व्यवसायीसँग घुस मागेको आरोपमा रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारविरुद्ध अख्तियार दुरुपयोग आयोगमा उजुरी परेको छ। गत आर्थिक वर्ष ०७८/७९ मा सडक निमार्णका क्रममा व्यवसायीसँग रकम मागी भ्रष्टाचार गरेको भन्दै स्थानीयले सुनुवारविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
सुनुवारले पालिकाको वडा नम्बर १ गुम्देलदेखि वडा नम्बर ७ भुजीसम्मको सडक निर्माणको जिम्मा पाएको मोतिदान कन्स्ट्रक्सनका सञ्चालकसँग घुसबापत १० लाख रकम मागेको आरोप छ। उनले सो रकम ०७८ चैत १६ गते बुधबार आफ्ना सवारीचालक उमाकुन्ड गाउँपालिका– ६ का नेत्रबहादुर सुनुवारको खातामा जम्मा गर्न लगाएको दाबी गरिएको छ।
उक्त सडक निर्माणका लागि गाउँपालिकाको चार करोड र बागमती प्रदेश सरकारको चार करोड गरी कुल आठ करोडमा टेन्डर प्रक्रियाबाट ठेक्का लगाइएको थियो। चार करोड १८ लाख ८० हजार रुपैयाँमा काम सक्ने गरी मोतिदान कन्स्ट्रक्सनले उक्त सडक निमार्णको जिम्मा लिएको थियो।
गाउँपालिका अध्यक्ष सुनुवारले पालिकाभित्र भएका कुनै पनि योजनाको टेन्डर नै ननिकाली आफन्तहरूलाई दिएको, प्रत्येक योजनाबाट उपभोक्ता समितिमार्फत रकम लिएको, खानेपानी योजनाको नाममा लाखौँ भ्रष्टाचार गरेको उजुरीमा दाबी गरिएको छ। यी आरोपहरूको विषयमा अध्यक्ष सुनुवारले भने आफूलाई कुनै जानकारी नभएको बताए। उनले अख्तियारमा आफूविरुद्ध उजुरी परेकोसमेत थाहा नभएको भन्दै अख्तियारले पत्र पठाए त्यसको जवाफ दिने बताए।