
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने बताएका छन्। प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चितवनबाहिर गएर चुनाव लड्नेबारे आफूले अहिल्यै नसोचेको बताए।
बाग्लुङबाट चुनाव लड्ने चर्चाबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘साथीहरूले आफ्नो ढंगबाट सिफारिस गरिराख्नुभएको छ, तर अन्त जाने कुनै सम्भावना छैन। म चितवन क्षेत्र नम्बर ३ बाट नै लड्ने हो।’ यसअघि जनताको भावना बुझ्न आफूले रोल्पा, काठमाडौं र सिराहाबाट चुनाव लडेको उनको भनाइ छ।
गठबन्धन गरेरै चुनाव लड्ने सहमति रहेको भन्दै प्रचण्डले कार्यदलमा क्षेत्र र प्रदेशको भागबन्डा एकैपटक मिलाउने गृहकार्य भइरहेको जानकारी दिए। ‘कार्यदलले आज बेलुकीसम्म एक खालको खाका तयार गर्छ। भोलि शीर्ष तहमा बसेर अन्तिम रूप दिन्छौँ। कार्यदलमा नमिलेका क्षेत्रमा शीर्ष तहमा मिलाउँछौँ,’ उनले भने।