मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ भदौ २७ सोमबार ०६:१९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय सरकारमा २०३ ठेकेदार

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ भदौ २७ सोमबार ०६:१९:००

क्रसर र डोजर लिएर बस्छन् जनप्रतिनिधि, आफैँले स्वीकृत गरेको योजनामा ‘आफ्नै डोजर’बाट खन्छन् बाटो

५८ प्रमुख–उपप्रमुख, १२९ वडाध्यक्ष, १४ सदस्य र दुई जिसस प्रमुखमा ठेकेदार निर्वाचित 

गत वैशाखमा सम्पन्न निर्वाचनबाट स्थानीय तहमा दुई सय तीनजना ठेकेदार निर्वाचित भएका छन् । उनीहरूमध्ये १२ जना नगरपालिकाका मेयर र ३४ जना गाउँपालिका अध्यक्ष छन् । दुईजना जिल्ला समन्वय समितिका प्रमुख, पाँच उपमेयर र ६ उपाध्यक्ष छन् । त्यस्तै, एक सय २९ जना वडाध्यक्ष र १४ जना वडासदस्य छन् । 

ठेकेदार नै स्थानीय सरकारको नेतृत्वमा आउँदा कामहरूमा स्वार्थ बाझिने सम्भावना अधिक हुन्छ । स्थानीय तहको अघिल्लो कार्यकालमा त्यो देखिएको पनि थियो । त्यतिखेर पनि ठूलो संख्यामा ठेकेदार निर्वाचित भएका थिए । स्थानीय सरकारमा ठेकेदार हाबी हुने प्रवृत्ति रोक्न यसपटक निर्वाचन आयोगले १६ चैतमै निर्देशिका जारी गर्दै उम्मेदवारले आफू ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल–अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको’ स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, केहीले कम्पनी व्यवस्थापन गरेर तथा केहीले घोषणा मात्रै गरेर निर्वाचन लडे, व्यवहारमा ठेक्कापट्टा व्यवसाय नछाडे पनि निर्वाचन आयोगले कुनै अनुगमन वा कारबाही गरेन । नयाँ पत्रिकाको खोज तथा नेपाल निर्माण व्यवसायी महासंघबाट प्राप्त विवरणअनुसार यसपटक दुई सय तीन ठेकेदार स्थानीय सरकारमा पुगेका छन् । 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कानुनले तोकेअनुसारको योग्यता पुगेको अवस्थामा उम्मेदवार बन्ने अधिकार सबैमा रहे पनि राजनीतिमा लगाव र योगदान नभएको तथा समुदायको हित नसोच्ने गैरराजनीतिक व्यक्ति निर्वाचित हुनु स्वाभाविक नहुने बताए । अहिलेको उम्मेदवार छनोटको प्रक्रिया गलत भएको उनको ठहर छ । ‘राजनीतिक दलले स्थानीयस्तरमा नागरिकको छनोट के छ भन्ने नबुझी केन्द्रबाट सीधै तोकेर टिकट दिने अभ्यास देखिन्छ,’ पोखरेलले भने, ‘यस्तो अभ्यासले धेरै विकृति निम्त्याएको छध । केन्द्रमा नेतालाई जसले खुसी पार्न सक्छ उसैले टिकट पाउँछ । यो गलत छ । यस्तो केन्द्रीकृत प्रणालीले नागरिकको सवाल सम्बोधन गर्दैन । यसर्थ विद्यमान उम्मेदवार छनोट प्रक्रियामै पुनरावलोकनको आवश्यकता छ ।’ 

सार्वजनिक पद धारण गरेको व्यक्ति पेसा व्यवसायमा संलग्न हुने र त्यसअनुकूल निर्णय गर्दा स्वार्थ बाझिन्छ त्यसलाई रोक्न कतिपय मुलुकले नीतिगत व्यवस्था गरेका छन् । त्यसमा जनप्रतिनिधि कुनै संस्थाको कार्यकारी पदमा रहन नहुने, नियमित पारिश्रमिक लिने गरी कुनै संस्थामा रहन नहुने, कुनै संस्थाको सेयरहोल्डर हुन नपाउने, तलबी परामर्शदाता बन्न नपाउने, कुनै पेसागत संलग्नता हुन नहुने, पुरस्कार लिन तथा प्रायोजित भ्रमणदेखि कार्यकालपछि रोजगारीसमेतका विषयलाई स्वार्थको द्वन्द्वअन्तर्गत व्यवस्थापन गरेका छन् । ती मुलुकमा स्वार्थको द्वन्द्व सिर्जना हुने गतिविधि रोक्ने तथा दण्डित गर्ने व्यवस्था छ । सरकारको थिंकट्यांक नीति अनुसन्धान प्रतिष्ठानले स्वार्थको द्वन्द्वबारे दुई वर्षअघि नै अध्ययन गरेर सिफारिससहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन खासगरी संसदीय मामिलामा हुने स्वार्थको द्वन्द्वबारे थियो । किरण चापागाईंले गरेको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट इन लेजिस्लेटिभ अफेयर्स इन नेपाल’ अनुसन्धान प्रतिवेदनले स्वार्थको द्वन्द्वलाई भ्रष्टाचारको स्वरूपमा औँल्याएको छ । प्रतिवेदनले स्वार्थको द्वन्द्वलाई कानुनमै फौजदारी अपराध मानेर दण्डित गर्नुपर्ने सुझाव पनि दिएको छ । 

पूर्वसचिव खेमराज नेपाल पैसा खर्च गर्न सक्नेले टिकट पाउने भएकाले ठेकेदार र व्यापारीलाई जनप्रतिनिधि बन्न सजिलो भएको बताउँछन् । ‘पैसा खर्च गरेर दलका नेता र मतदाता आकर्षित गर्न सक्नेले टिकट पाउने भएकाले ठेकेदार र व्यापारीलाई जनप्रतिनिधि बन्न सजिलो भएको छ । उनीहरू पदमा पुगेपछि आफ्ना स्वार्थ पूर्ति गर्नतिरै लाग्छन् । यस्तो परिपाटी सुध्रिनु आवश्यक छ,’ उनले भने, ‘उद्यमीले राजनीति गर्नु र राज्यको ओहोदामा पुग्नु नराम्रो होइन । तर, पदले निम्त्याउने सम्भावित नकारात्मक पक्षलाई आचारसंहिता बनाएर कडाइ गर्नुपर्छ । जनप्रतिनिधि भएपछि के गर्न हुन्छ, के हुँदैन भन्ने स्पष्ट पार्नुपर्छ । तर, यहाँ आचारसंहिता नै बन्दैन, बने पनि कार्यान्वयन हुँदैन,’ 

नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जू भने जनप्रतिनिधि बनेपछि आफ्नो पालिकाभित्र ठेक्कापट्टा गर्न नपाए पनि अन्यत्र पदको दुरुपयोग नगरी पाउने व्यवस्था कानुनले नै दिएको बताउँछन् । ‘नेपालको कानुनले निर्माण व्यवसायी जनप्रतिनिधि हुन नपाउने भनेको छैन । निर्वाचन लड्न पाउने हरेक नागरिकको मौलिक हक हो । कोही निर्माण व्यवसायी जनप्रतिनिधि भएको छ भने उसलाई जनप्रतिनिधिकै आँखाले हेर्नुपर्छ । जनप्रतिनिधि बनेपछि आफ्नो पालिका क्षेत्रभित्र निर्माण व्यवसाय गर्न पाउँदैन, तर अन्यत्र भने राजनीतिक पद र शक्तिको दुरुपयोग नगर्ने हिसाबले गर्न सक्छ,’ उनले भने ।

जसले नेतालाई खुसी पार्न सक्छ, उसैले टिकट पाउने अभ्यास गलत छ  : भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त 

सामान्यतः मतदाता भएको व्यक्ति उम्मेदवार बन्न पाउँछ । कानुनले तोकेको योग्यता पुगेका सबैलाई उम्मेदवार बन्न पाउने अधिकार छ । तर, राजनीतिमा लगाव, योगदान नभएको, समुदायको हित नसोच्ने गैरराजनीतिक व्यक्ति नआइदेओस् भन्ने आमचाहना र दृष्टिकोण हुन्छ । जुन पृष्ठभूमिबाट उम्मेदवार बने पनि पदमा पुगेपछि त्यसको भूमिका के हुन्छ भन्ने विषय महत्वपूर्ण हो । पदमा पुगेपछि पनि व्यक्तिगत तथा समूहगत स्वार्थ त्यागेर आमनागरिकको हित गरोस् भने अपेक्षा हुन्छ ।

तर, नेपालमा यस्तो अक्सर कमै देखिएका छन् । विद्यमान उम्मेदवार छान्ने प्रक्रिया नै गलत छ । राजनीतिक दलले स्थानीयस्तरमा नागरिकको छनोट के छ भन्ने नबुझी केन्द्रबाट सीधै तोकेर टिकट दिने अभ्यास देखिन्छ । यस्तो अभ्यासले धेरै विकृति निम्त्याएको छ । केन्द्रमा नेतालाई जसले खुसी पार्न सक्छ उसैले टिकट पाउँछ, यो गलत छ । यस्तो केन्द्रीकृत प्रणालीले नागरिकको सवाल सम्बोधन गर्दैन । यसर्थ विद्यमान उम्मेदवार छनोट प्रक्रियामै पुनरावलोकनको आवश्यकता छ ।