सबैको जीवनमा कुनै समय सबै कुरा आफूविरुद्ध आएजस्तो लाग्छ । हरेक क्षेत्रबाट निराशा हात लाग्छ । वास्तवमा विफलता सफलताभन्दा धेरै महत्वपूर्ण हुन्छ । इतिहासका अधिकांश महापुरुष, वैज्ञानिक, उद्यमी सफलता चुम्नुअघि धेरैपटक असफल भएका छन् । जब हामी कुनै काम गरिरहेका हुन्छौँ, तब सफल नै हुन्छौँ भन्ने जरुरी हुँदैन । तर, असफलताको भयले प्रयास गर्न पनि छोडियो भनेचाहिँ कहिल्यै सफल हुन सकिन्न ।
विश्वप्रसिद्ध फोर्ड कम्पनीका मालिक हेनरी फोर्ड सफल हुनुअगाडि पाँच अन्य व्यवसायमा असफल भएका थिए । अरू नै कोही हुन्थ्यो भने पाँच–पाँचपटक व्यापारमा असफल हुनु र ऋणको भार टाउकामा बोक्नुपर्ने कारण हतास भइसक्थे ।
तर, फोर्ड हतास भएनन्, त्यसैले उनी अर्बपति बन्न सफल भए । थोमस अल्बा एडिसनले पनि बिजुलीको बल्ब सफलतापूर्वक बनाउनुअघि उनले एक हजार विफल प्रयोग गरेका थिए । अल्बर्ट आइन्सटाइन चार वर्षको उमेरसम्म केही बोल्न सक्दैनथे । सात वर्षको उमेरसम्म उनी निरक्षर थिए । मानिसहरू उनलाई दिमागी रूपमा कमजोर ठान्थे । तर, कालान्तरमा आफ्ना सिद्धान्त एवं खोजका कारण संसारका सबैभन्दा ठूला वैज्ञानिक बने ।
हेनरी फोर्ड पाँचवटा व्यवसायमा असफल भएर निरास भइदिएको भए वा एडिसनले नौ सय ९९ असफल प्रयोगपछि आशा त्याग गरेका भए वा आइन्स्टाइनले आफूलाई सुस्त मनस्थितिको ठानेका भए के हुन्थ्यो होला ? हामी थुप्रै प्रतिभा एवं आविष्कारबाट वञ्चित हुने थियौँ । सायद, अहिलेको वैज्ञानिक युग सम्भव हुने थिएन । जीवनमा असफलताको पनि सफलताको जत्तिकै महत्व हुन्छ ।