१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार २१:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः हाँडीखोला र सहिद स्मृतिको अंक बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार २१:o२:oo

हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा जित निकाल्दै मनहरीको हाँडीखोला युथ क्लब र बागमतीको सहिद स्मृति क्लबले समान १४ अंक बनाएका छन्। समूह चरणको अन्तिम खेल खेलेका दुवै टोलीले ६ खेलमा ४ जित र २ बराबरी गर्दै समान १४ अंक बनाएका हुन्। 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग चरणको अन्तिम खेलमा हाँडीखोलाले एफसी चाइनाक्वाटरलाई ६–० ले हरायो। हाँडीखोलाको जितमा सन्जीव गिरीले ह्याट्रिक गर्दा उत्सव खड्का, अञ्जन थिङ र मधुसुदन अर्यालले समान एक-एक गोल गरे।

चाइनाक्वाटरले केही मौका पाए पनि हाँडीखोलाका डिफेन्डर पुस्कल भट्ट र सुजन राईले उत्कृष्ट बचाउ गरेका थिए। ह्याट्रिक गरेका हाँडीखोलाका गिरी खेलको म्यान अफ द म्याच घोषित भए।

आइतबारै भएको दोस्रो खेलमा सहिद स्मृतिले प्रगतिशील युवा क्लब हेटौँडा १७ लाई ३–० ले हराएको छ। सहिद स्मृतिको जितका लागि उप्रान्त आले, सुवास थिङ र विकल मगरले समान एक-एक गोल गरेका हुन्। 

जारी लिगमा सोमबार लिग चरणको एक खेल हुनेछ भने सोमबारबाटै नकआउट चरणको खेल हुने प्रतियोगिता संयोजक एवं मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए। 
उनका अनुसार सोमबार क्वाटरफाइनलको पहिलो खेलमा एफसी पोताला र न्यू कम्बाइन क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै, सोमबार नै हुने दोस्रो खेलमा सक्षम युवा क्लब नेवारपानी र पदमपोखरी क्लब भिड्ने संयोजक लामाले जानकारी दिए। सोमबार हुने दुवै खेल हेटौँडा ५ स्थित पिप्ले क्याम्प रंगशालामा हुने उनको भनाइ छ।