मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Thursday, 19 December, 2024
कृष्णप्रसाद घिमिरे
२o७९ भदौ २२ बुधबार १o:o१:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विज्ञापन बजार यसरी बनाउन सकिन्छ दोब्बर

Read Time : > 5 मिनेट
कृष्णप्रसाद घिमिरे
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार १o:o१:oo

सरकारलाई कर तिरेर दर्ता भएका विज्ञापन उद्योगीलाई वर्जित गरी विदेशी सञ्जाललाई बढावा दिनु सर्वथा गलत हो 

सिर्जनशीलता भन्नु नै सिर्जना हो । यसले वस्तु वा सेवाको महत्व र बिक्री बढाउँछ । अल्बर्ट आइन्सटाइनका शब्दमा अरूले देखेको देख्ने, तर अरूले कहिल्यै नसोचेको सोच्नुलाई बुझाउँछ । कला सिर्जनाका लागि कुनै उत्साह पर्खनुपर्र्दैन । जब हामी काममा लागिपर्छौं, सिर्जना आफैँ आउँछ । नेपालमा सिर्जनालाई विज्ञापनमा उजागर गरेबापत पुरस्कृत गर्नु सजिलो थिएन, जुन तत्कालीन नेपाल विज्ञापन एजेन्सी संघका अग्रजहरूबाट गरियो । परिणामस्वरूप आज १२औँ शृंखला आउँदै छ । त्यस वेलाको नेपाल विज्ञापन एजेन्सी संघको नेतृत्वले सुरु गरेको पहल सराहनीय छ । 

सिर्जना मूल्यांकनार्थ नेपालमा मूधन्र्य व्यक्तित्व, सर्जक, विज्ञापनकर्मीहरूको निर्णायक मण्डल चयन गर्नु, गोपनीयता, निष्पक्षता, व्यावसायिकता कायम गर्नु चुनौतीपूर्ण नै छ । साथै, अवार्डको विश्वसनीयता कायम गर्न कठिन छ, किनकि सानो बजार, हरेक व्यक्ति कुनै न कुनै किसिमबाट एकअर्कोसँग जोडिएको अवस्था छ । तसर्थ, अवार्डमा निष्पक्षताका बारेमा विवाद र प्रश्नहरू उठिरहन्छन् । हुन त देश–विदेशमा समेत अवार्डबारे विभिन्न विवाद सुनिन्छन् । विज्ञापनको शब्द र अर्थ नै राम्रोसँग नबुझ्ने वेलामा विज्ञापनमा प्रयोग हुने सिर्जनालाई पुरस्कृत गर्नु कम चुनौतीपूर्ण थिएन ।

नेपालमा बजेट भाषणपछि धेरै टेलिभिजनद्वारा एकैसाथ प्रत्यक्ष प्रसारण गरिने एउटा कार्यक्रम हो, कृति अवार्डस् । यसमा नेपाल टेलिभिजनलगायत सबै टेलिभिजन, प्रिन्ट मिडिया, अनलाइन, एफएम रेडियो, सामाजिक सञ्जालहरूसमेतको योगदान अतुलनीय छ । हामी विज्ञापन एजेन्सी आफूले विज्ञापन सिर्जना गर्दा उत्पादित वस्तु र सेवाप्रति कति न्याय गरेका छौँ ? उपभोक्ताप्रति कति जिम्मेवार छौँ ? हाम्रा सिर्जनाले बजार बढाउन, सचेतना दिन, उपभोग बढाउन, जीवनस्तर उठाउन कति भूमिका निभायो, त्यो पनि बुझ्नु आवश्यक छ ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा पस्कने खुराकका साथ ‘मोतीका साथ बिक्ने धागो’सरह प्रविष्ट हुने विज्ञापन सन्देशमा सिर्जनाको निखार झल्किएको हुन्छ । त्यो विज्ञापन सन्देशमा अन्तरनिहित कला, सीप, ज्ञान, सिर्जना, रचना र परिकल्पनालाई उजागर गरी प्रतिस्पर्धा गराउने सामूहिक पर्व हो, कृति अवार्डस् । जुन एक वर्ग विशेषको विज्ञापन एजेन्सीको कार्यक्रम मात्र नभई समग्र सञ्चार उद्योगको पर्व हो । 

सुरुवाती दिनमा कुनै प्रायोजनविना सुरु भएको यो पर्व १२औँ शृंखलासम्म आइपुग्दा नेपालका प्रतिष्ठित औद्योगिक व्यावसायिक प्रतिष्ठानहरूको विशिष्ट योगदान रहेको छ । नेपाली ब्रान्डलाई अगाडि बढाउन, देश तथा विदेशमा चिनाउन तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न कृतिको योगदान महत्वपूर्ण छ । नेपालमा ठूला प्रदर्शन गर्ने हल, सभास्थलसमेत नभएको अवस्थामा कृतिजस्तो कार्यक्रम आयोजना गर्नु निश्चय नै चुनौतीपूर्ण छ । साथै, हजारौँको संख्यामा सहभागी तथा आगन्तुक, कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने टिम, स्टेज निर्माणजस्ता विषय कृतिका लागि कठिन विषय हुन् । तथापि, यो सबै व्यवस्थापन, समस्त सञ्चार क्षेत्रको सहयोग, सद्भाव र सिर्जनशील विज्ञापनकर्मीको सहभागितामा मात्र यो सहज छ र सम्भव हुँदै आएको छ । 

विदेशमा गरिने यस्ता सिर्जनासम्बन्धी अवार्डमा सञ्चारगृह नै प्रायोजक रहन्छन्, तर हाम्रो मुलुकमा ०५० पछि बिस्तारै अगाडि बढेको सञ्चार क्षेत्र कहिले जनयुद्ध, कहिले लोडसेडिङ, कहिले भूकम्प त कहिले कोरोनाबाट प्रभावित छ
 

सरसर्ती हेर्दा नेपाल विज्ञापन संघ (आन)को आय संकलनको माध्यमका रूपमा झल्किने कृति अवार्डस् समग्रमा सञ्चार उद्योगकै एउटा गरिमामय अवार्डस् हो । झट्ट हेर्दा नेपाल विज्ञापन संघ (आन)को अवार्डस् नै हो, तर यो कृति आफैँमा उद्योग व्यवसायलाई विज्ञापन गर्न उत्साहित गर्ने विज्ञापन लगानी हो, खर्च होइन भन्ने सन्देश दिनका लागि आवश्यक छ । हामीकहाँ विज्ञापन गर्ने सोच कम छ । तसर्थ, विज्ञापन गर्नका लागि सकारात्मक सोच बनाउन पनि यस्ता कार्यक्रमले केही हदसम्म अर्थ राख्छ । 

कृतिमा सहभागी सिर्जनाहरू कुनै कालखण्डमा निर्माण गरिएका भए पनि ती सिर्जनाले सर्जकलाई हौसला, प्रोत्साहन र अभिप्रेरित गर्छ । सबै क्षेत्रको योगदानलाई एकमुष्ठ गणना गर्दा प्रत्यक्ष–परोक्ष करिब १० करोडबराबरको धनराशि खर्चिने सो अवार्डस्मा विज्ञापन एजेन्सी, ब्रान्ड, सर्जक, औद्योगिक व्यवसाय प्रतिष्ठानका अलावा सञ्चारगृहको मुख्य सहभागिता रहन्छ । विदेशमा गरिने यस्ता सिर्जनासम्बन्धी अवार्डस्मा सञ्चारगृह नै प्रायोजक रहन्छन्, तर हाम्रो मुलुकमा ०५० पछि बिस्तारै अगाडि बढेको सञ्चार क्षेत्र कहिले जनयुद्ध, कहिले लोडसेडिङ, कहिले भूकम्प त कहिले कोरोनाबाट प्रभावित छ । उद्योग व्यवसायको विकास नभइसकेको र देश आयातमा मात्र आश्रित रहेको परिप्रेक्षमा स्वदेशी सामान तथा वस्तु ब्रान्ड अति नै कम संख्यामा छन् ।

९० को दशकबाट विश्व निजीकरण, उदारीकरण र विश्व बजारीकरणतर्फ उन्मुख रहँदै गर्दा नेपालले केवल निजीकरणलाई आत्मसात् गर्‍यो, तथापि उदारीकरण र विश्वव्यापीकरणलाई अपनाउन सकेन, जसबाट मुलुकमा विदेशी लगानी अर्थात् एफडिआई सोचेजस्तो आउन सकेन । जति वैदेशिक लगानी आएको छ, यसबाट मुलुकलाई फाइदा नै पुगेको छ । सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा लगानी सम्मेलनहरू आयोजना गरे तापनि लगानीको अंश न्यून नै रह्यो । 

आज पनि सरकार नुन, तेल, चामल, मट्टितेलको मूल्य तोक्न आतुर छ । सरकारले आयात प्रतिस्थापनका लागि विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गरे तापनि आशातीत प्रतिफलमा कमी छ । साथै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐन, मूल्य अभिवृद्धि कर, सम्पति शुद्धीकरण ऐनजस्ता नियम कानुनको उपस्थितिले नेपालमा लगानीको वातावरण सिर्जना भएको छ । प्रत्यक्ष वैदेशिक लगानीमा उल्लेखनीय वृद्धि नभए तापनि केही हदसम्म अर्थतन्त्रमा योगदान भएको छ । यी यावत् ऐन कानुनको उपस्थितिबाट नेपालप्रतिको अन्तर्राष्ट्रिय समुदायको अवधारणामा सकारात्मकता छाएको छ । औद्योगिक सम्बन्ध, मजदुर आन्दोलन, नियमित इन्धन आपूर्ति, कम्पनी दर्ता प्रक्रिया, सरकार परिवर्तन, औद्योगिक सुरक्षा, कच्चा पदार्थको अभाव, भूपरिवेष्ठित मुलुक, भन्सार नीति, चन्दा, अपहरण, अस्थिर दलगत राजनीति आदि विविध कारणले उद्योगको उत्पादनमा कमी भइरहेकाले देशमा अधिकांश तयारी वस्तु आयात गर्नुपर्ने बाध्यता छ । यसको असर विज्ञापन उद्योगमा पर्नु स्वाभाविक हो । देशमा औद्योगीकरण नहुँदा नयाँ ब्रान्डहरू आउने अवस्था रहन्न । माथि उल्लेखित समस्याका बाबजुद पनि केही ब्रान्डले राम्रो ख्याति कमाएका छन्, यसलाई उदाहरणीय मान्नुपर्छ । 

सरकारी विज्ञापनहरूमा ब्रान्डभन्दा पनि सूचनाको बढी बाहुल्य रहन्छ । विज्ञापनहरू नेपालमा सरकारी निकाय, संवैधानिक अंगहरूबाट समय–समयमा सर्वसाधारणलाई सुसूचित गराउन गरिने विज्ञापनले नेपाली विज्ञापन उद्योगमा उल्लेख्य योगदान गरेको छ । निजी क्षेत्रबाट गरिने विज्ञापनमा मूलतः सिर्जनालाई अहं महत्व दिइन्छ । नेपालको विज्ञापन बजारमा आधा अंश (करिब ६ अर्ब) बराबरको सरकारी विज्ञापनमा खर्च भएको देखिन्छ । मूलतः यस्तो विज्ञापनमा सूचना बढी, सिर्जना कम हुन्छ । विज्ञापन ऐनको सुरुवात भए पनि सरकारी विज्ञापनलाई विज्ञापन बोर्डबाट गर्ने चर्चा–परिचर्चा चलिरहँदा बोर्डले समग्र विज्ञापन उद्योगको व्यवस्थापन र नियमन गर्ने वा वितरण गर्ने यक्ष प्रश्न छ । साथै, कृतिजस्ता सिर्जनात्मक कार्यक्रमले समग्र विज्ञापनहरूमा नै निखार ल्याउन, अर्थात् परिणाममुखी बनाउन सम्बन्धित सबै पक्षहरूलाई निर्देशित तथा अभिपे्ररित गर्दछ । यसको अलावा निजी क्षेत्रका वस्तु, सेवा, ब्रान्ड उत्पादनको बजार बढाउन, ग्राहक सचेतना, प्रतिस्पर्धा गर्न, बिक्री रणनीति तथा बजारमा आफ्नो उपस्थिति जनाउन श्रव्य र दृश्यको रूपमा विभिन्न माध्यममार्फत विज्ञापन गरिन्छ । यी विज्ञापन दीर्घकालसम्म रहन्छन्, जसमा कम्पनीको लगानी तथा सर्जकको अथक परिश्रम जोडिएको हुन्छ । यस्ता विज्ञापनहरू कृतिमा समावेश हुन सक्छन्, जसबाट ब्रान्डलाई चिनाउन र ब्रान्डको बारेमा उपभोक्तालाई सचेत गराउन झन् बढी मद्दत पुग्छ ।

नेपाली विज्ञापन उद्योगमा धेरै समस्या छन् । जसमा प्रथमतः सिर्जनाको सही मूल्य तिर्न विज्ञापनदाताहरू तयार नहुनु, सिर्जनामा सर्जकले कम समय दिनु, सिर्जना तयार गर्दा पर्याप्त अध्ययन र अनुसन्धान नहुनु, सरकारद्वारा नवप्रवर्तक, नवीनतम् ज्ञान, अनुसन्धानमा कुनै प्रोत्साहन नदिनु, क्लिन फिड लागू नहुनु, विदेशी तथा बहुराष्ट्रिय कम्पनीले विदेशमै निर्माण भएका विज्ञापनहरू प्रसारण गर्नु, सामाजिक सञ्जालमा विदेशबाट सोझै विज्ञापन राख्नु, सरकारले विज्ञापनमा गरेको खर्चमा कुनै छुट नदिनु, स्वदेशी ब्रान्डको प्रवद्र्धनमा सरकारको कुनै सहुलियत नहुनु, विज्ञापन सर्जक विज्ञापनकर्मीहरूमा कामको निरन्तरता, लगाव, मिहिनेत र अनुशासनको कमी, विज्ञापनकर्मीहरूमा तत्कालै कमाउने सोच, विज्ञापनको विषयमा ज्ञान, अध्ययन, तालिम र अनुसन्धान केन्द्रहरूको अभाव आदि पर्दछन् । साथै, सरकारले लगाएको प्रतिबन्ध वा सिलिङले विज्ञापन उद्योगमा प्रतिकूल असर पारेको छ । जबकि, सरकारले सिलिङ लगाएका क्षेत्र स्वास्थ्य, शिक्षामा नेपाली सञ्चारमाध्यममार्फत विज्ञापन नआए पनि विदेशी सामाजिक सञ्जालमा प्रशस्त विज्ञापन अनियन्त्रित रूपमा आइरहेका छन् । यसतर्फ सरकारको ध्यान जानु वाञ्छनीय छ । सरकारी ऐन–नियमको परिधिभित्र रहेर, सरकारलाई कर तिरेर, नेपालमा दर्ता भएका विज्ञापन उद्योगीलाई वर्जित गरी विदेशी सञ्जाललाई बढावा दिनु सर्वथा गलत हो, जसमा विदेशी मुद्रा बाहिरिन्छ । 

क्लिन फिड पूर्ण रूपमा लागू हुन नसक्नु विज्ञापन बजारका लागि दुःखद विषय हो । अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने करिब १२ सय करोडको बजार रहेकामा यस क्षेत्रमा प्रत्यक्ष संलग्न ११ हजारभन्दा बढी छन् । यदि नेपाल सरकार तथा विज्ञापन बोर्डलगायत सम्बन्धित निकायहरूले तदारुकता देखाएर क्लिन फिड लागू गराउने हो भने यो बजार बढेर २४ सय करोड बनाउन सकिन्छ । साथै, नेपालमा रहेका सर्जक, कलाकार, रचनाकार, संगीतकार, रंगकर्मीहरूको रोजगारीमा व्यापक तथा उल्लेखनीय रूपमा वृद्धि हुन्छ ।

विज्ञापन उद्योगमा रहेका यावत् अवसरहरू पहिचानका लागि कृतिजस्ता कार्यक्रम उपयुक्त हुन्छन् । जसमा उपभोक्ता, उद्यमी, विज्ञापनदाता, सर्जक तथा नियामक निकायबीच सहकार्य, समन्वय तथा अन्तरक्रिया हुन्छ । विज्ञापनलाई ऐनमार्फत सम्बोधन गरिए पनि आजका दिनसम्म आउँदा विज्ञापनलाई बढाउनेतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । विज्ञापन एजेन्सी, विज्ञापनकर्ता, विज्ञापनदाता, सर्जक र विज्ञापनको बारेमा देशमा विद्यमान ऐन, नियम र कानुनहरूको बारेमा सुसूचित हुन नसक्नु हास्यास्पद कुरा हो । उद्योग व्यवसायको विकासमा विज्ञापनको भूमिका अहम् हुन्छ । 

विज्ञापन, ब्रान्ड, उपभोक्ता, वस्तु, सेवा, प्रवद्र्धन, सञ्चारमाध्यम, सर्जक र विज्ञापन एजेन्सी आफैँमा एकअर्काका परिपूरक हुन्, तर हामीकहाँ यी विषयको अन्तरसम्बन्ध कम र अन्तरविरोध बढी छ । यो कुरा भन्दै गर्दा कता–कता अनर्थजस्तो देखिन्छ, तापनि यो कटु सत्य हो । जबसम्म हामी यो स्विकार्न तयार हुँदैनौँ, तबसम्म विज्ञापन र ब्रान्डको विकास हुन सक्दैन । अमेरिकामा आयोजना गरिने मार्कम अवार्डस् पनि एसोसिएसन अफ मार्केटिङ एन्ड कम्युनिकेसन प्रोफेसनल्स (एएमसिपी) ले सन् २००४ देखि आयोजना गरिरहेको छ । नेपालमा पनि विज्ञापन एसोसिएसनले आयोजना गर्ने यो अर्वाड्समा पनि छापा तथा टेलिभिजन मिडिया एसोसिएसनलगायत विभिन्न व्यावसायिक संघसंस्थाहरूको निरन्तर सहभागिता तथा उल्लेख्य योगदान रहँदै आएको छ ।

(घिमिरे नेपाल विज्ञापन संघका महासचिव हुन्)