा सरेका हुन्।

राजमार्गमा आएदेखि घर पस्न नपाएका उनी घरभित्र बाढीले कति क्षति गर्यो भन्ने चिन्तामा छन्। तत्काल आवश्यक केही खाद्यान्न, लुगाफाटो र खाना बनाउन भाँडाकुडाबाहेक सबै सामान घरभित्रै रहेको उनले बताए।

‘बस्ती पूरै जलमग्न छ, बाढी नघट्दासम्म घर फर्कन सकिँदैन,’ उनले भने, ‘ज्यान जोगाउनका लागि भए पनि दुःखसुख गरेर सडकमा बसिरहेका छौँ।’

​बाढीका कारण विस्थापित भजनी–८, खल्लाटोलका देवीकला भण्डारीको परिवार पनि हुलाकी सडकमै बसिरहेको छ। घरबाट ल्याएको अन्न सडकमै पकाएर छाक टारिरहेको उनले बताइन्। 

‘सडकमा खाना बनाउन अप्ठ्यारो हुन्छ, त्रिपाल पुरानो छ, धेरै पानी पर्दा चुहिन्छ,’ भण्डारीले भनिन्, ‘बालबच्चा लिएर सडकमा बस्दा हामीलाई धेरै समस्या भएको छ।’ 

डुबानबाट प्रभावित वृद्धवृद्धा, बालबालिका, अशक्त र एकल महिलालाई गाउँनजिकै रहेको सुरक्षित घर (सेफ हाउस) मा सारिएको उनले बताइन्।

तीनदेखिको अविरल वर्षाका कारण आएको बाढीबाट भजनी नगरपालिकाका विभिन्न वडामा दर्जनौँ परिवार विस्थापित भएका छन्। 

उनीहरू हुलाकी राजमार्ग, स्थानीय विद्यालय र बाढीका वेला विस्थापितलाई बस्न सरकार र गैरसरकारी संस्थाले बनाएका सुरक्षित घरमा बसिरहेका छन्। विस्थापितले कुनै पनि प्रकारको राहत पाउन सकेका छैनन्।

​‘सहयोगका नाममा कसैले पिउने पानीसमेत दिएको छैन, कसैले घरबाट अन्न बोकेर बोकेर ल्याएको अन्न पकाएर छाक टारिरहेका छन्,’ हुलाकी सडकमै बसिरहेका बाढीपीडित गणेश विकले भने, ‘अन्नपात बोक्न नपाएकाहरूलाई आफन्तले खानेकुरा पकाएर दिइरहेका छन्।’ 

वर्षाको पूर्वसूचनाले बाढीबाट धेरै क्षति भने हुन नपाएको उनले बताए। विस्थापित भएकाहरूले पनि आवश्यक खाद्यान्न, लुगाफाटो बोकेका उनले बताए।
 वडा नम्बर ८ का धेरैजसो बस्ती पथरैया, मोहना र काँडा नदीले तीनतिर घेरिएका छन्। बर्खामा नदीमा बाढीको सतह बढेपछि बस्ती डुबानमा पर्छन्।

​तीन दिनदेखि विस्थापित भजनी–५, लालबोझीकी कोफिला कडायतले पनि राहत नपाएको गुनासो गरिन्। उनले परिवारका १२ जनामध्ये आधा हुलाकी सडकमा र आधा आफन्तको घरमा आश्रय लिइरहेको बताइन्। 

आफन्तले नै खाना बनाएर दिइरहेको उनले बताइन्। ‘बाढीले पूरै जलमग्न भएकाले घर जान सकिएको छैन,’ कडायतले भनिन्, ‘हरेक बर्खामा बाढीले समस्या भोग्नुपर्छ, जाने ठाउँ पनि छैन।

भजनी नगरपालिकाले सोमबार बेलुकीसम्म तीन सय १३ परिवार विस्थापित अवस्थामा रहेको जनाएको छ। 

नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिबाट संकलित विवरणअनुसार नौवटै वडामा तीन सय १३ परिवार विस्थापित भएर हुलाकी सडक, उँचो घर, विद्यालय र डुबानमा नपरेका आफन्तकहाँ बसिरहेकाे बताए।

उनले कतिपय ठाउँमा विस्थापितलाई खानेपानी दिनेबाहेक अन्य राहत दिन नसकिएको बताए। वडा नम्बर १ ५ र ८ का अधिकांश बस्ती डुबानमा परेपछि सुरक्षा निकायले डुंगा चलाएर उद्धार गरेको नगरपालिकाले जनाएको छ। 

विस्थापितको संख्या ठूलो भएकाले नगरपालिकाले एक्लैले राहत दिन सक्ने अवस्था नरहेको नगर प्रमुख केवल चौधरीले बताए।

​बाढीले कैलारी गाउँपालिकामा दुई सय १८ परिवार प्रभावित भएका छन्। गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले प्रभावितहरू सोमबार दिउँसोपछि घर फर्किएको बताए। 

कैलारी–५, मनिकापुरमा बाढीमा फसेका १० जनालाई सशस्त्र प्रहरीले आइतबार राति डुंगाबाट उद्धार गरेको थियो। टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराले नगरमा बाढीपीडित ६० परिवार सोमबार बेलुकी घर फर्केकाे बताए।
​ 
जिल्ला प्रशासन कार्यालय कैलालीले भने आइतबार राति भएको भीषण वर्षाका कारण जिल्लाभरि करिब साढे तीन सय परिवार विस्थापित भएका जनाएको छ।

 नदी, खोलाहरूमा आएको बाढीले बस्ती डुबानमा परेपछि भजनी नगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न बस्तीमा सुरक्षाकर्मीले डुंगा चलाएर पीडितको उद्धार गरेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो।

बाढीबाट साढे तीन सय परिवार विस्थापित भएकोमा सोमबार बेलुकीसम्म करिब ८८ परिवार घर फर्कन नसकेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनका अनुसार विस्थापितमध्ये अधिकांश भजनीका छन्।

​प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भजनी नगरपालिकामा केही परिवारबाहेक विस्थापित सबै घर फर्केकाे जानकारी आएको बताए। प्रभावित क्षेत्रमा सोमबार अनुगमन गरेका उनले भजनीमा हुलाकी सडकमा त्रिपालहरू राखेका देखिए पनि मान्छे भने नभेटिएका बताए।

​‘सडकमा पालहरू राखिएका थिए, हामी जाँदा मान्छे थिएनन्,’ उनले भने, ‘वर्षा रोकिएर पानी घटेपछि धेरै परिवार घर फर्केका छन्।’ विस्थापितलाई खान र बस्नको व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। 

उनले तीनवटै सुरक्षा निकाय रातभर बाढीपीडितको उद्धारमा खटिएको उल्लेख गर्दै सम्भावित विपदमा खटिन सुरक्षा निकाय तयारी अवस्थामा राखिएको बताए।

 ‘स्थानीय तहहरूलाई पीडितले भोकभोकै बस्नुपर्ने अवस्था नहोस् भनेका छौँ,’ उनले भने, ‘स्थानीय तहले माग गरे प्रशासनले पनि राहतमा सहयोग गर्छ।’