१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ ७ मंगलबार १३:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्दको बहानामा आफ्नै टिपरमा आगजनी 

Read Time : < 1 मिनेट
२०७९ भदौ ७ मंगलबार १३:१८:००

विप्लवसहित चार राजनीतिक दलको बन्दको मौका पारेर दाङमा एक टिपरका मालिकले आफ्नै गाडी जलाएको खुलेको छ । चालक र सहचालकको सहयोगमा मंगलबार बिहान पौने ५ बजेतिर घोराही–लमही सडकखण्डको घोराही– ३ स्थित कुइरेपानीस्थित बबई पुलनजिक आगजनी गरेको खुलेको हो ।

चार राजनीतिक दलले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्दको आह्वान गरेका थिए । तर, घरमा थन्काएको उक्त टिपरलाई त्यहाँ लगेर पौने पाँच बजेतिर आगजनी गरिएको थियो । घटना शंकास्पद भएपछि प्रहरीले चालक ३२ वर्षीय अरुण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरीलाई पक्राउ गरेको थियो ।

 उनीहरूलाई सोधपुछपछि थप शंकास्पद भएको भन्दै टिपरका मालिक घोराही १४ नवलपुरका ४१ वर्षीय धनेश्वर भण्डारीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । ‘बिमाका लागि साहुजीकै सहमतिमा चालक र सहचालकले टिपरमा आगो लगाएको देखिन्छ,’ उनले भने, ‘यसमा हामीले अनुसन्धान गरिरहेका छौँ।’ 

रा.१ख १६९४ नम्बरको उक्त टिपर पुरानो छ । करिब आठ–नाै लटको उक्त टिपरको अगाडिको भाग जलेको छ । विप्लवनिकट नेकपा दाङका सेक्रेटरी प्रदीप वलीले पनि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्रै बन्दको घोषणा गरेकाले घोषणा गरेको समयभन्दा बाहिर भएका घटनाको आफूले जिम्मा नलिने बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यो घटनामा बन्दकर्ताको नाम जोडेकोप्रति आपत्ति जनाएका छन् । सरकारले तीनबुँदे राजनीतिक सहमतिविपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाले बन्दको घोषणा गरिएको थियो ।