मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस हेटौँडा
२०७९ असोज ३ सोमबार १७:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थीलाई खोला तार्दै, अक्षर चिनाउँदै 

Read Time : > 1 मिनेट
रासस, हेटौँडा
२०७९ असोज ३ सोमबार १७:०१:००

मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ।

विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो।

विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताए। 

०७० बाट शिक्षण पेसामा लागेका ३९ वर्षीय घले करिब आठ महिनाअगाडि घरनजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आएका हुन्।  

उनले भने, ‘घरपायक पारेर त आइयो, तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कमडामा पढाउन बाध्य छु।’

खोला तारेर विद्यालय पुर्‍याइएका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एक पाखो पर्खाल भूकम्पले भत्काएर जोखिम भइसकेको उनले बताए। 

वर्षातमा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताए। कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनकाे भनाइ छ। 

उनले आफू कालभैरवमा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटकपटक अनुरोध गर्न पुगेको बताए। 

उक्त स्थानबाट नजिक रहेका अरू दुईवटा विद्यालय पनि छन्, तर उक्त विद्यालयमा पुग्न पनि एकदेखि दुई घन्टा थप समय लाग्ने प्रअ घलेले जनाए।  

कक्षा तीनसम्म अध्ययन हुने विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेन्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असार महिनामा दुईकोठे भवन बनाउने प्रतिबद्धता जनाएको, तर सम्झौता भने हुन बाँकी रहेको प्रअ घलेले जानकारी दिए।  

सिमात खोला तर्न वर्षामा विद्यार्थीले समस्या भोग्नुपरेको उनकाे भनाइ छ। तामाङ समुदायको बाहुल्य रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत छन्। जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ। 

हाल यहाँ बालकक्षादेखि कक्षा तीनसम्मको अध्ययन हुने गरेको छ। बकैयाको धेत्रे, चुवारपाखा, गोदामडाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन्।

भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीले खोला तर्न नसक्दा परीक्षा नै स्थगित गर्नुपरेको प्रअ घलेले बताए। 

विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थी आउन नसकेपछि परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङले जानकारी दिए। 
        
धेत्रे र चुवारपाखाका बालबालिकालाई खोला बढेका वेला शिक्षक र स्थानीयले साना बालबालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रूपेन घलेले जानकारी ए। 

स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलुंगे पुल नहुँदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुंगे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ। 

०५३ मा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी एकजना प्रधानाध्यापक र एकजना कार्यालय सहयोगी मात्रै छन्। बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ।