मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १५ बुधबार
  • Sunday, 19 January, 2025
श्रवण उप्रेती काठमाडाैं
२o७९ भदौ १५ बुधबार o९:३९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

इराकमा भड्किएको हिंसा रोकियो : दस महिनादेखिको राजनीतिक गतिरोध भने कायमै

Read Time : > 3 मिनेट
श्रवण उप्रेती, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १५ बुधबार o९:३९:oo

सरकार निर्माणको महिनौँको प्रयास असफल भइरहेको सन्दर्भमा इराकमा नयाँ राजनीतिक हिंसा भड्किँदा बृहत्तर द्वन्द्वको डर उत्पन्न भएको छ । इराकको संसद्नजिक इरान समर्थित सिया मिलिसिया र मुत्तदा अल–सद्रप्रति निष्ठावान् समूहबीच आइतबारदेखि भिडन्त सुरु भएको थियो । शक्तिशाली सिया धर्मगुरु मुत्तदा अल–सद्रले राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेपछि देशका ठूला सिया समूहबीच राजनीतिक प्रभावका लागि भिडन्त सुरु भएको थियो । आइतबारदेखि इराकको सबैभन्दा सुरक्षित क्षेत्र मानिने ग्रिन जोन नै राजनीतिक अराजकताको केन्द्रमा बदलिएको थियो । यो क्षेत्रमा देशका अधिकांश सरकारी निकाय र विदेशी दूतावास छन् ।

तर, अल–सद्रले मंगलबार बग्दादका आफ्ना समर्थकलाई देशमा जारी हिंसा तुरुन्त बन्द गर्न आह्वान गरेपछि भने अहिले स्थिति साम्य भएको छ । टेलिभिजन सम्बोधन गर्दै अल–सद्रले हिंसाका लागि इराकी जनतासँग माफी माग्दै भनेका छन्, ‘म हिंसाबाट प्रभावित इराकका जनतासँग माफी चाहन्छु । म अझै पनि सेडेरिस्ट पार्टीले अनुशासनको सम्मान गर्छ भन्ने विश्वास गर्छु । त्यसैले यदि ६० मिनेटभित्रै तपाईंहरू ग्रिन जोन मात्र होइन, संसद्बाहिर जारी धर्नाबाट पनि पछि हट्नुभएन भने म तपाईंहरू र पार्टी दुवै छोडिदिनेछु ।’

सद्रको आह्वानअघि इराकका अन्तरिम प्रधानमन्त्री तथा सद्रका मित्र मानिने मुस्तफा अल काधिमीले जनतालाई शान्ति कायम राख्न आह्वान गर्दै सद्रलाई हिंसा रोक्न हस्तक्षेप गर्न आग्रह गरेका थिए । काधिमीले हिंसा नियन्त्रणबाहिर जाने डरमा देशका सबै प्रमुख सहरमा कफ्र्यु लागू गरिएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा मिलिसियाहरू रकेट प्रोपेल ग्रेनेडजस्ता ठूला हतियार लिएर सडकमा निस्किएको देखिएको थियो । 

विगत १० महिनादेखि संसद्ले राष्ट्रपति र प्रधानमन्त्री चुन्न सकेको छैन । अहिले कामचलाउ प्रधानमन्त्री मुस्तफा अल काधिमीको सरकारले देश चलाइरहेको छ । 
 

तर, अल–सद्रको आह्वानले स्थिति साम्य भए पनि त्यसअघि बंग्दादको ग्रिन जोनमा मिलिसियाबीच भएको भिडन्तमा कम्तीमा २३ को मृत्यु भयो भने सयौँ व्यक्ति घाइते भए । ग्रिन जोनभित्र रहेको संसद्मा हप्तौँदेखि धर्ना दिइरहेका सद्रका समर्थकहरू क्याबिनेट बैठक बस्ने रिपब्लिकन प्यालेसभित्र प्रवेश गरेका थिए । रात पर्न थालेपछि सद्रप्रति बफादार बलहरू बग्दादभरि परिचालित भए । उनीहरूले सहरमा लागेका इरान समर्थित सिया नेताहरूको पोस्टर च्यातेका थिए । स्थिति डरलाग्दै बन्दै गएपछि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार इराकमा संयमताका लागि आह्वान गर्दै ‘स्थितिलाई मत्थर बनाउन सम्पूर्ण पक्षलाई तत्काल कदम चाल्न आह्वान’ गरेका थिए । 

राजधानी बग्दादमा फैलिएको हिंसात्मक प्रदर्शन सियाबहुल दक्षिणी भेगमा पनि फैलियो, सद्र समर्थकले त्यस क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका थिए । इराकका कार्यबाहक प्रधानमन्त्री मुस्तफा अल–काधिमीले स्थिति सम्हाल्नका लागि देशभरका सहरमा कफ्र्यु लागु गरेका छन् । जुलाईमा सद्र आफँैले देशको समग्र राजनीतिक प्रणालीको सुधारको माग गर्दै आफ्ना समर्थकलाई संसद् कब्जा गर्न आह्वान गरेका थिए । त्यसवेलादेखि नै स्थिति तनावग्रस्त बनेको थियो । सद्रको राजीनामापछि उनका समर्थक थप अराजक बने । इराकमा आइतबारदेखि भड्किएको हिंसालाई पछिल्ला केही वर्षयता भड्किएको सबैभन्दा ठूलो हिंसात्मक घटनाको रूपमा वर्णन गरिएको छ । मुत्तदा अल–सद्रले राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेपछि बग्दादमा उनका समर्थक र सुरक्षाकर्मीबीच लगातार दुई दिनसम्म भिडन्त भयो । बग्दादबाहेक देशका अन्य प्रमुख सहर बसरा, नजाफ, नासिरिया र हिलामा पनि हिंसा फैलियो । 

इराकको राजनीतिक गतिरोध 
गतवर्ष अक्टोबरमा भएको इराकको संसदीय निर्वाचनमा मुत्तदा अल–सद्रको गठबन्धनले सबैभन्दा बढी सिट जितेको थियो । सन् २०२१ अक्टोबरमा भएको चुनावमा, मुत्तदा अल–सद्रको पार्टी ७३ सिटका साथ अगाडि थियो । ३२९ सिटको इराकी संसद्मा सरकार बनाउन १६५ सिट आवश्यक पर्छ । तर, सद्र अन्य दलसँग सहकार्य गर्न तयार नहुँदा गतिरोध यति लामो बनेको हो । विगत १० महिनादेखि संसद्ले राष्ट्रपति र प्रधानमन्त्री चुन्न सकेको छैन । अहिले कामचलाउ प्रधानमन्त्री मुस्तफा अल काधिमीको सरकारले देश चलाइरहेको छ ।

आइतबारदेखि भड्किएको हिंसालाई पछिल्ला केही वर्षयताको सबैभन्दा ठूलो हिंसात्मक घटनाको रूपमा वर्णन गरिएको छ । मुत्तदा अल–सद्रले राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेपछि बग्दादमा उनका समर्थक र सुरक्षाकर्मीबीच लगातार दुई दिनसम्म भिडन्त भएको हो ।

गत निर्वाचनमा विजयी दलबीच राजनीतिक सहमति हुन नसकेसम्म कादिमी प्रधानमन्त्री रहन सक्नेछन् । १० महिना बितिसक्दा पनि नयाँ सरकार गठन हुन नसकेर राजनीतिक गतिरोध उत्पन्न भइरहेको स्थितिमा मुद्रास्फीति र बेरोजगारी बढेपछि अन्तरिम सरकारप्रति जनतामा ठूलो आक्रोश पैदा भएको छ । यसअघि सन् २०१० मा पनि इराकमा यस्तै स्थिति बनेको थियो । त्यसवेला २८९ दिनसम्मको राजनीतिक गतिरोधपछि नुरी अल मलिकी दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । 

को हुन् मुत्तदा अल–सद्र ?
४८ वर्षीय मुत्तदा अल–सद्र विगत दुई दशकदेखि इराकको सार्वजनिक र राजनीतिक परिदृश्यमा चर्चित व्यक्तित्व हुन् । उनको ‘मेहदी आर्मी’ इराकको पूर्वतानाशाह सद्दाम हुसेनको बहिर्गमनपछि देशको सबैभन्दा शक्तिशाली सशस्त्र संगठन बनेको थियो । सन् २००३ को मार्चमा सद्दाम हुसेनलाई सत्ताबाट हटाउन अमेरिकाले इराकमा आक्रमण गरेको थियो । सद्दाम सत्ताच्यूत भएपछि, सदरको मेहदी सेनाले अमेरिकी र त्यसपछि इराकी सेनासँग भयंकर लडाइँ गरेको थियो । 

पछि उनले आफ्नो संगठनको नाम ‘शान्ति ब्रिगेड’ राखे । यो अझै पनि देशको सबैभन्दा ठूलो सशस्त्र संगठन हो र अहिले यो इराकको सरकारी सशस्त्र बलको हिस्सा बनेको छ । मुत्तदा अल–सद्र बेरोजगारी, बिजुली कटौती र भ्रष्टाचारबाट समस्यामा परेका इराकका आमजनतालाई आकर्षित गर्न सफल छन् । उनी इराकका ती व्यक्तिमा पर्छन्, जसको एक बोलीले हजारौँ समर्थक सडकमा उत्रिन्छन् भने फिर्ता पनि हुन्छन् । 

देशमा विगत १० महिनादेखि जारी राजनीतिक गतिरोधबीच जुलाई र अगस्टमा संसद्मा हमला गरेपछि त्यसयता उनका सयौँ समर्थक संसद्बाहिर धर्नामा बसिरहेकै छन् । उनका समर्थक संसद्को सुरक्षा घेरा तोडेर संसद्मा प्रवेश पनि गरेका थिए । प्रदर्शनकारीले मोहम्मद अल सुदानीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएकोमा विरोध गर्दै आएका थिए । उनी इराननजिक रहेको तिनको विश्वास छ । कुनै समय इरान समर्थक सद्र अहिले आफूलाई इराकी राष्ट्रवादीको रूपमा प्रस्तुत गर्छन् । उनी इराकको घरेलु मामिलामा अमेरिका र इरानलगायत सम्पूर्ण विदेशीको हस्तक्षेप अन्त्य हुनुपर्ने माग राख्ने गर्छन् । 

(एजेन्सीहरूको सहयोगमा)

छुटाउनुभयो की ?