सवारी दुर्घटनामा परी जाम्बियामा २३ महिलाको मृत्यु भएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने न्सामा जिल्लामा भएको घटनामा अरू ३५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
भार क्षमताभन्दा बढी यात्रु बोकेकाले ट्रक दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ। दुर्घटनामा परेको ट्रकमा ५८ जना यात्रु थिए। अत्यधिक यात्रु भएकाले गुडिरहेको ट्रक अनियन्त्रित भई पहाडबाट तल खसेको हो। सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत अलिनानी मिसिस्याले पनि क्षमताभन्दा धेरै यात्रु बोकेकाले ट्रक दुर्घटनामा परेको पुष्टि गरे।
दुर्घटनामा परेको ट्रकमा रहेका यात्रु सबै युनाइटेड चर्च अफ जाम्बियाबाट फर्किँदै गरेको पनि उनले जानकारी दिए। घटनाका बारेमा जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मी तथा स्वयंसेवक घटनास्थलमा पुगेर खोजी तथा उद्धार गरेको उनले बताए। घटनाका बारेमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिने पनि उनको भनाइ छ।