एउटा सहरमा एक वृद्ध पिता छोराबुहारी र पाँचवर्षीय नातिसँग बस्थे । बुढ्यौलीका कारण उनका हात काँप्थे । खाना खाँदा उनी चम्चा राम्ररी समात्न सक्दैनथे । हातले भर नपाउँदा हातबाट खसेर कप, प्लेट या गिलास फुटिरहेकै हुन्थे । कहिले दूध पोखिएर कुर्सीभरि हुन्थ्यो । कहिले मुखमा पुर्याउन नसकेर चम्चाको भात भुइँभरि छरिन्थ्यो । केही समय त छोराबुहारीले केही भनेनन् । तर, बिस्तारै उनीहरू दिक्क मान्न थाले ।
एक दिन छोराबुहारीले सल्लाह गरेर पितालाई उनकै कोठामा सुकुलमा बसेर खाने व्यवस्था मिलाए । टुटफुटको डरले एउटा काठको अलि ठूलो कचौरा ल्याए । जसमा उनीहरूले एकसाथ, दाल, भात, तरकारी, अचार सबै मिसाएर दिन थाले । छोरा, बुहारी र नाति डाइनिङ टेबलमा बसेर खान्थे भने वृद्धचाहिँ कोठाको अँध्यारो कुनामा बसेर मुस्किलले खाइरहेका हुन्थे । खाने समयमा जहिल्यै उनका आँखा आँसुले भरिएका हुन्थे । तर, छोराबुहारीलाई कुनै मतलब थिएन । बालक नाति पनि चुपचाप यो सब हेरिरहेको हुन्थ्यो ।
केही दिनसम्म यही सिलसिला चलिरह्यो । एक दिन साँझको खाना खाने समयमा बालक आफ्नै कोठामा बसेर एउटा काठको टुक्रालाई काट्ने असफल प्रयास गर्दै थियो । यो देखेर आमाले सोधिन्– बाबु, खाना खान नआएर तिमी के गर्दै छौ ? बालकले सहजतासाथ उत्तर दियो । म एउटा काठको कचौरा बनाइरहेको छु मामु ! किन चाहियो नि तिमीलाई यो काठको कचौरा, आमाचाहिँले प्रश्न गरिन् । बालकले हाँस्दै जवाफ दियो– मलाई चाहिएको होइन । भोलिपर्सि हजुरहरू बुढाबुढी भएपछि केमा खान दिनु त ? अहिलेदेखि नै बनाएर राख्नुपरेन त ?
बालक छोराको भनाइले उनका बाबुआमा दुवैको मुटु काँप्यो । उनीहरूले तुरुन्तै वृद्ध पितासित माफी मागे र उनलाई आफूसँगै राखेर खाना खुवाउने र राम्रो हेरचाह पनि गर्न थाले ।