१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १५ शनिबार o८:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रसचिव पौड्याल क्यानडामा : नेपालमा भिसा सेन्टर स्थापना गर्न क्यानडालाई आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार o८:१३:oo

परराष्ट्रसचिव भरतराज पौड्यालले नेपालको जलविद्युत्लगायत क्षेत्रमा लगानीका लागि क्यानडालाई आग्रह गरेका छन् । ओटावामा बिहीबार बसेको नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्रसचिव पौड्यालले क्यानडाका लागि भिसा लगाउन नेपालमा भिसा सेन्टर स्थापना गर्न पनि आग्रह गरेका छन् । क्यानडास्थित नेपाली राजदूतावासका अनुसार बैठकमा परराष्ट्रसचिव पौड्याल र क्यानडाका ग्लोबल अफेयर्सका सहायक उपमन्त्री पल थोपिलले आ–आफ्नो प्रतिनिधिमण्डलको गरेका थिए । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर परराष्ट्रसचिव पौड्याल बैठकका लागि क्यानडा पुगेका हुन् । 

वार्तामा विकास सहयोग, व्यापार तथा लगानी, शिक्षा, संस्कृति र पर्यटनका साथै वातावरण र जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । परराष्ट्रसचिव पौड्यालले नेपालको विकास प्राथमिकता, अल्पविकसित स्थानबाट नेपाल स्तरोन्नति हुन लागेको एवं संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्न नेपालले गरेका प्रयासबारे जानकारी दिएका थिए । 

क्यानडाले नेपाललाई स्रोत र प्रविधिका हिसाबले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । क्यानडाली पक्षले नेपालको विकास कार्यमा सहयोग गर्न तत्पर रहेको वचन दिएको नेपाली दूतावासले जनाएको छ । ‘परराष्ट्रसचिवले नेपालको जलविद्युत्मा क्यानडाबाट थप लगानी र प्रविधिको आवश्यकता रहेको बताउनुभएको छ । ऊर्जा, जलवायु परिवर्तन र संयुक्त राष्ट्र शान्ति स्थापनाजस्ता साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत विभिन्न बहुपक्षीय मञ्चमा निरन्तर सहकार्य गर्ने विषयमा विचार आदानप्रदान भएको थियो,’ नेपाली राजदूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । 

परराष्ट्रसचिव पौड्यालले वैशाखमा सम्पन्न स्थानीय निर्वाचन र आगामी प्रदेश र संघको निर्वाचनबाट नेपालमा लोकतन्त्र थप सुदृढ हुँदै गरेको जानकारी दिएका थिए । उनले कोभिड– १९ महामारीको कठिन समयमा नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएकोमा क्यानडालाई धन्यवाद दिएका थिए । 
‘क्यानडामा बढ्दो नेपाली डायस्पोरा र दुई देशबीचको बढ्दो सम्पर्कलाई ध्यानमा राख्दै परराष्ट्रसचिव पौड्यालले नेपालमा क्यानडाको प्रतिनिधित्व स्थापना गर्ने र काठमाडौंमा भिसा जारी गर्ने व्यवस्था मिलाउन क्यानडाली पक्षलाई आग्रह गर्नुभयो,’ राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, परराष्ट्र मन्त्रालय र क्यानडास्थित नेपाली राजदूतावासका अधिकारी सहभागी थिए । क्यानडाली प्रतिनिधिमण्डलमा ग्लोबल अफेयर्स क्यानडाका महानिर्देशक (दक्षिण एसिया)लगायत अधिकारी र दिल्लीस्थित कयानडाली दूतावासका डेपुटी चिफ अफ मिसन सहभागी थिए । सचिवस्तरीय संयन्त्रको अर्को बैठक दुई वर्षपछि काठमाडौंमा बस्ने सहमति भएको छ ।