मौसम परिवर्तनका कारण हाम्रो शरीरमा रोगका कीटाणु सक्रिय भएका हुन्छन् । यसर्थ, परिवर्तित मौसममा सजग हुनुपर्छ । विशेषगरी, घामपानीको मौसम (पानी पर्दै घाम पनि लाग्ने)मा ज्वरो आउने सम्भावना बढी हुन्छ ।
परिवर्तन हुने मौसममा झाडापखाला, ज्वरो, जन्डिसजस्ता रोग लाग्ने गर्छन् । यस्तो मौसममा धेरैजसोलाई ज्वरो आउने गर्छ ।
खानेकुरामा सन्तुलन नमिल्दा, बाहिरको खानेकुरा खाँदा, बजारमा पाइने जंकफुड जथाभावी खानेहरूमा ज्वरो आउने गरेको पाइएको छ ।
परिवर्तित मौसमका कारण आउने ज्वरो ५–६ दिनसम्म रहन्छ । यसवेला रुघा लाग्ने, टाउको दुख्ने, सिंगो शरीरसँगै जोर्नीहरू दुख्नेजस्ता समस्या देखा पर्छन् ।
खानपिनमा अत्यन्त ध्यान दिनुपर्छ । पानी धेरै पिउने गर्नुपर्छ । साथै, स्वस्थ खानेकुरा र पर्याप्त फलफूल खानुपर्छ ।