१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १६:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रसचिव पौड्याल क्यानडामा, नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १६:२९:oo

परराष्ट्रसचिव भरतराज पौड्यालले नेपालको जलविद्युतलगायतका क्षेत्रमा लगानीका लागि क्यानडालाई आग्रह गरेका छन्। ओटावामा बिहीबार बसेको नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्रसचिव पौड्यालले क्यानडाका लागि भिसा लगाउन नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह गरे।

क्यानडास्थित नेपाली राजदूतावासका अनुसार बैठकमा परराष्ट्रसचिव पौड्याल र क्यानडाका ग्लोबल अफेयर्सका सहायक उपमन्त्री पल थोपिलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर परराष्ट्रसचिव पौड्याल बैठकका लागि क्यानडा पुगेका हुन्।

वार्तामा विकास सहयोग, व्यापार तथा लगानी, शिक्षा, संस्कृति र पर्यटनका साथै वातावरण र जलवायु परिवर्तनलगायतका द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। परराष्ट्रसचिव पौड्यालले नेपालको विकास प्राथमिकता, अल्पविकसित स्थानबाट नेपाल स्तरोन्नति हुन लागेको एवं  संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न नेपालले गरेका प्रयासबारे जानकारी दिएका थिए। क्यानडाले नेपाललाई स्रोत र प्रविधिका हिसाबले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

क्यानडेली पक्षले नेपालको विकास कार्यमा सहयोग गर्न तत्पर रहेको वचन दिएको नेपाली दूतावासले जनाएको छ। ‘परराष्ट्रसचिवले नेपालको जलविद्युतमा क्यानडाबाट थप लगानी र प्रविधिको आवश्यकता रहेको बताउनुभएको छ। ऊर्जा, जलवायु परिवर्तन र संयुक्त राष्ट्र शान्ति स्थापनाजस्ता साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत विभिन्न बहुपक्षीय मञ्चहरूमा निरन्तर सहकार्य गर्ने विषयमा विचार आदान–प्रदान भएको थियो,’ नेपाली राजदूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

परराष्ट्रसचिव पौड्यालले वैशाखमा सम्पन्न स्थानीय निर्वाचन र आगामी प्रदेश र संघको निर्वाचनबाट नेपालमा लोकतन्त्र थप सुदृढ हुँदै गरेको जानकारी दिएका थिए। उनले कोभिड– १९ महामारीको कठिन समयमा नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएकोमा क्यानडालाई धन्यवाद दिएका थिए।

बैठकमा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, परराष्ट्र मन्त्रालय र क्यानडास्थित नेपाली राजदूतावासका अधिकारीहरू सहभागी थिए। क्यानडेली प्रतिनिधिमण्डलमा ग्लोबल अफेयर्स क्यानडाका महानिर्देशक (दक्षिण एसिया)लगायतका अधिकारी र दिल्लीस्थित क्यानडेली दूतावासका डेपुटी चिफ अफ मिसन सहभागी थिए। सचिवस्तरीय संयन्त्रको अर्को बैठक दुई वर्षपछि काठमाडौंमा बस्ने सहमति भएको छ।