काठमाडौं र ललितपुर महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न केही वर्षअघि नै प्रतिबन्ध लगाएको हो । महानगरले धूम्रपान अर्थात् सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाए पनि सर्वसाधारणले मनमौजी पारामा चुरोट तान्दै हिँडिरहेको दृश्य सडक तथा सार्वजनिक स्थानमा प्रशस्तै देखिन्छ । विशेष गरी पशुपति क्षेत्र, पाटन दरबार स्क्वायर, स्वयम्भू क्षेत्रजस्ता पर्यटकीय एवं सार्वजनिक स्थानमा चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको दृश्य अझ बढी देखिन्छ । दुई साताअघि अर्थात् १ असोजदेखि काठमाडौं महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा पुनः प्रतिबन्ध लगाएको छ । यसपटक भने महानगरले नियमित अनुगमन पनि गरिरहेको जनाएको छ ।
महानगरका अनुसार भिडभाडयुक्त क्षेत्रमा नियमित अनुगमन भइरहेको र सुर्तीजन्य पदार्थ सेवन गरेको पाइए प्रहरीले कारबाहीसमेत गरिरहेको छ । महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बेच्ने पसलहरूसमेत महानगरले हटाउँदै आएको छ । नेपाल प्रहरीले समेत प्रत्यक्ष निगरानी गर्दै आएकाले अब पक्कै नियन्त्रित हुनेछ ।’ नगर प्रहरीले फुटपाथमा सामान बिक्री गर्न नदिने भने पनि सार्वजनिक स्थाननजिकका पसलमा सुर्तीजन्य पदार्थ भने बिक्री भइरहेको छ ।
यस्तो छ कानुनी व्यवस्था
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, ०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था । एनको दफा ५ मा सार्वजनिक निकायलाई धूम्रपान तथा सुर्ती सेवन निषेधित क्षेत्र तोक्नु पर्ने व्यवस्था छ । सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवन गर्न प्रतिबन्ध लगाए पनि पूर्णतया पालन भएको पाइँदैन ।
महामारीमा धूम्रपानको असर झन् बढी
कोभिड महामारीको क्षति बढ्नुमा एउटा कारण धूम्रपान पनि बनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धूम्रपनाले श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलाउन थप मद्दत गरेको विभिन्न अध्ययनले उल्लेख गरेका छन् । कोरोना भाइरसले फोक्सोलाई प्रत्यक्ष क्षति पुर्याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको फोक्सोमा समस्या पहिले नै भइसकेको हुने भएकाले झन् जोखिम बढाइरहेको मन्त्रालयले जनाएको हो ।
बिएमसी पब्लिक हेल्थले गरेको सर्वेक्षणले स्वस्थ व्यक्तिको तुलनामा धूम्रपान गर्ने व्यक्तिलाई १२ प्रतिशत बढी कोभिड संक्रमणको गम्भीर समस्या देखाएको थियो । अगस्ट २०२१ मा गरेको यो सर्वेक्षणमा कोभिडका कारण गम्भीर बिरामी परेका अर्थात् फोक्सोलगायतका अंगमा दीर्घकालीन असर देखिने जोखिमसमेत बढी देखिएको थियो ।
धूम्रपानले कोभिड महामारीलाई सघाउ पुर्याइरहेको चिकित्सकहरूसमेत बताउँछन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार धूम्रपानले फोक्सो, कलेजोलगायतका महत्वपूर्ण अंगमा पहिले नै असर गरिसकेको हुने र कोभिड भाइरसले सहजै क्षति पुर्याउने हुन्छ । उनी भन्छन्, ‘महामारीमा मात्रै होइन, धूम्रपानले सम्रग स्वास्थ्य प्रणालीमा नै असर गर्छ । दीर्घकालीन रोगका मुख्य कारणमध्ये धूम्रपान प्रमुख हो ।’धूम्रपानका कारण हृदयाघात, क्यान्सर, मधुमेह, फोक्सो र श्वासप्रश्वाससम्बन्धी समस्या, मुख, दाँत र गिजामा क्यान्सर वा संक्रमण, छालामा संक्रमण अथवा चाउरीपन, गर्भावस्था जोखिमपूर्ण हुनेजस्ता विभिन्न जटिलता निम्त्याउने चिकित्सक बताउँछन् ।
१५ प्रतिशतको मृत्यु सुर्तीजन्य पदार्थ सेवनबाट
नेपालमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवनले कुल मृत्युको करिब १५ प्रतिशत ओगट्ने गरेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार सुर्तीजन्य पदार्थ सेवनबाट निम्तिने रोगका कारण हुने मृत्युदर प्रत्येक वर्ष बढ्दै गएको छ ।
केन्द्रको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । जसमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार सुर्तीजन्य पदार्थ सेवन गरेर हरेक वर्ष २७ हजार एक सय ३७ जनाले ज्यान गुमाइरहेका छन् ।
सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्य जटिलतासँगै आर्थिक भारसमेत थोपर्र्दै आएको छ । आर्थिक ऐन अध्यादेश ०७८ अनुसार स्वास्थ्य जोखिम करका रूपमा सरकारले विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रतिखिली २५ पैसा, चुरोट र सिगारमा प्रतिखिली ५० पैसा र खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले कर संकलन गर्छ । डब्लुएचओले सुर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउनुपर्ने सुझाव दिँदै आएको छ । नेपालमा अहिले ३८ प्रतिशतको हाराहारीमा कर लगाइएको छ ।
यस्तै, डिसेम्बर २००३ मा नेपालले विश्व स्वास्थ्य संगठनको सुर्ती नियन्त्रण महासन्धि (डब्लुएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल–डब्लुएचओ एफसिटिसी)मा हस्ताक्षर गरिसकेको छ । यो महासन्धिलाई संसद्ले २१ कात्तिक ०६४ मा अनुमोदनसमेत गरिसकेको छ ।