![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/yogesh2021-06-09-09-38-14.jpeg)
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नेको लामो लर्को लागेको छ। एमालेका केन्द्रीय सचिव योगेश भट्टराईलगायत ५ जनाले प्रतिनिधिसभा ताप्लेजुङबाट प्रत्यक्षतर्फ आकांक्षा प्रस्तुत गरेका छन्।
सचिव भट्टराई, पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङबो, केन्द्रीय सदस्य पासाङ शेर्पा साथै टंक आङ्बुहाङ र प्रदेश कमिटी सदस्य रामप्रसाद सुवेदीले प्रत्यक्षतर्फ निवेदन दिएको जिल्ला कमिटी ताप्लेजुङले जनाएको छ। हाल एमाले सचिव भट्टराई प्रतिनिधिसभाका सदस्य अर्थात् सांसद पनि छन्।
केन्द्रमा सबैको दाबेेदारी रहेपछि सबैको नाम सिफारिस गर्ने तयारी रहेको जिल्ला कमिटीका अध्यक्ष भुपेन्द्र थेबेले बताए। उता केन्द्रीय प्रतिनिधिसभामा समानुपातिकतर्फ केन्द्रीय सदस्यसमेत रहेकी उर्मिला थेबे, पूर्वराज्यमन्त्री ओङ्दी शेर्पा, लक्ष्मीबहादुर याक्सो, शिवकुमार गुरुङ, तारा नेपाली र मिरा नेपालीको निवेदन परेको छ।
प्रदेश क्षेत्र नंं. ‘क’ मा प्रत्यक्षतर्फ हाल सांसद रहेका बलबहादुर साम्सुहाङ, सन्तोष खतिवडा, महेशकुमार गुरागाईं, देउमान विष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँवाले निवेदन पेस गरेका छन्। उता प्रदेश सभा (ख) तर्फ हाल प्रदेश सांसद होमकुमारी साँवा, गोपाल थोप्रा, मणिशंकर पोमु, त्रिवेणी चोङबाङ र चित्रगुप्त साँवाले दाबेदारी पेस गरेका छन्।
प्रदेश सभाको ‘क’ र ‘ख’ मा समानुपातिकतर्फ १८ जनाको नाम परेको अध्यक्ष थेबेले बताए। १८ जनामा आदिवासी जनजाति महिलातर्फबाट निर्मला इजम, खुला महिलातर्फ टीकादेवी सुवेदी र टीकादेवी दाहाल रहेका छन् भने दलित पुरुषतर्फ बुद्धिमान परियार, छत्र विक र हरिलाल ठकुरी सुनाम रहेका छन्।
महिला खुलातर्फ कोपिला नेपाली, आदिवासी जनाजातितर्फ सन्चपाल मादेन, सूर्यबहादुर आङ्बुहाङ, मंगलसिंह केदेम र हिमालयविक्रम चाम्लिङ, दलित तथा अल्पसंख्यकतर्फ गणेश कार्की ढोली खस आर्यतर्फ राजेश प्याकुरेल र धर्मराज घिमिरे तथा खुलातर्फ वीरबहादुर माबोहाङ, राधाकृष्ण पौडेल, इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको दाबेदारी रहेको अध्यक्ष थेबेले बताए।