चालू आर्थिक वर्ष ०७९/८० को पहिलो महिना साउनमा नेपालको अन्तर्राष्ट्रिय व्यापारका सबै सूचक ऋणात्मक देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको साउनमा कुल व्यापारदेखि आयात, निर्यात र व्यापार घाटा घटेको हो । भन्सार विभागका अनुसार साउनमा नेपालले कुल एक खर्ब ४६ अर्ब नौ करोडको व्यापार गरेको छ । जुन गत आव ०७८/७९ को साउन महिनाको तुलनामा १४.८१ प्रतिशतले कमी हो । गत वर्ष साउनमा नेपालले एक खर्ब ७१ अर्ब ४९ करोडको व्यापार गरेको थियो ।
यस अवधिमा नेपालको आयात र निर्यात दुवै खस्किएको छ । नेपालले साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोडको आयात गरेको छ । जुन गएको वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशतले कमी हो । गत वर्ष साउनमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको थियो । त्यस्तै, निर्यात २८.६८ प्रतिशतले घटेर १४ अर्ब ८० करोडमा सीमित भएको छ । गएको वर्षको साउनमा नेपालले २० अर्ब ७६ करोडको निर्यात गर्न सकेको थियो ।
आयात दोहोरो अंकले घटेपछि त्यसको प्रभाव व्यापार घाटामा देखिएको छ । कुल व्यापार र आयातसँगै व्यापार घाटा पनि घटेको छ । साउन महिनामा नेपाललाई अन्तर्राष्ट्रिय व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड घाटा भएको छ । जुन गत वर्षको साउनको तुलनामा १०.३८ प्रतिशत न्यून हो । यस अवधिमा नेपालले कुल एक सय एक देशसँग व्यापार गरेको छ । यसमध्ये ८४ वटा देशससँगको व्यापारमा नेपालले नोक्सान व्यहोरेको विभागको तथ्यांक छ । ३० देशबाट नेपालले आयात मात्रै गरेको छ, जहाँ निर्यात शून्य छ । जबकि नेपालले निर्यात गरेर आयात शून्य भएका देश भने चारवटा मात्रै देखिएको छ । यसबीचमा नेपालले तीन सय ५७ थरीका वस्तु निर्यात गर्न सकेको छ भने तीन हजार सात सय ९५ थरीका वस्तु आयात गरेको छ ।