मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १८ मंगलबार २१:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डलाई चितवन नछोड्न पाँच दलको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १८ मंगलबार २१:५२:००

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आसन्न निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिन पाँच राजनीतिक दलले आग्रह गरेका छन् । प्रचण्डले चितवन छाडेर अन्यत्रबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै पाँच दलले चितवन नछाड्न आग्रह गरेका हुन् । 

मंगलबार बसेको गठबन्धनको जिल्लास्तरीय बैठकले माओवादी अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार नबन्न आग्रह गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

चितवनका माओवादी नेताहरूले पनि प्रचण्डलाई जिल्ला नछाड्न आग्रह गरिरहेका छन् । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अब निर्वाचन नलड्ने घोषणा गरेपछि प्रचण्ड गोरखा २ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । 

कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो । बैठकमा माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जसपाका प्रेमराज भुजेललगायत जिल्लाका १८ नेता सहभागी थिए । 

बैठकमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रममन्त्री घनश्याम दाहाल, राष्ट्रिय सभाका सदस्य नारायणप्रसाद दाहाललगायतको पनि उपस्थिति थियो ।