स्थानीय तहका कर्मचारी सरुवा खोज्दै सुगमतिर लाग्दा दुर्गमका स्थानीय तह रित्तिँदै गएका छन्, किन होला ?
स्थानीय तह कार्यान्वयनमा आएको पाँच वर्ष भयो, तर त्यहाँ गएका कर्मचारी जहाँ छन्, त्यहाँ अडिने आधार रहेन । वृत्ति विकास, सेवासुविधा टुंगिएन । त्यही भएर कर्मचारी सुविधाजनक ठाउँमा निस्कन खाजेका हुन् । यस समस्याको दीर्घकालीन समाधानतिर कसैको ध्यान गएन । संक्रमणकालीन अवस्थालाई नै तन्काएर राख्दा यस्तो भएको हो ।
कर्मचारीलाई दुर्गममा अड्याउने उपाय के हुन सक्छ त ?
दुर्गममा बस्नका लागि आकर्षण चाहियो । कर्मचारी दुर्गममा टिकाउन थप सेवासुविधा दिनुपर्छ । अध्ययन, भ्रमणमा प्राथमिकता दिन सकिन्छ । क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ । जहाँ बसेर कार्यरत हुँदा पनि करिअर बनाउन सकिन्छ र त्यहीँबाट पनि उन्नति हुन्छ भने कर्मचारीलाई दुर्गममा बसेर काम गर्न गाह्रो हुँदैन । तर, सुगममा बस्नेले अवसर पाउने, दुर्गममा बस्नेलाई ‘दुर्गम’ नै हुने हो भने समस्या हुन्छ ।
यति लामो समयसम्म संघीय निजामती सेवा ऐन किन नआएको होला ?
संघीय सरकारले स्थानीय सरकारलाई अस्थायी रूपमा चलाउन खोजेको छ । अधिकार विकेन्द्रीकृत गर्न चाहेको छैन । ऐन नआउन्जेल संघले आफूले चाहे र भनेजस्तो स्थानीय सरकार चलाउन सक्छ । त्यसैले यो ऐनलाई अल्झाइएको हुन सक्छ ।