१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस कैलाली
२o८१ बैशाख २१ शुक्रबार १६:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘जसोतसो ज्यान त जोगियो, खुला आकाशमुनि वास’

Read Time : > 1 मिनेट
रासस, कैलाली
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४१:oo

कैलालीको भजनी नगरपालिका– ८ की रूपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णध्वज चन्द मावि विद्यालयमा बस्दै आएका छन्। 
    
वडाका सय परिवारको आश्रयस्थल विद्यालय बनेको छ। घर डुबानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ।

‘ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौँ। ज्यान सुरक्षित छ । पानी र खानाको निकै समस्या भयो,’ रूपाले भने, ‘खाना नभए पनि पानीविना निकै कष्ट भोग्नुपरेको छ। हाते पम्प डुबानमा छन् । जताततै डुबान मात्रै देखिन्छ। पानीको जोहो कतैबाट भए राहत हुने थियो।’

सो क्षेत्रमा डुबान बिस्तारै कम हुँदै गए पनि स्थानीयलाई घर फर्कन अझै एक हप्ता लाग्ने उनले बताए। 

भजनीकै पर्शुराम चौधरीले तीन दिनदेखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको गुनासो गरे। 

‘जसोतसो ज्यान जोगियो। अहिले खुला आकाशमुनि बस्नुपरेको छ,’ पर्शुरामले भने, ‘आफूसँग त्रिपाल पनि छैन। मागौँ भने सबैलाई आफ्नै समस्या छ। सरकारले त्रिपाल र पानी दिए पनि हामीलाई ठूलो राहत हुने थियो।’

उनले सडकआसपास बसेकालाई सहज भए पनि गाउँका बीचमा आश्रय लिएर बसेकाको जनजीवन निकै कष्टकर रहेको बताए। 

गाउँको बीचमा आश्रय लिएर बसेका विस्थापितलाई राहत तथा पानी पुर्‍याउनसमेत निकै समस्या भएको छ।

पैदल जानसक्ने अवस्था छैन। डुंगाको साहारामा विस्थापित परिवारलाई राहत पुर्‍याउन आवश्यक स्रोतको अभाव भएको स्थानीय जयप्रसाद ढुंगानाले बताए। 

‘हुलाकी सडकमा बसेका स्थानीयलाई नगरपालिकाले एकपटक पानी र चाउचाउ वितरण गरेको थियो । गाउँभित्र बसेकाले त्यो पनि पाएका छैनन्,’ ढुंगानाले भने, ‘पैदल वा सवारीसाधन लिएर जान सकिने अवस्था छैन । जानका लागि डुंगा चाहियो। सहजै डुंगा उपलब्ध हुने अवस्था छैन।’
  
अझै भजनीमा एक वडाबाट अर्को वडामा सहजै जान सक्ने स्थिति छैन। एक गाउँबाट अर्को गाउँसम्म जान सक्ने अवस्था छैन। 

‘आवागमननै प्रभावित भएको छ। प्रत्यक्ष सम्पर्क हुन सकेको छैन,’ नगर प्रमुख केवल चौधरीले भने, ‘हामीले सम्बन्धित वडालाई जिम्मा दिएका छौँ।’
 
उनले तीन-चार हजार जनसंख्यालाई नगरपालिकाले मात्रै राहत वितरण गर्न सक्ने अवस्था नरहेको बताउँदै अन्य संघसंस्थालाई समेत सहयोगका लागि आग्रह गरिएको बताए।  
   
नगर प्रमुख चौधरीले डुंगा तथा बोट नहुँदा पनि प्रभावितलाई राहत पुर्‍याउन समस्या भएको बताए। 

‘नगरपालिकाका सबै वडा डुबानमा छन्। हामीसँग भएको चारवटा बोटमध्ये दुईवटा मात्रै सञ्चालनमा छन्। दुई बोटले सबै क्षेत्रमा पुग्न कठिन भएको छ,’ नगर प्रमुख चौधरीले भने, ‘अन्य संघसंस्थासँग सहयोग मागेका छौँ। दुईवटा बोट सहयोग गर्ने कुरा भएको छ। थप दुईवटा भए अलि सहज हुन सक्छ।’
   
उता जोशीपुर गाउँपालिकामा भने जनजीवन सामान्य बन्न थालेको छ। गाउँपालिकामा बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले विस्थापितको तथ्यांक लिने काम सुरु गरिएको जानकारी दिए। 

उनले पानी कम भएसँगै स्थानीय आफ्नो घर जानेक्रम चलेको बताउँदै विस्थापित परिवारलाई तथ्यांकका आधारमा गाउँपालिकाले राहत वितरण गर्ने बताए। 

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अविरल वर्षाका कारण प्रभावित भएको कैलालीको जनजीवन सामान्य अवस्था फर्किन थालेको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कैलालीमा बाढीका कारण दुईजनाकाे ज्यान गएकाे छ। 

ad
ad