कार्यसम्पादन प्रभावकारी नभएको र निगमको साख गिरेको विषयमा स्पष्टीकरण दिन सात दिनको समय
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सञ्चालक समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई १२ बुँदे स्पष्टीकरण सोधेको छ । निगमले गति लिन पनि नसकेको र साख पनि दिनानुदिन गिर्दै गइरहेको बोर्डले ठहर गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले निगमका कार्यकारी अध्यक्षसँग विभिन्न विषयमा सात दिनभित्र सञ्चालक समितिमा पेस गर्ने गरी स्पष्टीकरण माग गर्ने निर्णय भएको बोर्डका एक सदस्यले बताए ।
निगमको न्यारोबडी एयरबस ३२० विमान (९एन–एकेडब्लु)को इन्जिनमा खराबी देखिएर ३१ जुलाई २०२२ देखि ग्राउन्डेड भएको र उक्त विमानमा भाडामा लिइएको इन्जिनको रकम जहाज नउडे पनि दैनिक भुक्तानी गर्नुपर्ने बाध्यता रहिरहेको अवस्थामा बिग्रेको इन्जिन मर्मतको प्रक्रिया हालसम्म किन सुरु भएन ? भन्दै बोर्डले कार्यकारी अध्यक्ष अधिकारीसँग स्पष्टीकरण माग गरेको छ । ग्राउन्डेड जहाजको अर्को इन्जिन पाँच महिनाअघि भाडामा लिइएको हो, जसको दैनिक दुई हजार अमेरिकी डलर भाडा अनिवार्य बुझाउनैपर्ने हुन्छ ।
यस्तै, निगमको सोही जहाजको इन्जिन २८ डिसेम्बर २०२१ देखि बिग्रिएर मर्मत–सम्भारका लागि पठाइएकोमा झन्डै आठ महिना पुग्न लाग्दा पनि मर्मत नगर्नुको कारणबारे पनि बोर्डले सोधेको छ । कतारको दोहामा अवतरण गर्ने क्रममा जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज कतारमै ७० दिन ग्राउन्डेड भएको थियो । निगम व्यवस्थापनले बिग्रिएको इन्जिन इजरायली आइएआई कम्पनीलाई मर्मतका लागि दिएको थियो । त्यस्तै, दैनिक साढे सात लाख रुपैयाँसम्म भाडा तिर्ने गरी एमटियू नामक कम्पनीसँग इन्जिन भाडामा लिएको थियो ।
२१ दिनलाई भनेर भाडामा लिइएको जहाजको इन्जिन पाँच महिना नाघिसक्दासमेत फिर्ता गरिएको छैन । बोर्डले भाडामा लिइएको इन्जिन हालसम्म फिर्ता नपठाउनुको कारण पनि कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ । निगमको आन्तरिकतर्फ प्रयोगमा रहेका विमानहरूमध्ये ९एन–एबिएक्स विमान हालसम्म मर्मत गरी प्रयोगमा नआउनुको कारण पनि सोध्ने निर्णय भएको ती बोर्ड सदस्यले बताए ।
निगमको अन्तर्राष्ट्रिय उडानका लागि अनलाइन टिकेटिङ प्रणाली हालसम्म सञ्चालन नहुनु, निगमका चिनियाँ विमानहरू एमए६० र वाई १२ ई हालसम्म व्यवस्थापन नगर्नु, लिजमा लिइएको इन्जिन भाडामा लिँदा र विमानको सी चेक गर्दा लोकल एजेन्ड प्रयोग गर्नुको कारण, सर्वसाधारणलाई टिकट बिक्री भइसकेपछि समेत निगमको विमान चार्टर्ड गर्नुको कारण सञ्चालक समितिले सोध्ने भएको छ ।
निगमको करार तथा मासिक ज्यालादारीमा कर्मचारी नियुक्त गर्दा प्रक्रिया पूरा नगरी नियुक्त गर्नाको कारण, निगमको प्रवद्र्धन र विकासका लागि रणनीतिक योजना तयार गरी कार्यान्वयन नगर्नाको कारण, सस्तो स्रोत व्यवस्थापन (सफ्ट लोन) खोजी गरी निगमको महँगो दरको ऋण भुक्तानी गरी निगमलाई मितव्ययी नबनाउनुको कारणबारे पनि सञ्चालक समितिले कार्यकारी अध्यक्षलाई सात दिनभित्र पेस गर्ने गरी स्पष्टीकरण माग्ने भएको छ ।