आजबाट विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको छ । बुधबार बिहान ७:१७ बजेको शुभसाइतमा हनुमानढोकामा इन्द्रजात्राको लिंगो (यःशी) ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत् सुरु हुने परम्परा छ ।
इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेल उपस्थित भएका थिए । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो ।
इन्द्रजात्राका वेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो । यसलाई येँया पुन्ही पनि भनिन्छ ।
इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२औँ देखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठमन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उदगम स्थल हो ।
भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।