![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Kanchanpur_badhi2022-10-07-09-13-20.jpeg)
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँका बस्ती डुबानमा पर्न सक्ने अवस्था सिर्जना भएको छ।
कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ।
विभागको कञ्चनपुर शान्तिपुर बेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घन्टामा एक सय २५ मिमी, ६ घन्टामा ८३ दशमलव आठ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षा मापन भएको छ।
कार्यालय प्रमुख सञ्जय साहले भने, ‘आजदेखि वर्षा गराउने प्रणाली केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ।’
यस महिनाको अन्तिमसम्म वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझै एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ।