मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Tuesday, 17 December, 2024
२o७९ भदौ ९ बिहीबार o७:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टेकुमा अझै २५ हजार मेट्रिकटन फोहोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार o७:३७:oo

काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा अझै करिब २५ हजार मेट्रिकटन फोहोर थुपारेको छ । बन्चरेडाँडाको ल्यान्डफिलमा फोहोर लैजान अवरोध भएपछि साउन पहिलो सातादेखि महानगरले यहाँ फोहोर थुपारेको थियो । यसबाहेक महानगरका मुख्य र करिडोर सडकमा पनि चार हजार मेट्रिकटन फोहोर उठ्न बाँकी रहेको महानगरले जनाएको छ । 

पछिल्लो एक सातादेखि निजी ट्रक तथा टिपर व्यवसायीको सहायतामा फोहोर उठाउन थाले पनि ट्रान्सफर स्टेसनको फोहोर भने अझै उठिसकेको छैन । टेकुसहित उपत्यकाका सडकमा थुप्रिएको फोहोर फाल्न महानगरलाई अझै एक साता लाग्नेछ ।

महानगरका वातावरण विभाग प्रमुख सरिता राईले अहिले सर्वसाधारणबाट दैनिक फोहोर उठाउन थाले पनि ‘होल्ड’ भएको फोहोर उठ्न नसकेको बताइन् । उनका अनुसार उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन अर्थात् दुई सय ५० कन्टेनर फोहोर उत्पादन हुन्छ । दैनिक रूपमा त्यति नै मात्रामा फोहोर बन्चरेडाँडा ल्यान्डफिलमा ढुवानी भइरहेकाले ‘होल्ड’ भएका फोहोर उठ्न नसकेको राईका भनाइ छ । ‘मुख्य–मुख्य सडकको फोहोर उठिसकेको छ, तर करिडोर र मुख्य सडकमा थुप्रिएका केही फोहोर उठ्न सकेको छैन,’ उनले भनिन्, ‘टेकुमा करिब २५ हजार मेट्रिकटन र सडकमा चार हजार मेट्रिकटन फोहोर उठाउन बाँकी छ ।’ थुप्रिएको फोहोर उठेपछि महानगर एक्लैले नियमित फोहोर उठाउन सक्ने उनले बताइन् । सडकमा फोहोर थुप्रिएपछि महानगरका मेयर बालेन्द्र साहले एक साताअघि निजी क्षेत्रलाई फोहोर ढुवानीमा सघाउन आग्रह गरेका थिए ।  निजी र महानगरका गरी झन्डै ६० वटा गाडीले पछिल्लो एक सातादेखि उपत्यकाको फोहोर ढुवानी गरिरहेका छन् । बुधबार १९३ टिपर फोहोर ढुवानी भएको छ । 

स्थानीयको अल्टिमेटम सकियो, माग जस्ताको तस्तै 
एक सातायता सिसडोल तथा बन्चरेडाँडा क्षेत्रका स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका छैनन् । उनीहरूले आफ्ना माग पूरा गर्न एक साता समय दिएर अवरोध हटाएका थिए । उक्त समयावधि पनि बुधबार सकिएको छ । तर, महानगरले कुनै पनि माग सम्बोधन नगरेको स्थानीयको भनाइ छ । ‘हाम्रा माग पूरा भएका छैनन्, हामीले एक साताको समय दिएका थियौँ,’ स्थानीय नवराज ढुंगानाले भने । उनका अनुसार २६ जेठमा महानगरसँग १८ बुँदे सहमति भएको थियो । तीमध्ये केही माग तत्काल पूरा गर्न स्थानीयले माग गरेका थिए । सडकमा लिच्चड चुहिन नदिने, सडकवत्ती जडान गर्ने, स्थानीयको जग्गा र बालीको क्षर्तिपूर्ति दिने, फोहोर क्यापिङ गर्नेलगायत माग स्थानीयले तत्काल पूरा गर्न महानगरलाई घचघच्याउँदै आएका छन् । तर, ती माग महानगरले सम्बोधन गर्न सकेको छैन । 

प्रवक्ता नवीन मानन्धर भन्छन्–फोहोर उठिसक्यो 
महानगरका प्रवक्ता नवीन मानन्धर भने उपत्यकामा होल्ड भएका सबै फोहोर उठिसकेको बताउँछन् । फोहोर उठिसकेकाले निजी ट्रक तथा टिपर अब नचाहिने उनले बताए । उनले भने, ‘अब नियमित फोहोर व्यवस्थापनमा असहज अवस्था नआउला ।’

उनले त्यस्तो बताए पनि पुतलीसडक, मैतीदेवी, रातोपुल, गौशाला, टेकुस्थित विष्णुमती करिडोर, धोबीखोला करिडोर, तीनकुनेस्थित बागमती पुलमुनि, बालकुमारी पुल मुनि, थापागाउँ ओरालो, मध्यबानेश्वर, सुकेधाराचोकलगायत स्थानमा फोहोर थुप्रिएका छन् ।