![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/cold-store-rasuwa2022-09-03-01-06-56.jpeg)
रसुवाको कालिका गाउँपालिका– २ का रमेश ढकालको मुख्य पेसा कृषि हो। पाँच वर्षदेखि तरकारी तथा अन्नबाली उत्पादनमै तल्लीन छन्। तर, गाउँमा चिस्यान केन्द्र नहुँदा निकै दुःख भोगे। यो वर्ष भने उनी प्रफुल्ल छन्। किनकि गाउँनजिकै बागमती प्रदेश सरकारले चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ। उनी भन्छन्, ‘उत्पादन गरेको तरकारी तथा फलफूल सस्तोमा बेच्नुपर्ने र कुहाएर फाल्नुपर्ने बाध्यता अब हटेको छ।’
मौसमी फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसममा बिक्री गर्न पाउने भएपछि अझै खुसी थपेको ढकाल बताउँछन्। रसुवामा पहिलोपटक चिस्यान केन्द्र बनेको हो। उनले भने, ‘यसअघि फलफूल तथा तरकारी धेरै खेर फालियो। बजारमा पुर्याउनै समस्या । चिस्यान केन्द्र बन्यो, अब खेर फाल्न पर्दैन कि।’
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ की मैना बिसुरालको दैनिकी खेतबारीमै बित्छ। तर, कृषि पेसा उनको लागि जुवाजस्तै बनेको छ। उनी भन्छिन्,– ‘कहिले रोग कहिले किराले उत्पादनै हुँदैन। कहिले उत्पादनले बजार पाउँदैन। मूल्य नपाएर सस्तोमा बेच्नुपर्ने, गाईवस्तुलाई खुवाउने र बारीमै ट्याक्टर लगाएको थुप्रै अनुभव छ गाउँमा। अहिले घरनजिकै श्री कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडको साझेदारीमा चिस्यान केन्द्र बन्दै छ। अन्तिम चरणमा पुगेको र छिट्टै सुरु गर्ने भनिएसँगै खुसी छौँ।’
‘शीत भण्डार कृषि क्षेत्रको रूपान्तरणको कडी’
बागमती प्रदेश सरकारअन्तर्गत कृषि तथा पशुपन्छि विकास मन्त्रालयले निर्माण गरेको १२वटा चिस्यान केन्द्रमध्ये रसुवाको कालिका गाउँपालिकामा रहेको चिस्यान केन्द्र परीक्षणको रूपमा सञ्चालनमा आएको छ। धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, चितवन, मकवानपुर, काभ्रे र सिन्धुली जिल्लाहरूका अन्य नौवटा चिस्यान केन्द्र सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको मन्त्रालयका प्रवक्ता झलक कँडेलले बताए।
शीत भण्डार कृषि क्षेत्रको रूपान्तरणको एउटा महत्वपूर्ण कडी भएको उनी बताउँछन्। ‘चिस्यान केन्द निर्माणको तेस्रो वर्षमा छौँ। धेरै ठाउँमा अन्तिम चरणमा पुगेको छ। चिस्यान केन्द्रमा आलु, लसुन, प्याजजस्ता तरकारी तथा फलफूल गुणस्तर कायम गरेर नबिग्रने गरी भण्डारण गर्न सकिन्छ,’ उनले भने।
कृषिलाई व्यवसायीकरण गरी किसानलाई आम्दानीमुखी बनाउने उद्देश्यले शीत भण्डारण निर्माण गरिएको प्रवक्ता कँडेलले बताए। 'स्थानीय किसानहरूलाई सहकारीमा आबद्ध गराई शीत भण्डारबाट लाभान्वित गराइनेछ। सबै गरी शीत भण्डारकाे क्षमता कुल १५ हजार आठ सय मेट्रिक टन हुनेछ। बागमती प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लागत साझोदारीमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ती शीत भण्डार निर्माणका लागी एक सय करोड रकम खर्चेको छ,’ उनले भने।
नुवाकोटमा ५/५ हजार मेट्रिक टन र सिन्धुपाल्चोकमा ५/५ सयको दुईवटा, धादिङ र चितवनमा एक हजार पाँच सय मेट्रिक टन, रामेछाप र दोलखामा ५/५ सय तथा रसुवामा ३ सय मेट्रिक टन क्षमताको शीत भण्डारण निर्माण गरिएको प्रवक्ता कँडेलले बताए। मकवानपुर र दोलखामा निर्माण गर्ने भनिएको शीत भण्डार भने हाललाई स्थगित भएको छ।