प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँड गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बालुवाटारमा सुरु बैठक जारी छ । बैठकले पाँचदलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ ।
निर्वाचन क्षेत्र बाँडफाँडका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक सुरु भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँड गरी दलले उम्मेदवार तोक्नुपर्छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्व सहभागी रहेको बताइएको छ ।