जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेपछि गर्भवतीको शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी गराएको छ।
जिल्ला अस्पतालमा एनेस्थेसियाका एकजना मात्र कर्मचारी छन्। दुर्घटनामा खुट्टा भाँचिएर उनी बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डाक्टर नितु लामाले जानकारी दिइन्। ‘दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो। उहाँ नभएको समयमा हामीले पाँचजनाको शल्यक्रिया गरिसक्यौँ। सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन। अरूले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो,’ उनले भनिन्।
अस्पतालमा कार्यरत सहायकस्तरको कर्मचारी दुर्घटनामा घाइते भएसँगै अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाँडै उक्त सेवा पुनः सञ्चालनमा ल्याइने प्रमुख डा. लामाले बताइन् । शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य बिरामीलाई राजधानी काठमाडौं तथा तराईका सुविधासम्पन्न अस्पताल लानुपर्ने अवस्था सिर्जना भएको छ। काठमाडौंजस्ता सुविधासम्पन्न सहर लानुपरे कम्तीमा दुई लाख ५० हजार रुपैयाँ खर्चेर हेलिकोप्टर चार्टर गर्नुपर्ने हुन्छ।
०४८ सालमा १५ शय्या क्षमतामा स्थापना भएको अस्पताललाई गत आर्थिक वर्षबाट ५० शय्यामा स्तरोन्नति गर्ने काम सुरु गरिएको छ। स्थापनाको ३१ वर्षसम्म स्तरोन्नति नगरिएको यस अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि पर्याप्त सुविधा नहुँदा उनीहरू छिट्टै सरुवा भएर जाने गरेका छन्।