मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १४ शुक्रबार २०:१२:००
Read Time : > 2 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दुर्गामूर्ति र रामलीलाले फर्कायाे नेपालगन्जमा दसैँको रौनक [तस्बिरहरू] 

Read Time : > 2 मिनेट
२०७९ असोज १४ शुक्रबार २०:१२:००

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनकता छाएको छ। 

एकाबिहानैदेखि अबेर रातसम्म भजन, कीर्तन हुने गरेको छ। घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजन, कीर्तनमय भएका छन्। 

दिनभर व्रत बसेका भक्तजनहरू बिहान–बेलुका भजन, कीर्तनमा सहभागी भएपछि यहाँका गल्ली, चोक, चौराह साह्रै रसिलो भएको नेपालगन्ज उपमहानगरपालिका– ९ बाँकेगाउँका श्यामानन्द कुर्मीले बताए। 

उनले घटस्थापनाका दिनदेखि रात पनि दिनजस्तै चकमन्न भएको बताए ‘मध्यरातसम्म भजन, कीर्तन हुन्छ। एकाबिहानै फेरि घन्टी, लाउडस्पिकरमा भजन, कीर्तन बज्न सुरु भइहाल्छ,’ उनले भने, ‘मुख्य बजार दुलहीझैँ सिँगारिएको छ । रातको समयमा बजार घुमिरहुँजस्तो लाग्छ।’
 
बाँकेमा करिब चार सय दुर्गामूर्ति स्थापना 

बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा करिब चार सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनले नेपालगन्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको बताए। ‘यहाँ त सडकमै दुर्गामूर्ति स्थापना गरी पूजा–अर्चना हुँदोरहेछ,’ आश्चर्य मान्दै उनले भने, ‘आवत–जावत बन्द हुने गरी मूर्ति स्थापना गर्दा यात्रु र सवारीचालकलाई समस्या भएको छ।’

कोहलपुर र नरैनापुर क्षेत्रमा मात्र एक सय सातवटा मूर्ति स्थापना गरिएको बाँके प्रहरीले जनाएको छ। 

खजुरा, बैजनाथ, राप्तीसोनारीमा पनि दुर्गामूर्ति स्थापना गरिएका छन्। नेपालगन्जको त्रिभुवन चोकको उत्तर, दक्षिण र पूर्व गरी चार ठाउँमा दुर्गामूर्ति स्थापना गरिएको उनले बताए।

‘नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन। एउटै टोलमा दुई–तीनवटा मूर्ति स्थापना गरिएको छ,’ डिएसपी घर्तीले भने। 

नेपालगन्जका गल्ली–गल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए। ‘रातको समयमा मूर्तिमाथि केही हुन सक्ने खतरालाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालन भएका छन्,’ उनले भने। 

रामलीलाले झनै बढायो दसैँको रौनक

यसैबीच, कोरोनाका कारण बन्द भएको रामलीला महोत्सव यस वर्ष लागेको छ। घटस्थापनादेखि नेपालगन्जस्थित रामलीला मैदानमा सुरु भएको रामलीला मञ्चन गर्न भारतको मथुराबाट आएको नाट्य समूहले कथा मञ्चन गरेपछि नेपालगन्जमा दसैँको रौनक झनै बढेको छ। 

उनले यस वर्ष रामलीला हेर्नेको संख्या तीन गुणा बढेको बताए। उनले सर्वसाधारण नागरिक गाउँ–गाउँबाट ट्याक्टर चढेर आएको बताए। ‘कोरोनाका कारण दुई वर्ष महोत्सव नलागेकोले यस वर्ष रामलीला हेर्नेको भिड लागेको हो,’ उनले भने। 

पहिलेदेखि नै हेर्दै आएको रामलीला दुई वर्ष हेर्न नपाउँदा न्यास्रो मानेका सर्वसाधारण यस वर्ष उत्सुकताका साथ सहभागी भएका छन्। गाउँबाट हुल बाँधेर सर्वसाधारण आएपछि कलाकार उत्साहित भएको उनको भनाइ छ।

‘जतिजति रात छिप्पिँदै जान्छ उतिउति दर्शकको संख्या बढ्दै जान्छ,’ उनले भने । 

सकारात्मक सन्देश फैलाउन रामलीला महोत्सव

दसैँको अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको महोत्सव प्रचार कुमालको भनाइ छ।
 


घटस्थापनादेखि सुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लंकादहन, लक्ष्मण शक्ति वाणको लीलालगायत प्रदर्शन हुने गरेको उनको भनाइ छ।

विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहन गरी महोत्सव समापन हुने गर्दछ।

महोत्सव हरेक दिन राति ७ बजेदेखि १२ बजेसम्म सञ्चालन हुँदै आएको कुमालले बताए। ‘विजयादशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ,’ उनले भने। 

सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिस आउँछन्। भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत रामलीला महोत्सवमा गरिन्छ। यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ।

सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दसैँभरि सहरमा रामलीलाको रौनक हुन्छ। ‘रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ।

रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ। रामलीला हाम्रो संस्कृति बनिसक्यो। भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुवात गरेका हुन्,’ कुमालले भने।