मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ २४ शुक्रबार १९:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाँकेका ११ जनामा डेंगु पुष्टि, भेरी अस्पतालमा उपचाररत दुईजनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १९:३६:oo

बाँकेमा पनि डेंगु संक्रमणको ग्राफ उकालो लागेको छ। बाँकेका विभिन्न पालिकाका ११ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन्। 

सबैभन्दा धेरै नेपालगन्जका भएको गौतमले बताइन्। उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका चार र बैजनाथ गाउँपालिकाका एकजना गरी ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। 

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजनाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले पुष्टि गरेका छन्। मृत्यु हुनेमा बर्दिया र कैलालीका एक–एकजना भएको उनले बताए। उनले बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको मृत्यु भएको जानकारी दिए ।

उनीहरूलाई १४ र १९ भदाैमा उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनीहरूको बुधबार एकै दिन मृत्यु भएको अस्पतालले जनाएको छ। ‘ज्वरो र टाउको दुखेमा चिकित्सकको सल्लाहविना सिटामोल खाने र सिकिस्त भएपछि मात्र उपचारका लागि अस्पताल ल्याउने प्रवृत्तिले उपचारको क्रममा बिरामीको ज्यान जाने गरेको छ,’ उनले भने, ‘ज्वरो आउने र टाउको दुख्नेबित्तिकै चिकित्सकसँग सल्लाह लिए मृत्युबाट जोगाउन सकिने सम्भावना रहन्छ।’

नेपालगन्जलगायतका पालिकामा डेंगुको संक्रमण बढ्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले सरोकारवाला निकायसँग छलफल गरेको छ। छलफलमा भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले अहिलेको मौसममा डेंगुको जोखिम बढ्नु स्वाभाविक भएको बताए। उनले डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्ने र झुल लगाएर सुत्नुपर्ने सुझाव दिए। डेंगु रोग चार प्रकारका भएको बताउँदै उपकरण अभावमा डेंगुको पहिचान गर्न नसकिएको बताए। ‘डेंगु परीक्षण गर्ने उपकरण काठमाडौंको टेकुबाहेक अन्य अस्पतालमा छैन,’ उनले भने।

डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आमसर्वसाधारणमा सचेतना जगाउने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका कीटजन्य रोग फोकल पर्सन गौतमले बताइन्। नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले टोल–टोलमा गएर लामखुट्टे नष्ट गर्ने अभियान थालेको बताए। उनले स्वास्थ्यकर्मी र नगर प्रहरीलाई सचेतना अभियानमा परिचालन गरिने स्पष्ट पारे।